सैनिक महाविद्यालयमा भ्रष्टाचार गर्ने सेनाका अधिकारीहरुलाई कार्वाही
क कस्लाई भयो के कार्वाही र जरिवाना?
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
783
Shares
काठमाडौं। सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूरमा दोषी पाइएका सैनिक अधिकारीहरुलाई नेपाली सेनाको समरी जनरल सैनिक अदालतले कार्वाही गरेको छ।
सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ जना सैनिक अधिकृत तथा २ जना अन्य दर्जाकालाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको सेनाले जनाएको छ ।
सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको २०७६ फागुन २३ गतेको राय सहितको प्रतिबेदन बुझाएको थियो। सोहि आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा २०७६ चैत्त ६ गते गठित समरी जनरल सैनिक अदालतले शुक्रवार फैसला सुनाएको हो।
सैनिक अदालतलले महासेनानी भुपालमान अधिकारीलाई दुई महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाउने फैसला गरेको छ। अदालतले निजले गैर-कानूनी रुपमा आर्थिक उपार्जन गरेको ठहरिन आएको विगो रकम एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा असुल उपर गर्ने निर्णय गरेको छ।
अदालतले प्रमुख सेनानी देव बहादुर क्षेत्रीलाई दुई बर्ष बढुवा रोक्का गर्ने र निजबाट रकम चारलाख चालीस हजार असुल उपर गर्ने सैनिक अदालतले फैसला गरेको छ।
हुद्धा यज्ञराज पोखरेललाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरीने गरी सेवाबाट हटाउने तथा निजबाट तीन लाख साठी हजार असुल उपर गर्ने फैसला भएको छ। हुद्धा गणेश बहादुर अधिकारीलाई दुई बर्ष तलव वृद्धी ग्रेड रोक्का गर्ने र निजले हिनामिना गरेको रकम दश हजार असुल उपर गर्ने फैसला सेनाले सुनाएको छ।
सह-सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई समेत नसिहत दिने फैला गरेको अदालतले अन्य १३ जनालाई सफाई दिएको छ।
सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको समेत जनाएको छ।