arrow

नरैनापुरमै एकैदिन थपिए ५९ जना कोरोना संक्रमित 

सबै संक्रमितलाई गाउँपालिकाकै लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र भवनमा राखिँदै

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ जेठ ५ सोमबार
narainapur-quarantine.jpg

नेपालगञ्ज। बाँकेको नरैनापुरमा आज संक्रमण पुष्टि भएका ५९ जनालाई गाउँपालिकाकै वडा नम्बर २ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिने भएको छ । 

दिउँसो पुष्टी भएका ४७ र राती पुष्टी भएका १२ जना सबैलाई सोहि स्वास्थ्य केन्द्रमा राखिने भएको हो ।  

भेरी अस्पतालको मातहत रहने गरी आइसोलेसन अस्पताल बनाएर सबैलाई त्यहीँ राख्ने गरी व्यवस्थापन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए। 

तर, गाउँपालिकाका अध्यक्ष इस्तियाह अहमद शाहले स्रोत साधन र सुविधा नभएको ठाउँमा संक्रमितलाई राख्न नहुने बताएका छन्। 

आइसियु वा भेन्टिलेटर चाहिने अवस्था आएमा उपचारमा गाह्रो हुने भन्दै अध्यक्ष शाहले नरैनापुरमा राख्दा जोखिम बढ्ने भएकाले नेपालगञ्जमै राख्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन्।  

यसअघि शुक्रवार पुष्टी भएका संक्रमित ८ जनाको भने दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । एकै दिन ५९ जनामा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको छ । त्यस पालिकामा मात्रै संक्रमित हुनेको संख्या ६४ पुगेको छ । जसमध्ये एक जनाको हिजो मृत्यु भएको थियो ।

अब बाँकेमा ९३ जना संक्रमित भएका छन् । नरैनापुरका संक्रमित सबै एक डेढ साता यता भारतको मुम्बईबाट आएर पालिकाले बनाएको क्वारेन्टाइनमा बसेका स्थानीय रहेको गाउँपालिकाका अध्यक्ष शाहले बताए । 

अरु स्थानबाट आउन कडा गरिएपनि नरैनापुरको सीमा क्षेत्रबाट भने रातीराती गरेर अध्यक्ष शाहले प्रवेश गराएका थिए। उनकै कमजोरीका कारण नरैनापुर हटस्पट भएको स्थानियहरुको गुनासो छ। 

नरैनापुर गाउँपालिकाका विभिन्न १३ क्वारेन्टाइनमा ८ सय १४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ