arrow

कर्मचारीको पीसीआर टेष्ट नेगेटिभ, सीमा ढुक्क

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ जेठ ४ आइतबार
pcr-test-corona-nepal.jpg

स्याङ्जा । कर्मचारीहरुको कोरोना भाइरसको पिसिआर टेष्ट नेगेटिभ आएको छ । स्याङ्जाको सिमा नाकामा काम गर्ने कर्मचारीले कोरोना सुरक्षितको महसुस नगरेपछि उनीहरुको पिसिआर टेष्टका लागि स्वाव लिइएको थियो । 

८ जना कर्मचारी र २ जना सर्वसाधारणको पिसिआर टेष्टबाट कोरोना नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । 

दुई प्रदेशको सिमा नाका राम्दीमा कार्यरत कर्मचारीको कोरोना नेगेटिभ आएपछि अहिले कर्मचारीमा केही हदसम्म भएपनि ढुक्क हुने अवस्था आएको छ । 

शुक्रवार स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्मा सहितको प्राविधिक टोलिले सिमामा कार्यरत कर्मचारीको स्वाव पिसिआर टेष्टका लागि लिएको थियो । 

सिमा नाकामा खटिएका कर्मचारी कोरोना भाइरसबाट जोखिम मोल्दै भन्ने समाचार बाहिर आएपछि जिल्ला सुरक्षा समिति सहित जिल्ला रेडक्रस र स्वास्थ्यकर्मी सहितको टोलि राम्दी पुगेको थियो । 

सरकारले कोरोना भाइरस फैलिन नदिन गरेको लकडाउनको ५५ दिन पुगेको छ । 

५५ दिनसम्म सिमा नाकामा बसेर काम गरेका कर्मचारीको पिसिआर टेष्टबाट कोरोना नेगेटिभ देखिएपछि उनीहरुमा आत्मबल बढेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख शर्माले बताए । 

कोरोना संक्रमणबाट बच्न सबै भन्दा उत्तम उपाय भनेको घरमै बस्ने हो प्रमुख शर्माले भने,“सिमित साधन श्रोतले काम गर्नुपर्ने बाध्यतामा स्वास्थ्यकर्मीहरु रहेका छन् त्यसैले सरकारले गरेको लकडाउनलाई सघाउनु आवश्यक छ ।” विश्वभर फैलिएको कोरोना माहामारीबाट बच्न सुरक्षित स्थान भनेकै अहिलेको अवस्थामा घर हो उनले भने ।

जिल्लामा अहिले सम्म स्याङ्जामा ९०९ जनाको आरडिटीबाट र ११३ जनाको पिसिआरबाट कोरोना टेष्ट गरिएको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । अहिले सम्म परिक्षण गरिएका सबै रिपोर्टहरु नेगेटिभ आएको स्वास्थ्य प्रमुख शर्माले बताए । 

सबै पालिकामा कोरोना संक्रमणको स्याम्पल लिन सक्ने जनशक्तिको अभाव रहेको छ शर्माले भने,“अब सबै पालिकामा पिसिआर लिनका लागि तालिम दिएर स्वास्थ्य प्राविधिक खटाउदै छौं ।” 

सबै पालिकामा पिसिआर लिने स्वास्थ्य प्राविधिक खटाएपछि केही सहज हुने छ उनले भने । छिमेकी ५ नम्वर प्रदेशमा कोरोना संक्रमणको संख्या बढ्न थालेपछि स्याङ्जामा उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । बाहिर बाट आउने सबै नाकाहरु सिल गरिएको प्रजिअले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ