arrow

गण्डकी प्रदेशको बजेट अधिवेशन शुरु, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुँदै

logo
हरि पन्त,
प्रकाशित २०७७ जेठ १२ सोमबार
gandaki-province-pradesh.jpg

पोखरा। गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट शुरु भएको छ । कोरोना भाइरसका कारण उच्च सर्तकताका साथ पोखरा सभागृहमा बजेट अधिवेशन शुरु भएको हो । असार १ गते बजेट ल्याउनुपर्ने भएकाले त्यसैको तयारी अधिवेशन बोलाइएको हो ।

बजेट अधिवेशनमा गण्डकी सरकारले थप ९ वटा विधेयक पेश गर्ने तयारीमा छ । गण्डकी प्रदेश सरकारले अहिलेसम्म ३६ वटा विधेयक पास गरि सकेको छ ।

बजेट अधिवेशनलाई संवोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस नेपालका लागि अवसर हुन सक्ने बताएका छन् । देश स्वास्थ्यको पूर्वाधारमा निकै कमजोर अवस्वथामा रहेको भन्दै उनले कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि पर्याप्त बजेट बिनियोजन हुनुपर्ने बताए ।

आफूले कोरोना भाइरसलाई एउटा अवसरका रुपमा पनि देखेको भन्दै मुख्यमन्त्री गुरुङले सबै जिल्ला अस्पतालहरु अपग्रेड गरिने, तल्लो तहमा पुगेका अस्पताललाई पनि विकास गर्ने स्पष्ट पारे ।

उनले कोरोना भाइरसका कारण गण्डकी प्रदेशमा के कति नोक्सान भयो भन्ने आँकलन गर्नु अहिलेको मुख्य चुनौती भएको पनि बताए । ‘अहिलेसम्म १९ अर्ब नोक्सान भयो की भन्ने छ । अब जेठ र असार अझै बाँकी छ’, गुरुङले भने, ‘यसैलाई ध्यान दिएर सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउनु पर्छ ।’

अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, सांसदहरू कृष्ण थापा लगायतका सांसदले संवोधन गरेका थिए ।

जेठ ४ गतेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले बर्खे अधिवेशन आह्वान गर्ने निर्णया गरेको थियो । यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ । यसअघि २३ पुसमा सुरु भएको प्रदेशको हिउँदे अधिवेशनको अन्तिम बैठक चैत ६ गते डाकिएकोमा सूचना टाँसेर स्थगित भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ