नुवाकोटमा पनि देखियो कोरोना पोजेटिभ, महानगरको वैठकमा सहभागि थिए संक्रमित
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ११ आइतबार
503
Shares
नुवाकोट। नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेको छ। नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ का ३९ वर्षिय एक जना पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
काठमाडाैं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
ककनीका ति पुरुष काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण देखिएको छैन।
कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौं लैजाने तयारी गरिएको छ। कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन।
नुवाकोट थपिएसँगै कोरोना संक्रमण भएको जिल्लाको संख्या ४२ पुगेको छ।