arrow

वैज्ञानिक वनका नाममा सामुदायिक वन क्षेत्रमा व्यापक फँडानी

महामारीमा आपतकालीन योजना अन्तर्गत नपर्ने चिजमै किन गढे आँखा

logo
गोविन्द बीसी, 
प्रकाशित २०७७ जेठ ७ बुधबार
deforestation-ban-fadani.jpg

बौनिया । देशैभर अहिले लकडाउन जारी छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन चलिरहेका बेला सामुदायिक वन क्षेत्रमा भने व्यापक रुख कटानी भइरहेकोे हो । कैलालीको मोहन्याल गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक वनमा सोमबारदेखि रुख कटानी भएको पाइएको छ ।

जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालय अन्तगत पर्ने मोहन्याल गाउँपालिकाको वडा नम्बर ७ राजकाँडा स्थित जालपा र बर्गदा सामुदायिक वन उपभोक्ता समूह क्षेत्रमा धमाधम रुख कटानी भइरहेका छन् । 

कुल ४४२ हेक्टर क्षेत्रफलमा रहेकोे बर्गदा सामुदायिक बनमा १९ हेक्टर क्षेत्रफलमा वैज्ञानिक बन व्यवस्थापनको कार्ययोजना तथा कार्यक्रम लागू गरिएको छ । उक्त सामुदायिक बनमा ८६ रुखहरु काटिएका छन् । 

त्यस्तै वडा नम्बर ३ को फलेबिसौनामा रहेकोे देउराली र जनकल्याण सामुदायिक वनक्षेत्रमा सयौंको संख्यामा हरिया रुखहरु कटानी भएका छन् । 

कुल ३४१ हेक्टर क्षेत्रफलमा रहेकोे जनकल्याण सामुदायिक वनलाई ८० प्लटमा बिभाजन गरेर वैज्ञानिक बनको अवधारणा अनुसार काम भएको समूहका अध्यक्ष जनकराज गिरीले बताए । 

उनले वैज्ञानिक बनको कार्ययोजना बमोजिम नै करीब १ सय बढी रुख काटिएको बताए । वैज्ञानिक वनको कार्ययोजना लागू गरी सम्बन्धित डिभिजन वन कार्यालयको कटानी आदेश लिएर मात्रै रुख कटानी गरिएको उनले बताए । ‘मैले एक्लै वन बिनाश गर्ने ढंगले काम गरेको होइन’ उनले भने, ‘सबै आम उपभोक्ता समितिको निर्णय र वैज्ञानिक बनको कार्ययोजना अनुसार नै काम गरिएको हो ।’ 

लकडाउनको समयमा वैज्ञानिक वनका नाउँमा यी सामुदायिक बनमा हरिया सालका रुखहरु मजदुरहरु लगाएर कटानी गरिएको छ । सयौंको संख्यामा सामुदायिक वनबाट साल,अस्ना, साज र हल्दु लगायतका रुखहरु धमाधम कटानी भएका छन् ।

वन तथा वातावरणीय प्रभावलाई ध्यान नै नदिई धमाधम रुख कटानी भएपछि यसको विरोध हुन थालेको छ । वडा नम्बर(७ का वडाअध्यक्ष खरप्रसाद अधिकारीले वन सखाप हुने गरि रातारात बन फँडानी गरिएको भन्दै आक्रोश व्यक्त गरे । 

राज्यको नीति एक किसिमको होला तर, स्थानीय सरकारसंग कुनै समन्वय नगरि बन फडाँनी गरिएकाले संलग्नलाई कारवाही गरिनुपर्ने वडाअध्यक्ष अधिकारीले बताए । 

‘राजनीति भन्ने कुरा एउटा होला, हामीले राज्यको नीति मान्नैपर्छ भन्ने पनि छैन । वनको अधिकार स्थानीय सरकारसंग छैन । केन्द्रीय सरकारसंग छ’ उनले भने, ‘संविधान सभामा भित्र हलमा बसेर गरिएको निर्णय र चुरेको फेदीमा बसेर गरिएको निर्णय फरक पर्छ नि ।’ 

बैशाख २६ गते डिभिजन वन कार्यालयले सामुदायिक बन समूहलाई कटानी आदेश दिएको भन्ने बुझिएको उनले बताए । ‘चैत्र ११ गतेदेखि देशैभर लकडाउन चलिरहेको छ कुनैपनि गतिविधि गर्न नदिने भन्ने छ तर, कोरोना महामारी र संकटको यो अवस्थामा कसरी वन कटानीको आदेश दिइयो ?’ उनले भने, ‘यो कुनैपनि आपतकालीन योजना अन्तर्गत पर्दैन, विकास निर्माणकार्य अन्तर्गत पनि पर्दैन । वैज्ञानिक वनका नाउँमा बाटो नै ब्लक हुनेगरि हरिया सालका रुखहरु काटिएको छ ।’

चुरे क्षेत्रमा पर्ने सो चारवटै सामुदायिक वनहरु वातावरणीय रुपमा निकै संवेदनशील क्षेत्रमा पर्छन् । यसरी धमाधम रूपमा गाउँपालिकासंग समन्वय नै नगरी रुख कटानी गरिएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलले बताए । 

नेपाल सरकारको चुरे राष्ट्रपति कार्यक्रम र त्यसको नीति विपरित हरिया सालका रुखहरुमा कटानी भैरहेको अध्यक्ष रावलको भनाइ छ  ।

कैलाली जिल्लामा चुरे र मोहन्याल गाउँपालिका चुरे क्षेत्रमा पर्ने भएकाले चुरे क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्य निकै हानिकारक र चुनौतीपूर्ण भएको अवस्थामा मोहन्याल गाउँपालिकाको जेठ ४ गते बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा वैज्ञानिक वन बनाउने कार्यलाई प्रतिबन्ध लगाउने निर्णय गरेको समेत गाउँपालिकाका अध्यक्ष रावलले बताए ।

चुरेको संरक्षण विना तराईको अस्तित्व समेत संकटमा पर्ने भएकाले चुरे क्षेत्रमा हुने चुरे दोहन बढ्दै जान थालेपछि गाउँपालिकाले चुरेमा वैज्ञानिक वन कार्यक्रमलाई रोक्ने उद्देश्यका साथ सो निर्णय गरिएको अध्यक्ष रावलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ