arrow

बजेट स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षामा केन्द्रित गर्न ट्रेड युनियन कांग्रेसको माग

logo
प्रकाशित २०७७ जेठ ३ शनिबार
ntuclogo.jpg

काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षामा केन्द्रित गर्न अर्थ मन्त्रीको ध्यानाकर्षण गराएको छ । ट्रेड युनियनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष पुष्कर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, " यसपालीको बजेट विगतमा जस्तो नभई कोभिड १९का कारण अस्तव्यस्त बनेको श्रम बजार र स्वास्थ्य क्षेत्रलाई विशेष ध्यानमा राखी ल्याउनुपर्छ । कोभिड-१९ को महामारीको विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, संचारकर्मी अत्यावश्यक सेवामा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षामा कुनै कमि आउन दिनु हुँदैन । पीपीई लगायत सुरक्षित मापदण्ड अवलम्बन गर्न विशेष ध्यान दिदै बिमा एवं  प्रोत्साहन प्याकेज र चरण आर्थिक मारमा रहेका अनौपचारिक तथा स्वरोजगार क्षेत्रलाई राहत एवं सामाजिक सुरक्षा लागु हुनु पर्छ ।"

विज्ञप्तिमा, ट्रेड युनियनको समेत प्रतिनिधित्व हुने गरि अधिकार सम्पन्न त्रिपक्षिय रोजगार प्रवर्द्धन बोर्डको स्थापना गरि श्रम बजारलाई चलायमान गर्न निश्चित अवधिकालागी उद्योग प्रतिष्ठानहरुको पुर्नतालिकिकरण तथा व्याज, कर सहुलियत , नीतिगत लचकता अपनाउनु पर्ने, साना मझौला उद्योग, कृषिजन्य उद्योगको विकास र प्रवर्द्धन, व्यवसायिक तालिम कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत दक्ष जनशक्ति उत्पादन गरि नयाँ रोजगारी सृजना गर्नु पर्ने उल्लेख छ।

यसैगरी फजुल खर्च कटौती गर्न विभिन्न आयोग, समितिहरु खारेज गर्नु पर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम एवं सांसद विकास कोषको रकमलाई ट्रेड युनियनको समेत प्रतिनिधित्व गराई उत्पादन वृद्धी र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्नुपर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन र प्रोत्साहनकालागी राहत कार्यक्रम ल्याउनु पर्ने, कृषिको व्यवसायिकरण गर्दै कृषिमा जाने नगद अनुदान कृषकले नपाउने तर पहुँचवालाले कुम्ल्याउने कार्यलाई रोक्न  कृषकलाई जग्गा लिजमा उपलब्ध गराउदै प्रविधी, मल, बिउँ, बिमा, बजारीकरण, निर्व्याजी कर्जा, प्रोसेसिङ्ग र प्याकेजिङ्ग जस्ता कार्यकालागी अनुदान दिनुपर्ने, स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदै प्रदेश र पालिकास्तरमा अस्पतालको स्तरोन्नति गर्नुपर्ने, कोभिड १९ महामारीबाट बेरोजगार भएकालाई न्युनतम पारिश्रमिक सरह बेरोजगार भत्ता दिनुपर्ने, अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा सामाजिक सुरक्षा लागु गराउनु पर्ने, स्थानीय तहमा श्रमिकको पञ्जिकरण गरि रासन कार्डको व्यवस्था गर्ने र कार्डको आधारमा राहत दिनुपर्ने, यस महामारी र संकटको अवस्थामा श्रमिकको रोजगारी कटौती एवं विभेद र शोषण हुन नदिन आधारभुत श्रम मापदण्ड सुनिश्चित गर्न अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउनुकासाथै सामाजिक संवादलाई चुस्त गर्नु पर्ने माग ट्रेड युनियनले गरेको छ।

युनियनले कोभिड-१९ का कारण रोजगारी गुमी स्वदेश फर्किएका श्रमिकको बैंकबाट लिएको कर्जा र व्याज मिनाहा गर्नुपर्ने, स्वदेश फर्किएका युवाको सिपको सदुपयोग गर्दै रोजगारीसंग जोड्नु पर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वास्थ्य सुरक्षाको विशेष ख्याल गर्नु पर्ने  र संकटमा रहेका नेपालीहरुलाई तत्काल उद्घार गर्न समेत ट्रेड युनियनका अध्यक्ष आचार्यले विज्ञप्ती निकाली माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ