arrow

लकडाउनका ६० दिन: कठोर परिस्थितिले सत्तालाई छुँदै छोएन, जनतालाई छोड्दै छोडेन  

प्रधानमन्त्रीको साठी दिने सन्देश –लसुनप्याज र अदुवा बेसार खानू कोरोना भगाउनू

logo
केदार सुवेदी, 
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
lockdown-60-days.jpg

एकबाट अर्का एकजना  संक्रमित थपिएको कारण घोषणा भएको लकडाउन ६० औ दिन पुग्दा ४६० को सख्याबाट उकालो लाग्यो । एक जिल्लामा भएको संकमण ४० जिल्लामा विस्तार  भयो । सरकारले कोरोना रोगबाट सबैको जीवन जोगाउन सफल भएको घोषणा गरको हप्ता नपुग्दै तीन जनाको ज्यान गयो । यसले सरकारको दूरदृष्टी दुई दिन पनि नटिकेको र त्यस अनुसारको तयारी पनि नभएको चित्र देखाउँछ । 

यो समयमा सरकारले अतिउच्च तवरबाट घोषणा  गरेको कुरा हो –‘कोही भोको बस्नुपर्दैन –भोकले कोही मर्दैन’ । लकडाउन घोषण हुँदा ६० दिन अघि यही कुरा वताइएको थियो र यसको अवधी ६० दिन पुग्दाको क्रममा  पनि सबभन्दा बढी बोलिएको नारा हो यो । तर यही बीचमा ठूलो संख्याका मान्छे  भोकै बस्न परेका र  त्यसमध्ये भोकले नै मरेका घटना पनि देखिए । 

जेठ २ मा सरकारले राष्ट्रपतिमार्फत प्रस्तुत गरेको नीति र कार्यक्रममा ‘सबैको जीवन बचाउन सफल भयौं’ भन्ने  कुरा त्यसको भोलिपलटै देखि आफै खण्डित हुन थाल्यो । तर प्रधानमन्त्री यो सत्यलाई मान्न तयार भएनन् । 

लगातार दुइदिनमा दुइजना मान्छे मरिसकेपछि प्रधानमन्त्रीले तेस्रो दिन संसदमा सम्वोधन गरे । त्यसमा उनले यो मृत्यु कोरोना बाट होइन भनी  पुराका पुरा खण्डन गरे । प्रधानमन्त्रीले ठोकुवा नै गरिदिए– ‘ यी दुवैजनाको मृत्यु कोरोना संक्रमणले भएको होइन, अरु नै कारणले भएको हो ।’ उता यी व्यक्तिहरुको परीक्षणमा कोरोना भाइरसको पुष्टी भएको थियो । यद्यपि दुबैको यस्तो रिपोर्ट भने उनीहरु  मरेपछिमात्र आएको थियो । 

मंगलबार प्रधानमनत्रीले यही दुईको  मृत्यु कोरोनानबाट भएको होइन भनेको भोलिपल्ट बुधबार नै अर्का संक्रमितको मृत्यु भयो बुटवलमा । यसले के देखायो भने लकडाउनको ६० दिनपुग्न लाग्दानलाग्दै कम्तीमा ती दिनमा चाहिँ संक्रमितको जीवन जानेक्रम बढ्यो नै र संक्रमण त्यतिकडारुपमा प्रकट भैनसकेको अस्थालाई सरकारले आफनो सफलता मानेको रहेछ भन्ने पोल खुल्यो ।  

प्रधानमन्त्रीको सिफारिस लसुनप्याज 

संसारभरी र नेपालमै पनि कोरोनाको प्रकोप बढदै जाँदा लकडाउनको यो ६० दिनमा देशका प्रधानमन्त्री नै त्यति गम्भीर देखिएनन् । लकडाउन घोषणा हुँदाको समयभन्दा कोरोना एक प्रदेश तथा एक जिल्लाबाट सात प्रदेश र ४० जिल्लामा विस्तार भैसकेको, संक्रमितको संख्या दुईजनाबाट ५ सयको हाराहारी पुगेको  र तीन जनाको ज्यान लिइसकेको अवस्था छ ।  स्थिति यस्तो छ भने यता संक्रमणकाबारे सरकारले यसलाई कति हलुका रुपमा लिइरहेको छ भन्ने  प्रधानमन्त्रीले यस्तो बेला संसदमा बोलेको कुरापनि एउटा उदाहरण नै बन्न गयो । यो ठाउँमा पनि प्रधानमन्त्रीले त्यहीकुरा दोहोर्‍याए जो पहिले देखिनै भन्दै आएका विवादित थिए – 

‘नेपालीहरुमा रोग प्रतिरोधी क्षमता भएकाले कोरोनाले केही गर्दैन । नडराउनू । ढुक्क भएर बस्नू । नेपालीहरुमा असाधारण प्रतिरोधी क्षमता छ । त्यसो भनेर लापर्वाही गर्नुहुँदैन । प्रतिरोधी क्षमता अरु बढाउनुपर्छ, अरु नियमहरुको पालना गर्नुपर्छ, सर्न दिनुहुँदैन । हाम्रो भान्छा, जहाँ बेसार हुन्छ, त्यो एन्टीबायोटिक हो । त्यसले प्रतिरोधी क्षमता बढाउँछ । हाम्रो भान्छामा लसुन, प्याज, जिरा, मरिच टिम्बुर, अदुवा हुन्छ । अमला, कागती हुन्छ । यी सबैमा औषधीय गुण छ र प्रतिरोध क्षमता बढाउन पूर्वजहरुले हजारौं वर्षको अनुभवबाट हाम्रो खानेकुरामा अनिवार्य गरेका हुन् ।’

यस अघि पनि मूख्यमन्त्रीहरुलाई उनले यस्तै सुझाव दिएका थिए जनतामा व्यापक प्रचार गर्न भन्दै । त्यसमा तातोपानी मात्रै खाएपनि हुने भन्ने कुरा थियो । उनले भनेका थिए – तातोपानी खाए यो भाइरसमा रहेको फ्याटीय तत्व पग्लिन्छ र यसको अस्तित्व समाप्त हुन्छ । त्यसबेला प्रधानमन्त्रीबाटै यस्तो गलतखालको सुझाव दिएको भनी त्यसबेला विज्ञहरुले यो भनाइ प्रति गम्भीर आपत्ति जनाएका थिए । त्यसैलाई सम्झाउँदै एकजना संक्रमित पत्रकारले आफुबसेको आइसोलेशन स्थलबाट लेखे – ‘प्रधानमन्त्रीले तातोपानी खान भनेका छन तर यहाँ त हात धुनका लागि चिसो पानीपनि छैन ।’  सावुन पानीले हातधुने भन्ने कुरा विश्व स्वास्थ्य संगठनकै सिफारिस हो । त्यसमा लसुनप्याजका कुरा अफवाह हुन र त्यसमा नपर्न भनी सुझाइएको छ । तर यता देशका कार्यकारी प्रमुखबाट नै  त्यस्तो अफवाहको प्रचार गरेको अवस्था बन्यो । अर्को, देशको अगुवानै यस्ता कुरामा लाग्छन भने संक्रमणको रोकथाम कस्तो होला भन्ने प्रश्न खडाहुन्छ नै ।   

मान्छे भोकले पनि मर्न थाले  

लकडाउनको यो ६० दिनपूग्ने क्रममा रहेको एक दिन संसदमा तराइ क्षेत्रका सांसद प्रदिप गिरीले देशको र त्यसमाथि तराइको हालत प्रस्तुत गर्दै भनेका थिए  ‘अव मान्छे भोकले मर्न थाल्नेछन् ’ कोरोनाको संक्रमणले तीन जना मान्छे मरेकै वरपर लकडाउनमा भएको अव्यवस्थाको कारण भोकले पनि एकजनाको ज्यान गयो । सांसदले दिएका चेतावनी प्रकट हुनथाले । संक्रमितको मृत्युभएको कुरालाई जसरी मानिएन् त्यसरीनै एकजना व्यक्तिको भोकले भएको यो मृत्युलाई पनि प्रधानमन्त्रीले नमान्लान । तर विवरणले त्यसैभन्छ । भोकले मान्छे मरेको यो समाचार सरकार यदि सम्वेदनशील छ भने सामान्य होइन । यसले  सरकारको आउँदो वर्षको वार्षिक नीति तथा कार्यक्रमलाइ नै चुनौती दिएको छ । त्यो नीति र कार्यक्रमको एउटा मूल नारा थियो –‘कोही भोको पर्दैन –भोकले कोही मर्दैन’ । यस्तो नारा रहेको सरकारको  नीति तथा कार्यक्रम घोषणा भएको पाँचौं दिन (जेठ ७) को समाचारको एउटा अंश –     

‘मलर सदाले भोकसँग लड्दालड्दै प्राण त्यागे । चार दिनदेखि चुलो नबलेपछि खाद्यान्नको खोजीमा हिँडेका उनी खेतमै ढले । घरमा चार दिनदेखि चुलो नबलेपछि सप्तरीको कञ्चनरुप नगरपालिका –५ पथरी रामपुरका मलर सदा मुसहर चिन्तामा डुबेका थिए । सोमबार दिउसो उनले श्रीमती जलेश्वरी देवीसँग अचानक कोदालो र छाता मागे । बेलुकाको खानाका लागि जसरी भए पनि सिदहा (खाद्यान्न) लिएर आउने बाचा गर्दै घरबाट निस्किए ।  

केहीबेरमै बस्तीका एकजनाले मलर नजिकै खेतमा लडेको खबर लिएर आए । एकछिन अवाक् बनेकी जलेश्वरी १० वर्षीय नाति दिनानाथलाई लिएर खेततर्फ दौडिइन् । बेलुका खानेकुरा लिएर आउँछु भनेर हिँडेका ५० वर्षीय श्रीमान् खेतमा ढलेको देख्दा कस्तो महसुस गरिन् होला ? उनी भन्न सक्दिनन् । उनका आँखामात्र रसाउँछन् । नातिसमेत लागेर ढलेका श्रीमानलाई उठाउन त खोजिन् तर सकिनन् । घरमा रहेका दुई जना बुहारीलाई बोलाइन् । नजिकै बाँतर टोलका दुईजना आइपुगे र बुहारीको पिठ्युँमा बोकाएर घर ल्याइन् । ‘घर ल्याएपछि उपचार गर्न लान्छु भन्ने सोचेँ । तर फेरि पैसा कहाँबाट आउँछ भन्दै उपचार गर्न गइनँ,’ बुधबार दिउँसो जलेश्वरीले सुनाइन ‘रातभरि त्यतिकै घरमा राखेँ, मंगलबार बिहान ८ बजे प्राण गयो । खाना नपाएरै मेरो पतिको ज्यान गयो ।’ 

उनको घरमा अन्न नभएपछि एक दिनअघि छिमेकी फनिलाल सदाले खिचडी बनाउन थोरै चामल दिएका थिए । ‘भोकले गाह्रो भयो भनेर मलरले भनेपछि मैले उनकी श्रीमतीलाई चामल दिएको थिएँ,’ फनिलालले भने, ‘बिचरा, गरिबीले खान नपाएरै बिते ।’ स्थानीय तहले दुई साताअघि १५ किलो चामल र १ सय २० रुपैयाँ राहत रकम दिएको थियो । राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर जोहो गर्न कोदालो लिएर हिँडेका थिए । 

मलरको मृत्युपछि जलेश्वरीसँग सद्गत गर्नसमेत पैसा थिएन । टोलवासीले उठाएर १५ सय रुपैयाँ दिए । जसले कात्रोलगायत सद्गतको सामान खरिद गरी अन्तिम संस्कार गरियो । सबै छोरा घरबाहिर रहेकाले नाति दिनानाथ (जेठा राजेशका कान्छा छोरा) ले दागबत्ती दिए । ‘किरियामा बसेको नातिलाई लगाउन एउटा गन्जी छैन, पुरानै कपडा लगाएको छ,’ जलेश्वरीले भनिन्, ‘किरिया कसरी सक्ने र अबको दिन कसरी बिताउने भन्ने चिन्ताले सताएको छ  ( कान्तिपुर जेठ ७) ।’

लकडाउनमा तयारी कस्तो ? 

लकडाउनको यो ६० दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा एकपटक मात्रै सम्वोधन गरे । यो चैत्र २५ को कुरा हो । त्यसपछि बैशाख १ मा पनि सम्वोधन त भयो तर त्यो शुभकामना दिन थियो । चैत्रको त्यो सम्वोधनमा  प्रधानमन्त्रीलेनै लकडाउन घोषणा हुँदाको समयमा कोरोना कस्तो थियो भन्ने एउटा चित्र प्रस्तुत गरेका थिए –‘आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ ।’ 

लकडाउनको ६० दिनपुग्दा संसारमा मृत्युको सख्या ३ लाख ३२ हजार ४२५ । संक्रमितको संख्या ५० लाख ७६ हजार पुग्यो । यसले संसारमा कोरोनाको आतंक कसरी विस्तार हुँदैछ भन्ने चित्र देखाउँछ ।  

प्रधानमन्त्रीले यस्तो सम्वोधन गरेका पनि आज ४५ दिन वितेको छ । त्यो सम्वोधनमा प्रधानमन्त्रीले नेपालमा व्यवस्थापन तर्फ यस्तो तथ्यांक दिएका थिए – ‘मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन केन्द्रको व्यवस्था गरिएको छ ।  ९ हजार १ सय ६८ जना क्वारेण्टाइनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ । भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।’

प्रधानमन्त्रीले आफैले यस्तो तथ्यांक प्रस्तुत गर्दा संक्रमितको संख्या जम्मा ९ जनाको थियो । जिल्ला चाहिँ काठमाण्डौ बाहिर एउटा थपिएको अवस्था ।  

स्वस्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकभर  ७० हजार ३ सय ७६ जनालाई राख्न सकिने गरी क्वारेण्टाइन । २५ हजार ३१ जना क्वारेण्टाइनमा रहेकामान्छे र ३ हजार ३ सय ४९ क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ४०२ जना उपचारत छन । 

यो विवरणमा क्वारेण्टाइनको शैया आधाले बढेको छ प्रधानमन्त्रीले त्यस्तो तथ्यांक प्रस्तुत गरको ४५ दिनपछि । पहिले त्यस्तो क्वारेण्टाइनमा ९ हजार थिए भने अहिले २५ हजार । मुख्य चाहिने आइसोलेशन बेड हो । पहिले यो आइसोलेशनमा सय जनापनि नकट्दा  त्यसको  वेड ३ हजार २ सयको क्षमता अहिले त्यसमा डेढ सयको संख्यामात्रै थपियो । यता त्यसबेला सय ननाघेको आइसोलेसनमा बस्नेहरुको सख्या ४०२ छ । यो तथ्यांक स्वास्थ्य मन्त्रालयको  जेठ ८ बेलुकासम्मको हो । उसको वेभसाइटमा यस्तै विवरण छ । यता संक्रमित पुष्टी भएकै संख्या  ५ सयको हाराहारीमा  पुगेको थियो यो बेलासम्म । त्यसो भए बाँकी करिव सयजनाले आइसोलेसन शैयासमेत पाएनन् त ? 

प्रधानमन्त्रीले त्यसबेला  चैत्र २५ मा नै भनेका थिए –‘भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ ।’ 

यो भेण्टिलेटर सहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको त झनै कन्तविजोक नै भयो । धेरै विवादका बीच सरकारले चैत्र १६ मा अपुग स्वास्थ्य सामग्री तथा उपकरण आयात गर्न सेनालाइ जिम्मा दिने निर्णय गर्‍यो प्रधानमन्त्रीको विशेष पहलमा । त्यसबेला भनियो सेनाले यो सामान ७ दिनभित्र ल्याउनेछ । चैत्र २३ मा सेनाले पनि पत्रकार सम्मेलननै गरेर यो जिम्मा आफुले पाएको र काम थालेको जनायो । तर ती अपुग स्वास्थ्य सामग्री तथा उपकरण आए जेठ ७ मा । यो विवरणलेनै बुझाउँछ –यो बीच अर्थात यो ६० दिनमा सरकारले कोरोना रोकथामका लागि काम चलाउने काम मात्रै गरेछ । आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण विना रोकथाम भनेको भाषण गर्नका लागिमात्र हो भन्ने बुझ्न सकिन्छ । यो बेला  जे जस्ता काम भए ती कुनै देशले दिएका अनुदानका सामान थिए । सेनाले खारिद गर्न जिम्मा पाएको यो सामान सवा दुई अर्वको थियो । यसले पनि ती सामान के कस्ता थिए भन्ने बुझाउँछ । 

उपचार कक्षका कुरा 

भेण्टिलेटर सहितको शैया संसारभरी नै कोरोनाको उपचारका लागि नभइ नहुने उपकरणमा गनिन्छ । आइसियु पनि त्यस्तै हो ।  आपतकालीन रुपमा खडा गरिनु पर्ने यी सयन्त्र लकडाउनको यो ६० दिनमा पनि निर्माण भएनन्। त्यसो हो भने यी दिनमा यो महामारी विरुद्ध के तयारी गरियो त भन्ने प्रश्न उठ्छ नै ।  

निजी क्षेत्रको एउटा अध्ययनबाट के देखियो भने अहिलेसम्म कोभिडका बिरामीलाई उपचार गर्न देशभरि १६२४ आइसोलेसन बेड छन सरकारले चाहिँ तीन हजार भनेकोछ ।  ३९६ आइसियू र १५६ भेन्टिलेटरका उपचार कक्ष छन । कोरोना  बिरामीलाई बचाउने अन्तिम संसाधन भेन्टिलेटर हो, तर यसबीचमा देशभर जम्मा १५ भेन्टिलेटर थपिए छन ।  यी पनि कसैले दिएका हुन् । १५ मध्ये १० वटा भेन्टिलेटर त्यस्तो सहयोगका हुन भने बाँकी तीनवटा चाहिँ टेकु अस्पतालले खरिद गरेको हो । रिपोर्टमा आए अनुसार अस्पतालको यतिबेलाको यतिबेलाको भेंटिलेटरको अवस्था दुखद छन । जस्तो कान्ति बाल अस्पताल, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका २६ भेन्टिलेटर बिग्रिएका छन । कान्ति बाल अस्पतालमा १०, वीरमा आठ र राष्ट्रिय ट्रमा सेन्टरमा आठवटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेपनि कोरोनाले प्रवेश गरेको माघ देखि त्यसका नाममा लकडाउन भएको यो दुई गरी चार महिनामा  तिनको अवस्था जस्ताको तस्तै पाइयो  । 

उपचारकक्षका सन्दर्भमा कामको अर्को पनि अवस्था प्रकटभयो अध्ययन क्रममा । सरकारले लकडाउन घोषणा संगै १५ दिनभित्र उपत्यकामा एक सय २० आइसियू थप्ने गर्ने निर्णय गरेको थियो । टेकुले ४० र अन्य चार अस्पतालले २० बेडका दरले आइसियू थप्ने गरी रकम निकासा पनि भयो तर यो ६० दिनमा त्यो काम समेत भएन । सुविधासम्पन्न बेडको अभाव भयो भने दुःखपाउने वा ठूलो खतरा मोल्नुपर्ने त साधारण नागरिकले नै हो । यस्तो बेला लकडाउनको यो ६० दिनमा सरकारले आफुले गर्नहुने नहुने केकेगर्‍यो र जनतालाई के कस्ता कष्टहरु दिइयो, ६०दिनपछि उपत्यकालाई किन शील गरियो  जस्ता  विवरण अर्को भागमा ।



नयाँ