अफगान राष्ट्रपति घानी र प्रतिस्पर्धी अब्दुल्लाबीच शक्ति बाँडफाँड
एएफपी,
प्रकाशित २०७७ जेठ ४ आइतबार
818
Shares
काबुल। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उनका प्रतिस्पर्धी नेता अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँडका लागि आइतबार एक सम्झौता भएको छ। सम्झौतापछि दुई नेताबीच लामो समयदेखि देखिएको तनावका कारण सिर्जना भएको राजनीतिक सङ्कटलाई अन्त्य गरेको छ। सम्झौता अनुसार राष्ट्रपति घानीले राष्ट्रप्रमुखका रूपमा अफगानी राजनीतिको नेतृत्व गर्नेछन् भने अब्दुल्लाले तालिवान समूहसँग शान्तिवार्ताको नेतृत्व गर्नेछन्। सरकारमा ५० प्रतिशत मन्त्रीसहित प्रान्तीय गभर्नर अब्दुल्लाको जिम्मेवारीमा परेको छ।
“डाक्टर अब्दुल्लाले राष्ट्रिय मेलमिलाप उच्च आयोगको नेतृत्व गर्नेछन् भने उनको समूहलाई मन्त्रीपरिषद्मा समावेश गरिनेछ,” घानीका प्रवक्ता सेदिक सेद्धिकीले आफ्नो ट्वीटरमार्फत सम्झौताबारे जानकारी गराएका छन्। आइतबार सम्झौतामा हस्ताक्षर भएको बिषयलाई फ्राइदून खावजूनले पुष्टि गरेका छन्।
दुई प्रभावशाली नेताबीचको सहमतिपछि अफगानिस्तानमा तालिवानी समूहसँग शान्तिवार्ता अघि बढ्ने र कोरोनाभाइरसको सङ्क्रमण विस्तारलाई नियन्त्रणका लागि ध्यान केन्द्रित गर्ने विश्वास गरिएको छ।