arrow

महामारीको चपेटामा बैंकिङ र पर्यटन क्षेत्र

logo
अभिषेक पौडेल
प्रकाशित २०७७ जेठ ११ आइतबार
avishek-paudel.gif

चीनको वुहान शहरबाट देखा परेको विश्वमहामारी बनेको कोभिड नाइन्टिन नामक कोरोना भाइरसको नाम नसुन्ने र यो भाइरसप्रति खेद प्रकट नगर्ने बिरलै होलान। मानव जगतले आविष्कार गरेका विशाल हातहतियार, आणविक बम, अनि अनुसन्धान गरेका ओखतीले समेत भाइरसलाई तह लगाउन सकिरहेको छैन । 

विश्व मानव जगत नै लकडाउन अर्थात बन्दाबन्दीमा रहेको छ । प्रकृति पनि छक्क परिरहेको छ। विज्ञान निराश भएको छ। मानव जगत तड्पिरहेको छ । उक्त भाइरसबाट अहिलेसम्म करिब साढे तीन लाख मानिसले ज्यान गुमाइसकेका छन् भने आधा करोड यस भाइरसको संक्रमित भइ ठूलाठूला अस्पतालमा लम्पसार परिरहेका छन् । लाखौं मानिस अस्पतालका आकस्मिक कक्षहरू आइसियु तथा भेण्टिलेटरमा आफ्नो प्राणको रक्षा गर्न भगवानसंग प्रार्थना गरिरहेका छन् । कोहि उक्त भाइरसको लक्षण देखा परि क्वारेन्टाइनमा बिलौना गरि दिन बिताइरहेका छन् । विश्वमानव समुदाय नै अहिले एकान्तवासमा नजरबन्द छ ।

कोहि हजारौं माइलको यात्रा गरि पसिनाको खोलो बगाउँदै परिवारसंग भेट्ने अनि ज्यान जोगाउने आशमा ठूला र लामा राजमार्गहरू हिड्दै, ठूला ठूला नदीमा पौडी खेल्दै घरतिर दौडिरहेका छन् । कोहि मृत आत्माको शान्तिको कामना निम्ति काजकीरिया गरिरहेका छन् । कोहि एउटा चाउचाउ अनि एक घुड्की पानीमा तड्पिरहेका छन् । उक्त भाइरसको रोकथामका निम्ति भन्दै विश्वसमुदायले नै लकडाउन किस्तामा सारिरहेको छ। एउटा निर्धारित मिति टुंगिदा वित्तिकै पुनः अर्को केही समयका लागि लकडाउन घोषणा गरिरहेको अवस्था छ । 

जटिल बन्दै गएको परिस्थिति अनि उक्त भाइरस कहिले साम्य होला त भनी विश्वमानव जगतले नै अनेकानेक तर्कबितर्क गरिरहेका छन् । कोरोनाले दिएको चुनौतीको सामना गर्न अथवा उक्त भाइरसलाई नष्ट पार्नका लागि अहिले ठूला ठूला विज्ञान संस्था अनि स्वास्थ्यकर्मीहरू औषधि वा खोप पत्ता लगाउन दिनरात दौडिरहेका छन् । उक्त भाइरसले विश्वमानव जगत अनि विज्ञान माथि यति ठूलो बज्रपात पर्ला त भनी कसैले न सोच्न नै सकेका थिए न कसैले भन्न अथवा भविष्यवाणी गर्न। अहिले विश्वमानव समुदाय अनि विज्ञान उक्त भाइरससंग घुडा टेकिरहेको छ। आफ्नो उग्र रुपलाई सक्रिय रुपमा प्रस्तुति गर्दै विश्वमानव समुदायलाई एकान्तवासमा पुर्‍याएको छ ।

विश्वमहामारी कोरोना भाइरसले यकिन गर्न अनि हिसाब गर्नै नसक्ने मानवीय, आर्थिक, शैक्षिक, सामाजिक, धार्मिक अनि राजनीतिक सबै पक्षमा क्षती पुर्याएको छ । जसबाट आर्थिक क्षेत्र नराम्रोसंग प्रभावित भएको छ । छवि बनाएका बैंकहरू पनि अहिले अप्ठ्यारोमा परेका छन् । बैंकिङ क्षेत्रहरू आफ्नो आशलाग्दो मुनाफाबाट वञ्चित भएका छन् । नेप्से सुचक दिनप्रतिदिन ओराली लागेको छ। भाइरसका कारण ग्राहक बर्गले उद्योग, व्यापार, व्यवसाय अनि फर्महरू सञ्चालन गर्न नपाउनुले बैंकहरूले समयमै सोचेजस्तो ब्याज तथा आर्थिक प्रतिफल  प्राप्त गर्न सकिरहेका छैनन् । बैंकको प्रमुख भूमिकामा ग्राहकवर्ग हुन्छन। उनीहरू नै लकडाउनको चपेटामा परेको हुँदा बैंकिङ क्षेत्रहरू जटिल अवस्थामा रहेका छन् । कतिपय प्राइभेट बैंकले त कर्मचारी कटौती गरिरहेका छन्। अर्थतन्त्र धान्नै नसक्ने गरि देखापरेको विश्वमहामारीका कारण अहिले बैंकिङ क्षेत्रहरू धरासायी हुने होकी भन्ने चिन्ता शुरु भएको छ। उद्योग, कलकारखाना, ब्यापार अनि फर्म सञ्चालन गर्न भनी किस्ताबन्दीमा ऋण लिएका ग्राहक वर्ग अहिले टाउकोमा हात राखेर एकान्तवासमा बिलौना गरिरहेका छन् ।

आर्थिक क्षेत्रको अर्को महत्वपूर्ण पाटोको रुपमा रहेको अरबौं लगानीमा बनेका ठूला साना होटल अनि रेष्टुरेन्टहरु हुन् । देशको अर्थतन्त्रमा ठूलो सघाउ पुर्याएका होटल व्यवसायी अहिले चुर्लुम्म डुबेका छन् । होटलमा काम गर्ने कामदारको पनि अहिले अवस्था दयनीय छ । निरन्तर रूपमा चल्दै आएका तारे होटल अनि रेष्टुरेन्ट एक्कासी अनिश्चितकालसम्मको लागि ठप्प हुँदा ब्यवसायी अनि कामदारहरू मर्कामा परेका छन् । उनीहरूको दुःख, पीडा अनि ब्यथा कस्ले बुझिदिने अनि सुनिदिने ?

विश्वमहामारीका कारण विदेशबाट घुम्न भनी नेपाल भित्रिएका लाखौं पर्यटक अहिले आफ्नै देश फिर्ता भइसकेका छन् । यसको असर सरासर होटल ब्यवसायीमा परेको देख्न सकिन्छ । आम्दानीको स्रोतमा देखिएका आन्तरिक अनि वाह्य पर्यटकको अहिले नाम निशाना नै नभएपछि उनीहरू छटपटाइरहेका छन्।लाखौं रुपियाँमा घर भाडामा लिइ होटल, रेष्टुरेन्ट सञ्चालन गरेका ब्यबसायी एक रुपियाँको ब्यापार नहुँदा भाडा कसरी तिर्छन् ? साहुहरूलाई के भनि बुझाउछन् ? यो समस्या कहिलेसम्म खेप्नुपर्ने हो ? अनि यस महामारीको असर कहिलेसम्म खेप्नुपर्ने हो ?भन्ने जस्ता प्रश्नको जवाफ सजिलै प्राप्त नहुने खालको छ। यसका लागि राज्यका सम्बन्धित निकायहरू सक्रिय भइ एक अर्कामा सहकार्य गरि अगाडि बढ्नुको विकल्प छैन, उनीहरूको यो पीडालाई बिर्साउन सरकार तदारुकता साथ अगाडि बढेर राहत प्याकेजको उचित ब्यवस्था गरोस् । 

सामाजिक दुरी कायम गरौं, मास्कको प्रयोग गरौं । अनावश्यक रूपमा घर बाहिर नजाऔं, लकडाउनको पूर्ण पालना गरौं ।

(लेखक पौडेल जनप्रिय बहुमुखी क्याम्पसमा बिए दोस्रो वर्षमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी हुन् ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ