- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चिप्लेढुङ्गा। नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले बन्दाबन्दीका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ। बन्दाबन्दीले मजदुरी गर्ने परिवारमा हातमुख जोर्ने समस्या देखिन थालेपछि समितिले वैशाख १५ गतेदेखि निःशुल्क भोजन वितरण शुरु गरेको आश्रमकी गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाइजीले जानकारी दिए। उनले पोखरा–२६ मा रहेको सत्लोक आश्रम र श्रीहंश सनातन मन्दिर पोखरा–११ रानीपौवाबाट दैनिकरूपमा भोजन वितरण गरिँदै आएको बताए।
भोजन वितरण कार्यक्रम संयोजक ओम उपाध्यायले वैशाख १५ देखि जेठ २ गतेसम्म चार हजार जनालाई भोजन वितरण गरेको जानकारी दिए। उनका अनुसार उक्त कार्यका लागि दैनिक २० जनाले स्वयंसेवकका रूपमा सहयोग गर्दै आएका थिए। मानवीय सेवाका लागि संस्थाका सदस्य एवं सहयोगी मन भएका सङ्घसंस्था तथा व्यक्तिहरुले खाद्यान्न सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए। विषम परिस्थितिमा केही संस्थाहले त्यहाँ पकाएको खाना समस्यामा परेका व्यक्तिलाई उनीहरुकै घर एवं बासस्थान लगेर समेत सेवा गर्दै आएको उपाध्यायले बताए।