arrow

यमनको पछिल्लो हिंसामा १४ जना सरकारी सैनिकको मृत्यु

logo
एएफपी,
प्रकाशित २०७७ जेठ ४ आइतबार
yeman.jpg

दुबई। गृहयुद्धको चपेटामा रहेको यमनमा शनिबार १४ जना विद्रोही लडाकूको ज्यान गएको छ। सरकार समर्थित फौज र पृथकतावादी समूहबीच छ दिनदेखि दक्षिणी प्रान्त अब्यानमा जारी युद्धका क्रममा पछिल्लो घटना भएको हो।

यमनको दक्षिणी क्षेत्रलाई अलग्याउने उद्देश्यसाथ लडिरहेको साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटिसी) समर्थित पृथकतावादी फौजले सरकार समर्थित फौजको डटेर सामना गरिरहेको जनाएको छ। सरकारी फौजले दक्षिणको मुख्य शहर एडेनबाट करिब ६० किलोमिटर दक्षिणस्थित जिन्जिबारको बाहिरी इलाकालाई लक्षित गरी आक्रमण गरिरहेको छ।

एक जना सरकारी सैन्य अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई आफ्ना तर्फका १४ जना लडाकू मारिएको बताए। सरकारी सैनिक मारिएको बारेमा पृथकतावादी सैनिक स्रोतले पनि पुष्टि गरेको छ। उनीहरुले सरकार समर्थित ४० जना सैनिकलाई कब्जामा लिनुका साथै ठूलो परिमाणमा हातहतियार बरामद गरेको बताएका छन्।

पृथकतावादी एक जना कमान्डरले सरकारी फौज जिन्जिबार नगरको भित्री भागमा पस्न नसकेको जानकारी दिए। गत अप्रिल २६ मा यमनको दक्षिणी क्षेत्रलाई पृथकतावादी समूहले स्वशासन घोषणा गरेपछिको यो पहिलो भिडन्त हो।

दक्षिणी क्षेत्रमा शुरु भएको भिडन्तले राजधानी साना सहित उत्तरी क्षेत्रमा कब्जा जमाएको इरान समर्थिक हुथी विद्रोही र साउदी अरेबिया समर्थित सरकारबीच जारी भिडन्तलाई थप जटिल बनाएको छ। सरकार र दक्षिणमा सक्रिय एसटिसी प्राविधिक रुपमा हुथी विरुद्धको लामो युद्धमा सँगै छन्। तर पृथकतावादी समूह एसटिसी र साउदी समर्थित सरकारबीच पुनः फाटो आएको छ।

सरकार र एसटिसीबीच गत नोभेम्बरमा रियादमा भएको युद्धविराम र सत्ता सहभागिता सम्बन्धी सम्झौतालाई सरकारले उल्लंघन गरेको भन्दै एसटिसी उक्त सम्झौताबाट अलग्गिएको छ। विगत छ वर्षदेखि जारी गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबारविहीन भएका छन्। संयुक्त राष्ट्रसंघले यमनको गृहयुद्ध सर्वाधिक दर्दनाक मानवीय संकटपूर्ण घटना भन्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ