arrow

कोरोनाले जीवन गुमाएका दोस्रो व्यक्ति पनि युवा नै, ६ दिन अघी आएका थिए मुम्बईबाट

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ ४ आइतबार
Death-body-nepali-simbol.jpg.jpeg

राझाँ। बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टी भएको छ। 

गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए ।

मुम्बईबाट आएर वडा नम्बर ५ भगवानपुरस्थित दिपेन्द्र प्राविमा बनाइएको क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ नयाँ बस्तीका ती युवकको आइतवार विहान ६ बजेतिर मृत्यु भएको थियो । राति एक्कासी ज्वरो आएको र झाडापखाला तथा उल्टी गरेका उनको विहान मृत्यु भएको  खानले बताए ।

युवकको मृत्यु कोरोना सक्रमणकै कारण भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले ती युवकको मृत्यु कोरोनाबाटै भएको जानकारी दिए। भेरी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा रिपोर्ट पोजिटीभ देखिएपछि उनको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको देवकोटाले बताए। 

खानका अनुसार आइतवार विहान उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नु अगावै युवकको मृत्यु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिएको थियो। आइतबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटीभ देखिएको थियो। 

बिहिवार निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी महिला पनि २९ बर्षिया युवा नै रहेकी थिइन। यूवाहरुलाई संक्रमणको सम्भावना कम हुन्छ भन्ने कुरामा विश्वास गर्नेहरुलाई यी दुई घटनाले थप सचेत बन्नलाई प्रेरित गर्ने विश्वास एक स्वास्थ्यकर्मीले बताए। 

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो। पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ