arrow

दासढुंगा घटना र नेपाली राजनीति 

logo
बद्री भट्टराई,
प्रकाशित २०७७ जेठ ४ आइतबार
badri-bhattarai1.jpg

नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुंगामा रहस्मय जिप दुर्घटनामा परी निधन भएको २०७७ जेठ ३ गते २७ वर्ष पूरा भएको छ । नेपाली राजनीतिमा चतुर खेलाडीका रूपमा परिचित वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दासढुंगा घटनाको छानविनका लागि पार्टीले त्यसबेला गठन गरेको समितिका संयोजक थिए । हालकी राष्ट्रपति विद्यादेवी भण्डारी उनै मदन भण्डारीकी श्रीमती हुन् । जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको विचार बनाउने भण्डारीसँगै दुर्घटनामा परी ज्यान गुमाएका नेता आश्रितको परिवार कहाँ र कुन अवस्थामा छ, यो सामान्य नागरिकलाई भन्दा पनि नेकपा कार्यकर्तालाई नै अझ बढी थाहा हुनुपर्ने हो । 

स्वर्गीय नेता भण्डारीले प्रतिपादन गरेका जबजका केही विषय उठान गर्नु सान्दर्भिक हुनसक्छ । तथापि तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एक भएपछि जबज कोर्समाथि एक प्रकारको प्रतिबन्ध नै लागेको छ । जनवादका विशेषतामाथि प्रहार भइरहेको पछिल्लो परिपेक्ष्यमा एक सिद्धान्तनिष्ठ कम्युनिष्ट कार्यकर्ताले कसरी सहन गरिरहेका होला, यो प्रश्न फरक नै विचारमाथि आस्था राख्ने भएपनि राजनीतिक कार्यकर्ताका हैसियतले मनमा अनेकौं प्रश्न उब्जनु स्वभाविक नै हो । 

तथापि मदन भण्डारीले अघि सारेका जनताको बहुदलीय जनवादका विशेषता चर्चा गर्न गइरहेको छु । उनले शक्ति पृथकीकरणलाई जबजको प्रमुख विशेषताका रूपमा अथ्र्याएका थिए । त्यसको ठीक विपरीत, वर्तमान नेतृत्वले सम्भव भएसम्म संवैधानिक अंगलाई आफ्नै अंशको रूपमा परिचालन गरिरहेका छन् । सम्पति शुद्धिकरण होस् वा राष्ट्रिय अनुसन्धान विभाग या राजश्व विभाग वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै किन नहोस् वर्तमान प्रधानमन्त्री संविधानले नै प्रत्याभूत गरेका ती संस्थालाई आफ्नो स्वेच्छाचारी ढंगले सञ्चालन गर्न चाहिरहेका छन् वा भनौं प्रयोग गर्नमा पोख्त छन् । 

जनताको बहुदलीय जनवादको अर्को महत्वपूर्ण विशेषाताका रूपमा संवैधानिक सर्वोच्चतालाई उठाइएको थियो । तर वर्तमान नेकपा नेतृत्वको सरकार संविधानलाई एउटा कागजी पत्रमात्र मान्ने स्थानमा पुगेको छ । प्रश्न उब्जिन्छ, किन ? उनका अगाडी केबल दलीय दलिलमात्र संविधान हो भन्ने भाव व्यक्त भइरहन्छ किन ? 

बहुलवादी खुल्ला समाजको कल्पना गरेका भण्डारीका अनुयायीको नेतृत्वमा रहेको वर्तमान सरकार अहिले विधिवत तरिकाले नै लोकतन्त्रको धज्जी उडाउन मस्त छ किन ? बहुदलको सिद्धान्तसमेत आत्मसाथ गर्न चाहिरेका् छैन किन ? 

भण्डारीले जबजमा मानवअधिकारको रक्षालाई महत्वका साथ प्रस्तुत गरेका थिए । आज यो सरकार मानिसको मौलिक हकलाई समेत चुनौती दिँदै न बोल्न पाउने न मुख खोल्न पाउने अवस्थामा लगिरहेको छ किन ? 

जबजले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई आत्मासाथ गरेको थियो । त्यसको ठीक विपरीत आजको नेकपा नेतृत्व बहुदलीय प्रतिस्पर्धाको मान्यतालाई बिर्सेर चरम महामारीकै बीच पार्टी फुटाउने अध्यादेश ल्याइरहेको छ । विश्व महामारीकै चपेटाका बीच जनमत प्राप्त दललाई फुटाउन वा टुक्र्याउन किन वर्तमान नेतृत्व चाहिरहेको छ ? गरिमामय संसद्का सांसद सिद्धान्त भुलेर रातारात आदेशपालकका रूपमा कार्य किन गरिरहेका छन् ? 

बहुमत प्राप्त दलको नेतृत्वको सरकार र बलियो प्रतिपक्षका व्याख्यता भण्डारीको तस्बिर अंकित टिसर्टलाई चुनावी प्रोपोगान्डा बनाउनेहरु प्रतिपक्षको सम्मान हैन, उपेक्षामा गर्व गर्छन् । संवैधानिक मान्यताका विपरीत प्रतिपक्षबिनाको राज्य सञ्चालनमा उद्धत भइरहेका छन्, किन ? 

स्वर्गीय भण्डारी पार्टीभित्रको विधि र विधान अनि स्वतन्त्रा र अनुशासनको मूल रूप विचार हो भन्ने भनाई राख्थे । त्यसको ठीक उल्टो, वर्तमान नेकपा नेतृत्व विचारभन्दा पनि आन्तरिक शक्ति संघर्षमा रमाइरहेका छन्, किन ?

अनेकन सिद्धान्त कुल्चदै हिँडेको केपी शर्मा ओली नेतृत्वको गन्तव्य कहाँ हो ? यो प्रश्नको जबाफसायद अनुत्तरित छ । ओलीका अनुयायी ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा लगाउनमै व्यस्त छ भने उग्र कम्युनिष्ट अनुयायी ओलीका यी कदमलाई सत्ता कब्जाको परिभाषा दिन्छ । ओलीका अन्धभक्तले भन्ने सत्ता कब्जा नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त रहेको जबजले नयाँ शासकको जन्मका रूपमा अथ्र्याएको छ। 

मदन भण्डारीले एक समय एकीकृत माक्र्सवादी–लेनिनवादी (माले) को नेतृत्वमा रहँदा भनेको कुरा स्मरण गराउनु जायज हुन सक्छ, उनले त्यसबेला भनेका थिए, ‘पञ्चे, तस्कर र अपराधीलाई कारबाही गर्ने कि पार्टीमा  हुलेर सहिदको अपमान गर्ने ?’ आज वर्तमान सरकारको नेतृत्वमा रहेका मन्त्री अर्बौं घोटालामा मुछिरहेका छन् । करौडौं लेनदेनको यथेष्ट प्रमाण यत्रतत्र छरिएका छन् । तर नेतृत्व त्यसलाई ढाकछोप गर्छ र भन्छ मलाई केही थाहै छैन । यस्ता गतिविधिले भण्डारीका ती विचारलाई के कति आत्मसात गरेको छ, प्रष्टै छ । 

छिमेकीले कूटनीतिक मर्यादा विपरीत बलमिच्याइँ गरेर मातृभूमिको अंग छिन्न खोज्छ तर देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री झ्याल बन्द गरेर बस्छन् र भन्छन, ‘म बेखबर छु  । मलाई कसैले केही भनेन ।’ विश्व महामारी नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासमा रहेका जनता सुरक्षित रहन गरिरहेको भागदौडलाई उनी पत्रकारले मात्र कसरी देखे भनेर आश्चर्य प्रकट गर्छन् र रिस गर्छन् । उनी पत्रकारले जनताको दुःख देखाउँदा खुसी हुँदैनन् बरु मध्यरातमा कविता लेख्छन्, रोम सहर जलिरहेका बेला निरोले कविता फुके जसरी । रोदन र चिच्याहटका श्वर उनलाई कर्कश लाग्छ । बरु, आफैं विज्ञ भएर भाइरसबारे प्रशिक्षण दिन्छन् । सीमानाकामा देश फर्कने दिनको प्रतीक्षामा रहेकालाई उनी लम्पसार परेको देख्छन् । बालुवाटारको चौघेराबाट स्वतन्त्र प्रेसमाथि रिस, दम्भ र आवेगका ज्वारभाट पोख्छन्, मानौं उनको कवितामय सपनामा पत्रकारले भाँजो हालेको होस् ।  के जबजको मूल मर्म यही हो? प्रश्न जायज हुनसक्छ । नेकपा अध्यक्ष कमरेड खड्ग प्रसाद ओलीज्यू, के राज्य सञ्चालकको रूपमा अनुशासित र मार्यादित हुने पर्ने कम्युनिष्ट शासन यही हो ? बालुवाटारको चौघेरा मात्रै देश हो ? यी र यस्ता अनेकन प्रश्नको जबाफ दिन असमर्थ छ वर्तमान नेतृत्व । उसँग त केवल आवेग, पूर्वाग्रह, दम्भ अनि गलेको र थाकेको अभिव्यक्तिमात्र छ। 

विगतको इतिहासलाई वर्तमान प्रधानमन्त्रीज्यूले विसेका हुन् भने याद दिलाउनु जरुरी छ ।  २०५० जेठ ३ को दुर्घटना आज २०७७ सम्म आइपुग्दा सधैं चर्चाको केन्द्रमा रह्यो । जसलाई नेपाली काँग्रेसले दासढुंगा सवारी दुर्घटनाको रूपमा व्याख्या गर्यो । तत्कालीन नेकपा (एमाले) ले उक्त घटनालाई राजनीतिक षड्यन्त्र भन्दै हत्याको रूपमा चित्रित गरेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको बहुमतीय सरकारलाई हनिमुन पिरियड पनि मनाउन नदिने उद्घोष सहित २९ दिनमा सरकार ढाल्ने भन्दै काठमाडौंका रेलिङ भाँच्ने र सरकारी कर्मचारीलाई सरकारविरुद्ध मैदानमा उर्ताने परिपाटीको सुरुआत् तत्कालीन प्रतिपक्ष अर्थात् एमालेबाट भएकै हो । ६९ सिट प्राप्त एमालेले १ सय १३ सिट प्राप्त नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकार गिराउने खेल खेल्नु आफैंमा गलत भएको स्वयम् तत्कालीन एमालेका नेताले स्वीकार गरेको नजीर पनि अझै ताजा नै छ । २०४८ को मध्यबाट सुरु भएको सरकार र प्रतिपक्षको लडाइँ २०५० जेठ ३ गते भएको दासढुंगा घटनालाई हत्याको रूपमा चित्रण गरेर राजनीतिक प्रभावमा लैजाने दृष्प्रयास नै नेपाली राजनीतिमा कमजोर सुरुआत् थियो । प्रतिपक्ष दलका शीर्ष नेताको दुर्घटनालाई हत्याको श्रृंखलामा जोडेर राजनीति दाउपेचका लागि खेलिएको खेल यहाँ सम्म पुग्नेछ भनेर न नेपाली काँग्रेसले आँकलन गर्न सक्यो न त एमालेले नै त्यस्तो आंकलन गर्न सकेको देखियो । तत्कालीन सरकारले  प्रचण्डराज अनिल आयोगले ड्राइभरको लापरबाहीबाट घटना घटेको रिर्पोट सार्वजनिक गरे पनि तत्कालीन एमालेले त्यसलाई स्वीकार्न मानेन । उसले सर्वोच्चको बहालवाल न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठनको माग गर्दै सरकारविरुद्ध आन्दोलनको उद्घोष गरेको थियो । 

त्यसपछि तत्कालीन नेकपा (एमाले) का ५ जना प्रधानमन्त्री बनिसक्दा पनि किन दासढुंगा घटनाबारे सत्यतथ्य बाहिर आएको छैन । आजको दिन नेकपा नेतृत्वलाई निम्न प्रश्न उठाउनु जायज देखिन्छ ।

एक दुर्घटना ३ प्रहार 

१. तत्कालीन सरकारले गठन गरेको अनिल आयोगको सवारी दुर्घटना रिर्पोट मान्न किन तत्कालीन एमाले तयार भएन ?

२. तत्कालीन सरकारलाई किन वहालवाला न्यायाधीशको संयोजकत्वमा छानविन आयोग बनाउन बाध्य बनाइयो ? 

३. एमाले आफैंले तत्कालीन स्थायी समिति सदस्य एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा आयोग निर्माण गरेर उक्त घटना सुनियोजित, प्रायोजित र षड्यन्त्रमुलक थियो भन्ने  बनाउन एमाले सफल रह्यो । त्यसैको कारण एमालेले तत्कालीन सरकारविरुद्ध सुरु गरेको काठमाडौं जाऔं नारा धेरैपछिसम्म पनि चर्चामा रहेको थियो । 

तत्कालीन सरकार दुर्घटना भएको भन्ने एमाले हत्या भएको भन्ने । त्यस्तो अवस्थामा सरकार र एमाले पार्टीबीच १७ चरणमा ५३ घण्टा वार्ता भएको प्रमाण अझै स्पष्ट छन् । शोकलाई शक्तिमा बदल्ने भन्दै भरपुर रूपमा कार्यकर्ता परिचालन गरेर आन्दोलन गरेको एमालेले भिसेरा परीक्षण र सर्वोच्चका तत्कालीन बहालवाला न्यायाधीशको संयोजकत्वमा छानविन आयोग बनाउने सहमति सहित ३ महिनासम्म सञ्चालन गरेको आन्दोलनमा सहमती जनाएको थियो । त्यससँगै सम्झौताका विषयमा महँगी नियन्त्रण, टनकपुर बाँध, शिक्षा नियमावली, आन्दोलनका क्रममा पक्राउ परेका निजामती कर्मचारीको रिहालगायतका विषयमा समेत सहमती भयो र आन्दोलन रोकियो । २०४८ देखि २०५१ को काँग्रेसको सुविधाजनक बहुमत राजनीतिक कपट हुँदै मदन भण्डारीको दुर्घटनाबाट निर्वाचनको मुखसम्म पुगेको थियो । आफ्ना नेताको दुर्घटनालाई घटना बनाएर आन्दोलन छेड्दै निर्वाचनको समयमा तत्कालीन नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा ६९ स्थानमा काँग्रेसका विरुद्धमात्र शब्द खर्चिएको चर्चा पनि कम रोचक छैन । 

प्रथम पटक सरकारको हनिमुन पिरियडलाई रोक्ने, २९ दिनसम्म सडकका रेलिङ भाँच्ने, सरकारविरुद्ध निजामती कर्मचारी प्रयोग गर्ने अनि सोही समयमा भएको दुर्घटनालाई प्रायोजित भन्दै हत्याको रूप दिएर सरकारलाई नैतिक रूपमा कमजोर बनाई २०५१ को निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउनसक्ने क्षमता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएकै हुन् । 

२७ वर्ष भित्र भएका कम्युनिष्ट आन्दोलन, शक्ति अनि सत्तामा केपी शर्मा ओलीको प्रभाव र दबाव जसरी रह्यो त्यसका हरेक आत्मामा मदन भण्डारी र आश्रितका आवाज चिच्चाइएका थिए । आज पनि भण्डारी र आश्रितका आत्मा कम्युनिष्ट आन्दोलनमा यदाकदा भेटिरहेका छन् ।  सहि अर्थमा श्रदाञ्जली अपर्ण गरेर उनीहरुको आत्मालाई शान्ति मिल्ने एउटै मार्ग प्रयोग गरौं । अब दासढुंगा प्रकरणलाई यहि छोडौं । सिद्धान्त, आर्दश र निष्ठाबाट च्यूत भएको वर्तमान नेतृत्वले अब स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको नाममा उठेको चक्रवती ब्याजलाई सही रूपमा प्रयोग गरे राम्रै होला । अन्यथा, असली कम्युनिष्टको आत्मा र सिद्धान्तवादी कार्यकर्ताका आँशुले नपोल्ला भन्न सकिन्न । विषम अवस्थामा नेतृत्व क्षमताको प्रयोग गरे जनताले जनताको लागि जनताबाट नै गरिने शासनको प्रत्याभूत हुनसक्छ । यहि अर्थमा मात्र जननेता प्रति सच्चा सम्मान हुनेछ । हार्दिक श्रद्धासुमन ! मदन भण्डारी तथा जीवराज आश्रित । 



नयाँ