कृषिमा आत्मनिर्भर भए वैदेशिक रोजगारी स्वतः कम हुने
निरजन कुमार साह,
प्रकाशित २०७७ जेठ ११ आइतबार
694
Shares
जनकपुरधाम । प्रदेश दुईका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले युवाहरुलाई कृषिमा आत्म निर्भर बनाउनु पर्ने धारणा राखेका छन् ।
आइतबार आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्द्रद्वारा धनुषाको क्षिलेश्वरनाथ नगरपालिका वडा नम्बर ९ हथराटोलमा आयोजित ‘आधुनिक एकीकृत कृषि व्यवस्थापनमा युवा रोजगार कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘यो प्रदेश ८० प्रतिशत कृषिमा आधारित छ । युवाहरु कृषिमा आत्म निर्भर भएमा वैदेशिक रोजगारी स्वतः कम हुनेछ ।’ कृषि यस्ता व्यवसाय हो जुन कम समयमा बढी आम्दानी दिन्छ मन्त्री साहले थपे ‘यस पटकको नीति कार्यक्रममा बालीनालीको बीमा योजना ल्याउँदैछ ।’
आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्दका अध्यक्ष राजेश महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री साहले भने वैज्ञानिक किसिमबाट कृषि गरेमा यस प्रदेशका कृषिले नै देशलाई पाल्न सकिने सम्भवना रहेको जिकिर समेत गरेका छन ।
कृषिमा लागत कम गर्नका लागि सुपर जोन मार्फत कृषि उत्पादन गर्नुपर्छ, लागत कम भएमा उत्पादन बढी र मूल्य पनि कम हुने मन्त्री साहले दोहोर्याएका छन् ।
मन्त्री साहले भने ‘युवालाई कृषिमा लगाउनका लागि प्रदेश दुई सरकारले छिट्टै कृषि वीमा ल्याउन लागेको हो । कृषि बिमा भएमा प्राकृतिक विपद परेपनि त्यसको जिम्मेवार राज्यले हुनेछ ।’
मन्त्री साहले कृषि क्षेत्रमा ड्रोन कैमराको प्रयोग गरेमा जनशक्तिको बचत हुने बताएका छन् । कृषिमा प्रयोग हुने ड्रोन कैमराको उद्घाटन गर्दै साहले भने ‘यो कैमराले बालीनालीमा लाग्ने किरा मकेरा देखाउने, विषादी औषधी छर्किने र बालीनालीको अवस्था बारेमा जानकारी दिइने छ ।’
त्यस्तै आरएटी कृषि उत्पादन तथा प्रशोधन केन्द्रका अध्यक्ष राजेश महतो ड्रोन कैमरा मार्फत १० कट्ठा बालीनालीदेखि एकविघासम्म विषादी औषधी छर्किन सकिने दावी गरेका छन् । कृषिमा जनशक्ति कम गर्नका लागि डोन कैमराको प्रयोगमा ल्याउन लागेको बताएका छन् । महतोले तत्काल यो कैमराको मूल्य बढी भएपनि किसानहरुसँग सहकार्य गरेर प्रयोग गर्न सकिने जिकिर गरेका छन् ।