arrow

चामल कुहिएको र किरा परेको भेटिएपछि ठाकुर ट्रेड लिङ्कलाई कारवाही

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
rotten-rice.jpg

धनगढी । धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल आपूर्ति गर्नेलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय गरेको छ । 

खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिङ्कलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । 

उपमहानगरपालिकाले रु २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल चामल, ८०० क्वीन्टल दाल लगायतका खाद्यान्न सामग्री खरिदका लागि ठाकुर ट्रेड लिङ्कसँग ठेक्का सम्झौता गरेको थियो । ठाकुर ट्रेड लिङ्कले पछिल्लोपटक उपलब्ध गराएको चामल कुहिएको र किरा परेको भेटिएपछि सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले बताए । 

उहाँले कुहिएको तथा किरा परेको राहत चामलबारे छानबिन गर्न उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा नगर कार्यपालिकाको बैठकले आपूर्तिकर्ता ठाकुर ट्रेड लिङ्कमाथि कानूनी कारवाही गर्ने निर्णय गरेको बताए । दोस्रो चरणमा वितरण गरेको राहत चामलबारे जनस्तरबाट व्यापक गुनासो आएपछि उपमहानगरपालिकाले वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्व पा“च सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो । उपमहानगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकमा समितिले आपूर्तिकर्ता ठाकुर ट्रेड लिङ्कबाट गलत कार्य भएको ठहरसहित आफ्नो प्रतिवेदन पेश गरेको थियो । समितिको प्रतिवेदनका आधारमा बैठकले ठाकुर ट्रेड लिङ्कलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को (ग) बमोजिम कालोसूचीमा राख्नुपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानूनबमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रवक्ता मुडभरीले जानकारी दिए ।  

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत ठाकुर ट्रेड लिङ्कलाई रु २ लाख जरिवाना गरिसकेको छ । स्थानीयवासीले कुहिएको चामल दिइएको भन्दै फिर्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको बजार अनुगमन टोलीले धनगढी उपमहानगरपालिका—४ शिवपुरीस्थित गोदाममा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा गोदाममा समेत कुहिएको र किरा परेको चामल भेटिएपछि आपूर्तिकर्तालाई कारवाही गर्न सिफारिस गरिएको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरले उपमहानगरपालिकाले आपूर्तिकर्तासँग गरेको सम्झौतालगायतका कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ । उपमहानगरपालिकाले वडा नं १, २, ४, ५ र १२ मा राहत चामल वितरण गर्दा कुहिएको र किरा परेको भेटिएको थियो । ठाकुर ट्रेड लिङ्कले उपमहानगरपालिकालाई हालसम्म तीन लाख ३० हजार ७४० किलोग्राम चामल उपलब्ध गराइसकेको छ । त्यसमध्ये २० हजार १० किलोग्राम चामल कुहिएको र किरा परेको भेटिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ