arrow

अपहरणको आरोपी सांसद श्रेष्ठले भने- ' प्रमाणित भए म झुण्डिन तयार छु'

logo
रासस,
प्रकाशित २०७७ जेठ ५ सोमबार
Kishan.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका छन्। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आफूमाथि पूर्वाग्रहका आधारमा आरोप लगाइएको बताए । उनले भने, “ममाथि लागेको अपहरणको आरोप प्रमाणित भए म झुण्डिन तयार छु, तर आरोप लगाउने डाक्टरले के गर्लान् ?” सांसद श्रेष्ठलगायतमाथि सांसद अपहरणको आरोप लागेको छ । 

फरक प्रसङ्गमा सांसद श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रियताको सम्वद्र्धनका सन्दर्भमा ठोस कार्यक्रम आएको भन्दै समर्थन गरे । उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमले समेटेको भन्दै खुशी व्यक्त गरे । 

नेकपाकै सांसद गोमा देवकोटाले विगतदेखि नै नेपालीले आफ्नो भूमिको रक्षाका लागि पानीसमेत नखाई लडेको स्मरण गर्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको नेपाली भूमि फिर्ता ल्याउने विषय समय सान्दर्भिक भएको बताए । उनले मुलुकका विभिन्न स्थानमा रहेको फलाम तथा ग्यास खानीको उत्खनन गर्न आग्रह गरे । 

नेकपाका सांसद शेरबहादुर तामाङले नीति तथा कार्यक्रममा स्वास्थ्य पछाडि प्रमुख प्राथमिकता दिने विषय कृषि नै भएकाले त्यसलाई नै प्रमुखरुपमा ध्यान दिन आग्रह गरे । कृषिलाई रोजगारीसँग जोड्नुपर्ने बताउँदै उनले विदेशबाट ठूलो धनराशि खर्च गरेर कृषि उपज खरिद गरिएकाले आत्मनिर्भरताको यात्रामा लाग्नुपर्ने बताए ।

गत आवमा रु दुई खर्ब १८ अर्बबराबरको कृषि उपज विदेशबाट आयात भएको तथ्याङ्क पेश गर्दै उनले कृषिलाई आर्थिक उपार्जन गर्नेतर्फ केन्द्रित गर्नुपर्ने बताए । सांसद तामाङले आर्थिक उपार्जनका लागि ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर विदेशमा बिक्री गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ