arrow

नेविसंघ कास्कीको आकस्मिक रक्तदान, १०२ युनिट रगत संकलन

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
NSU-Pokhara-blood-donation.jpg

पोखरा। मुलुकको हरेक संकट, विपद्मा र जनताको हरेक सुख दुःखमा साथ दिने संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भएको भन्दै पोखरामा चर्चा भएको छ ।

नेविसंघ कास्कीले पोखरा विश्वविद्यालय इकाइको समन्वयमा बिहीबार लेखनाथको तालचोकमा आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा यस्तो चर्चा भएको हो ।

कार्यक्रममा बोल्ने वडाध्यक्ष, कांग्रेसका नेता, नेविसंघका नेताहरू र प्राध्यापक समेतले प्राकृतिक विपत्ति, राजनीतिक घटनाक्रम, राष्ट्रियताको विषय, सरकारको गलत कदम विरुद्ध, जनताको हरेक दुःखमा अग्र मोर्चामा रहँदै आएको चर्चा गरेका छन् ।

अहिले पनि कोरोना संक्रमण फैलिएपछि लकडाउनका कारण समस्यामा परेकाहरूलाई राहत वितरण कार्यमा पनि सक्रिय रह्यो । यस्तो विषम परिस्थितिमा पनि आकस्मिक रक्तदान कार्यक्रम गरेको भन्दै नेविसंघले निकै राम्रो प्रशंसा बटुल्यो ।

पोखरा महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरूले रक्तदान कार्यक्रम गरेर निकै प्रशंसा गर्न योग्य काम गरेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको वडाध्यक्ष गुरुङ राज्यले केही गर्न नसकेको अवस्थामा युवाहरू अग्रसर हुनु निकै राम्रो भएको भन्दै नेविसंघको प्रशंसा गरे ।

कोरोना भाइरस रोकथामका लागि सरकारको तयारी निकै कहालीलाग्दो भएको वडाध्यक्ष गुरुङले बताए ।

नेपाली कांग्रेसका नेता राजेन्द्रमणि लामिछानेले संकटको घडिमा पनि नेविसंघले यति महत्वपूर्ण कार्य गरेको भन्दै यसको सिको सबैले गर्नुपर्नेमा जोड दिए ।

यस्तो संकटमा पनि राज्यको दायित्व हेर्ने हो भने सबै नेपालीले एकदमै नमिठो अनुभूति गर्नुपरेको नेता लामिछानेले बताए ।

नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस प्रदेश १ (ख) का क्षेत्रीय सचिव सरोज केसीले संघर्षशील गाथा बोकेको नेविसंघले रक्तदान कार्यक्रम आयोजना गरेर निकै रचनात्मक काम गरेको बताए ।

यस्तो विषयम परिस्थितिमा नेविसंघले सरकारलाई पनि सहयोग गर्दै आफ्नो गतिविधिलाई सक्रिय बनाएको भन्दै उनले प्रशंसा गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले नेविसंघले देश र जनताका लागि सधैं अग्रभागमा रहेर काम गरेको भन्दै प्रशंसा गरे ।

नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ पोखरा विश्वविद्यालय इकाइका सभापति सञ्जीव थापाले रक्तदान कार्यक्रम गरेर नेविसंघले अन्य संघसंस्था र संगठनलाई निकै राम्रो सन्देश दिएको बताए ।

नेपाली कांग्रेका जिल्ला सदस्य रामबाबु भण्डारीले प्रजातन्त्रको बाहक नेविसंघले रगतको अभावमा कोही पनि मर्न नपारोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरेको भन्दै खुशी प्रकट गरे ।

नेविसंघ पोखरा विश्वविद्यालयका नेता एवं कार्यक्रम संयोजक गोपीकृष्ण तिवारीले हरेक मोर्चामा नेविसंघ भएको भन्दै रक्तदान कार्यक्रम पनि त्यसमध्ये एउटा भएको बताए ।

नेविसंघ पोखरा विश्वविद्यालयका नेता एवं कार्यक्रम संयोजक गोपीकृष्ण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा  कार्यक्रम सहसंयोजक राजीव भण्डारी र विद्यार्थी नेता सर्वेन्द्र न्यौपानेले पनि बोलेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १०२ युनिट रगत संकलन भएको थियो ।

वडाध्यक्ष पूर्णकुमार गुरुंगले नेपाल तरुण दलका नेता सुरजजंग राणालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ