arrow

प्रधानमन्त्रीज्यु 'इनफ'

महेन्द्रपथले लिङ्कन बनाउदैन प्रधानमन्त्रीज्यु, तुलसी गिरी बनाउछ,जानी राख्नुस

logo
रेवती प्रसाद भूसाल,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
rewati-prasad-bhusal.gif

२०७७साल जेष्ठ ५ गते मन्त्रीपरिषदले लिम्पीयाधुरा, लीपुलेक, कालापानी नेपालको नक्सामा समाबेस गर्ने निर्णय गरे पछी नेपाल तथा भारतका मेडीया र सामाजिक संजालहरुमा राष्ट्रबादको तुफान आएको छ।संगसगै जस्तो आएको आम्फान तुफानले भारत तथा बंगलादेसमा ८० जनाको ज्यान लिएता पनि नेपालले प्रकासित गरेको नक्साको तुफानले भने हलचल ल्याएको छ। यद्यपि भारतका, ब्रिटीस दासताको मानसिकताबाट माथी उठ्न नसकेका, मेडीयाहरुको १४.५ लाख र ९५ हजार सैनीकको तुलना गरी हेप्ने काम र नेपालका गुदी नभएका चटकेहरुको, एक घर एक मोर्चा र तीन करोडलाइ सैनिक तालीम दिने फेसबुके युद्ध उन्माद भने पूर्ण उन्मादमा छ। ब्यापक जनदवाब र केहि समयदेखि बिकसित राजनीतिक परिस्थितिको जोड घटाउ पश्चात नेपाल सरकारले प्रकासित गरेको नक्साको लागि बर्तमान सरकारलाई धन्यबाद दिन भने कन्जुस्याँइ गर्नु हुदैन।

मन्त्रीपरिषदबाट अतीक्रमित भूमी सहितको नक्सा प्रकासित गर्ने निर्णय गरेर संसदमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिन बिजेताको शैलीमा प्रस्तुत भएका प्रधानमन्त्रीले जवाफ भन्दा पनि अर्ती, उपदेस, शिक्षा, अनुशासनका नयाँ नयाँ नीतिको पाठ पढाए। कार्यक्रमनै नभएपछी नीति घोकाउनु बाहेक बाँकी नै के थियो र ! कोरोनाले निरीह बनेर घर भित्र थुनिएका जनताले 'हस' भनेर पत्याइदिनु बाहेक विकल्प पनि छैन।त्यसो त ०७४ मा पनि पत्याइएकै हो ०७९ सम्म पत्याउदै जाने हो, त्यसपछी के हुन्छ जनताले त्यतीबेलै भन्लान। अहिलेलाई प्रधा मन्त्रीज्युको तीन घन्टा लामो जवाफको सम्मानमा दुईचार शब्दले जयजयकार गर्दै उहाँको मान उचो बनाउने आफ्नो पनि कर्तब्य पुरा गर्नु छ।

प्रधानमन्त्रीज्युको गुगल ज्ञान तारिफ लायक छ। द्वितीय विश्व युद्धको पुर्बावस्थामा चेम्बरलेनलाइ बेलायती संसदमा गुन्जीएको 'इनफ इनफ'को आवाज स्मरण गर्नु भएछ।यो समयमा किन स्मरण भयो उहाँलाइनै थाहा होला। भन्न त उहाँले ०७४ मै नेपाली जनताले 'इनफ' भनिसकेको भन्नु भयो, तर ०७४ को कुरा अहिले ०७७ मा त्यो पनि कोरोना कहरमा ओम्नी समुह लगायतको भारी बोक्दै क्वारेन्टीनमा झाडापखालाको उपचार नपाइ मर्नुपर्ने अवस्थाका जनतालाई सुनाउनुको पक्कै पनी विशेष अर्थ होला। प्रत्युत्पन्न बुद्धीका धनी प्रधानमन्त्रीका बचन हामी 'मन्द' बुद्धीका जनतालाइ बुझ्न अली समय लाग्नु त स्वाभाविकै हो। हामीले त यती मात्र अनुमान गर्ने हो दैनिक सफा दाह्रीमा देखिने प्रधानमन्त्रीले ऐना पक्कै हेर्नुहुन्छ होला।

कोरोना महामारीको ज्ञान प्रधानमन्त्रीलाइ छैन भनेर कसरी भन्ने?राष्ट्रीय सभामा उहाँले बाँडेको दिब्य ज्ञानले ट्रम्प र उहाँमा को बढी ज्ञानी भनेर छुट्टाउन पो गाह्रो भो। हामी नेपाली बेसार, अदुवा, लसुन, टिमुर, कागती, पुदिना आदी खान्छौ त्यसैले नेपालीको रोग प्रतीरोधी शक्ती बढी भएकोले कोरोनाले हानी गर्न सक्तैन भन्ने दिब्य ज्ञान! नेपालले दुई महिना बन्दाबन्दी ब्यहोर्दा पनि प्रयाप्त त के प्राथमिक तयारी पनि किन छैन भन्ने नबुझेका हामी नेपालीलाई प्रधानमन्त्रीज्युले सरल तरिकाले बुझाइ दिनुभयो। रोग प्रतिरोधी क्षमता अत्यधिक भएका नेपालीलाई आवश्यकनै नपर्ने पूर्ब तयारीको फजुल खर्च गरेर राष्ट्रिय सम्पत्तीको 'नोक्सान' किन गर्नु।अझै भनी दिनु भयो बिदेसका नेपाली ह्वारह्वार ल्याएर नेपाल सोत्तर बनाउने पक्षमा सरकार छैन। देशमा रोजगारी नभएर बिदेस जान विबस नेपालीले पठाएको विप्रेषण आबस्यक पर्ने त्यही नेपाली खान बस्न गाह्रो भयो घरमा आउछु भन्दा आउन नपाउने यो कस्तो सोच हो प्रधानमन्त्रीज्यु ? राष्ट्र के हो? देस केहो ? आफ्नो देशका नागरिक जस्ले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेका छन तिनलाइ निषेध गरेर कस्तो खालको राष्ट्र बनाउदैछौ हामी? के प्रधानमन्त्रीज्युले रटने गरेको सुख र सम्बृद्धी यही हो? देशको प्रमुख अभिभावकको मुखबाट यस्ता बचन सुन्दा ती प्रवासका नेपालीको मन कस्तो भयो होला ? त्यसतर्फ तपाँइले थोरै पनी सोच्नु भएन। तपाँइ भाबनामा बग्नु हुन्न मन कठोर छ, तर प्रधानमन्त्री भएपछि बिवेक त हुनुपर्ने हो।त्यो पनि नेपालीले देख्न नपाउनु, प्रधानमन्त्रीज्यु 'इनफ'।

बिकासको परिभाषा दिनु भएछ। एसडीजीको कुरा गर्नु भएछ,राम्रो हो। हुन त तपाँई ठूलै सपना देख्नु हुन्छ।पूर्व-पश्चिम, उत्तर-दक्षीण रेल कुदेको देख्नु हुन्छ। समुन्द्र संगको पहुंच नभए पनि पानी जहाजमा नेपाली झण्डा फहराएको देख्नु हुन्छ। हामीलाइ पनि यस्तै सपना देख भन्नु हुन्छ। कति सुखद होला यस्तो सपना देख्न पाए। तर हामी नेपालीले जत्ती कोशिस गरे पनि त्यो सपना देख्नै सकेनौ। सप्तरी पथरी रामपुरका कमलर सदा मुसहर चारदिन देखी भोकै अन्नको सपना देख्दै मृत्युवरण गरे। उनका परिवारको सपनामा अहिले तीनै कमलरको भोको चित्कार आउछ। सप्तरी गोबीन्दपूरकै रामलोचन सदा सिमा स्तम्भको रक्षा गर्दछन। भन्छन-यो स्तम्भको हामी रक्षा गर्छौ,तर भोकले मरिने पो डर छ। उनलाइ पनि बिहान बेलुका कसरी आफ्नो र परिवारको भोक शान्त पार्ने सपनाले सताउदछ। नेपालगंजका बाइस बर्षीय युबक क्वारेन्टीनमा झाडापखालाको उपचार गर्ने डाक्टरको सपना देख्दादेख्दै मरे। उनको परिवार अहिले सम्म निदाउनै सकेको छैन, सपना कसरी देख्नु।छरछिमेकी हाम्रो पनी त्यही गती हुने होकी भनी सपना देख्दा देख्दै ब्युझीन्छन्। बुटवलमा बाबुराम थापा अस्पतालमै उपचार नपाएर मरे। मृत्यु पछी मात्र कोरोना नेगेटीभ रिपोर्ट आयो। उनले उपचारको सपना मात्र देखेर मरे। बिदेसका नेपाली घर पुग्न पाइएला कि नपाइएला भन्ने सपना देख्दछन। यस्ता सार्वजनिक भएका र सार्वजनिक हुन पनि पहुँच नभएका असंख्य नेपाली छन जस्ले रोग र भोकको मात्र सपना देख्दछन।

भर्खरै जाजरकोटमा दुईजना दलीत,सभ्रान्त भनाउदाहरुको कुटाइ बाट मरे, अरु चार जना गायब छन।उनले रगतको समानताको सपना देख्दा मृत्यु वरण गर्नु पर्यो। यस्तै असंगतीमा बाँचेका कती नेपाली छन प्रधानमन्त्रीज्यु जस्लाइ तपाँइले देखिरहने सपना देख्ने सुबिधा छैन। रेल र पानीजहाजको महान सपनाको कुरा त टाढैको भयो,उनीहरुलाइ त कोही भोकै पर्दैन,कोही भोकै मर्दैन भन्ने तपाँइको सामान्य सपना पनी मरुभुमीको मृगमरीचिका भएको छ।अझ तपाँइ बिकासका नयाँ नयाँ परिभाषा अंग्रेजी एसडीजी घुसाएर पस्किनु हुन्छ।प्रधानमन्त्रीज्यु 'इनफ'।

वीपी भन्दा महेन्द्र एडभान्स भन्नुभएछ। राम्रै भो। तपाइको दर्शनको जानकारी दिनु भयो। महेन्द्रवादी प्रभाब तपाँइमा राम्रैसंग भरिएकोछ भन्ने त यस भन्दा पहिले पनि देखिएको र चर्चा परिचर्चा भएका हुन। त्यतीबेला तपाँइलाइ के भयो कुन्नी महेन्द्रबादी भन्दा रिसाउनु भयो। अब ऐले आफै भन्ने अबस्थामा पुग्नु भएछ। विपीले त फाटेको टोपी लगाएर झुपडी अगाडी उभिएको गरीबको फोटोलाई राजाको फोटो नजीकै राख्न लगाउनु भएको थियो। महेन्द्रले त्यो गरीबको फोटो हटाएर आफ्नो कल्की पुच्छर भएको श्रीपेच लगाएको फोटो मात्र राख्न आदेश गरे।कहाँको झुत्रे गरीब देख्ने विपी कहाँ वैभबशाली महेन्द्र। गरीब भन्दा धनीनै एडभान्स, अधिकार खोसिएको रैती भन्दा राजा नै एडभान्स। यही त होनी महान सोच प्रधानमन्त्रीज्यु। फेरी अहिले त राजा फालेको यो गणतन्त्रले राजाको सिंहासनमा तपाँइलाइ राखेको छ,त्यसैले सोच पनि सिंहासन अनुसारको राख्नै पर्यो। तपाँइले विपीलाई कती पढनु भएको छ कुन्नी। जवानी माओ,स्टालीन पढदा र विपीलाइ गाली गरेका पर्चा छर्दा,पढदा बिते होला।अहिले गुगलले धेरै बताउदैन।तपाँइले मेरो यो लेख त पक्कै पढनु हुन्न।तपाँइको कुनै समर्थक सहयोगीले पढे भने विपीको यो एउटा अती सानो भनाइ तपाँइसंग पुर्याइ दिन अनुरोध गर्दछु-"प्रजातान्त्रीक दलको मुख्य धरोहर नैतीकता हो।"वि पी को यती सामान्य भनाइ बुझी दिनुस प्रधानमन्त्रीज्यु,तपाँइलाइ यती नै 'इनफ'।

डेमोक्रेसीको बारेमा लामै उपदेश दिनु भएछ। मैले वक्तृत्वकलाको बारेमा कतै पढेको थिएँ, भाषण गर्ने बेलामा म जत्तीको जान्ने कोही छैन, सुन्न बसेकाहरु मेरो ज्ञानको तुलनामा फिक्का छन, भन्ने भावका साथ भाषण गरियो भने निर्धक्कसंग धाराप्रबाह बोल्न सकिन्छ। तपाॅइको वक्तृत्व कलाको सबैले लोहा मानेकै छन्। आत्म बिश्वासको पनि धनी हुनुहुन्छ। तर केगर्नु प्रधानमन्त्रीज्यु सुन्न बसेकाहरुले तपाँइको स्वास्थ्य, तपाँइको पोजीसनले केही प्रतीकृया ब्यक्त नगरेनी बाहिर पनि धेरै छन जस्ले मुल्याङ्कन गर्दछन। डेमोक्रेसी भाषणमा मात्र भनिने आदर्शको कुरा होइन, ब्यबहारमा देखाइने पद्धती हो। लिङ्कनले डेमोक्रेसीको वारेमा जे भने तदनुरुप ब्यबहार गरे, जे ब्यबहार गरे त्यसैलाई शब्दमा व्यक्त गरे। तपाँइ आफुलाइ लिङ्कन भन्दा महान देखाउन खोज्नु हुन्छ तर सबै कुरा केन्द्रीकृत नियन्त्रीत गर्नु हुन्छ। तपाँइको यो दुइ बर्षे कार्यकाल हेर्नुस र आफ्नो आत्मा(छ भने)लाइ सोध्नुहोस के के गर्नु भएको छ। महेन्द्रपथले लिङ्कन बनाउदैन प्रधानमन्त्रीज्यु, तुलसी गिरी बनाउछ,जानी राख्नुस।

सामाजीक संजालले तपाँइलाइ साह्रै पिरोलेको छ। हेर्नै नसकिने अश्लीलता भयो भन्नु हुन्छ। हुन त श्लील अश्लीलका तपाँइका र हामी जनताका मान्यता फरक छन्। तैपनी सामाजीक संजालमा केही उत्ताउलोपन सबैलाइ महसुस भएकोछ। तर यस्को जिम्मेवार को? ०४८ साल देखी आफ्ना कार्यकर्तालाइ "तालुखुइले गिरीजा भारत तीर छिरी जा" "ऐलेको हैजा गिरीजालाइ लैजा" भन्न लगाउने तपाँइ र तपाँइको पार्टी होइन र?सडकमा आतङ्क मच्चाउने तपाँइहरु होइन? तपाँइहरुलाई त्यती बेला प्रजातन्त्रले सभ्य संस्कार खोज्छ भन्ने ज्ञान नै भएन या प्रजातन्त्रप्रती बिश्वासनै थिएन। अहिले त्यही बिष बृक्ष झाङ्गीएकाले त्यस्को असर तपाँइलाइ परेको छ। बयलगाडा चढेर आएको लोकतन्त्रले तपाँइलाइ प्रधानमन्त्री बनाएको छ,लोकतन्त्रको मर्यादा राख्न सिक्नुस, नयाँनयाँ नियन्त्रणात्मक कानून ल्याएर लोकतन्त्रलाइ कमजोर नबनाउनुस, आफ्ना कार्यकर्तालाइ अरिङ्गाल होइन माहुरी बनाउनुस। सामाजीक संजालको असंगती अन्त्य गर्न चाहनु हुन्छ भने साधारण कुरा छ, नेकपाको अध्यक्षको हैसियतले आफ्ना कार्यकर्तालाइ आजदेखी अमर्यादित भाषा,शब्द प्रयोग गर्न र उच्छृङ्खल कार्य गर्न बन्द गराउनुस र सभ्यशैलीमा आफ्ना कुरा राख्न निर्देशन दिनुस। तपाँइले त्यती गर्दा साथ अरु पार्टी पनी आफ्ना कार्यकर्ता नियन्त्रण गर्न विबस हुन्छन।तर त्यो भन्दा पहिला तपाँइ आफै सुध्रीने कि प्रधानमन्त्रीज्यु?प्रजातन्त्रबादीले आफै प्रयोग गरेर देखाउछ,तानाशाहले आदेश दिन्छ नियन्त्रण गर्दछ।तपाँइका अरुलाइ सियोले झै घोच्ने बचन,आफ्नै पूर्ब महासचिब र पूर्ब प्रधानमन्त्रीको शुभकामना पनी लिन नसक्ने क्षुद्र चरित्रको पनी आत्म समिक्षा गर्ने हो कि? तपाँइले सुधार नगर्दा पनि हामीलाइ केही फरक पर्दैन।हामी त अभ्यस्त भइसक्यौ। तपाँइकै स्वास्थलाभको लागी मात्र हो। अँ ब्रह्मा, बिष्णु, महेश्वरको जस्तो पौराणीक स्तुतीगान खोज्नु भएको रहेछ। त्यस्तो पो हाम्रो संस्कार, संस्कृती भनेर सिकाउनु भएछ। मलाई त कता कता प्रसीद्ध उपन्यासकार जर्ज अर्वेलको उपन्यास एनीमल फर्मको याद आयो प्रधानमन्त्रीज्यु। कतै तपाँइ एनीमल फर्मको नेपोलीयन त बन्न खोज्नु भएको छैन जस्ले स्क्विलर र अरु आदेशपालक चारखुट्टे मात्र रुचाउछ।२१औ सताब्दीमा यो त अती भयो प्रधानमन्त्रीज्यु 'इनफ'।

चतुर्मुख ब्रह्माले पनि नसक्ने तपाँई सबैको गुण(?)गान यो सानो लेखमा कसरी सम्भब होला र! त्यसैले घरेलु चर्चा यत्ती मात्र।

अतीक्रमित भूमी समाबेस गरेर नक्सा प्रकासित गर्नुभयो, राम्रो भयो। सबै नेपाली खुसी छौ। नक्सा प्रकासीत गरे पछी द्विपक्षीय बार्ता गर्ने र प्रकासित नक्सा अनुसारको जमिन भोगचलनमा ल्याउने दायित्व पनि सरकारको हो। नक्सा प्रकासित गर्दैमा चक्रवर्ती बनेझै अन्य देशको राष्ट्रीय प्रतीकको अपहेलना गर्नु कती बुद्धीमानी हो प्रधानमन्त्रीज्यु?कसैले हाम्रो देशको राष्ट्रीय प्रतीकका बारेमा त्यस्तै बोल्दा हामीलाइ कस्तो हुन्छ?ऋतीकरोसन घटना भएको पनी धेरै भएको छैन।अनी चिनीयाँ भाइरस भन्दा इन्डीयन भाइरस कडा भनेर के भन्न खोज्नु भएको?के घोचपेच नगरी बोल्नै सकिन्न?तपाँइका यि ब्यङ्ग बाणले जमिन फिर्ता भइहाल्योत?हामिले सिकेको बुझेको त बोली नरम गरौ अडान दह्रो राखौ भन्ने हो।यो तपाँइको कुटनिती हो कि युद्धनीति हो या अरु कुनै रहस्य छ बुझ्न सकिएन।एक छिनलाइ तपाॅइका अरिङ्गालहरु त उफ्रिनु होला,तर यस्ता क्षुद्र बचनले हामीले चाहेको परिणाम देला?परिणाम चाहीएको छ,सम्मान र स्वाभिमान चाहिएको छ, प्रधानमन्त्रीज्यु ,दम्भ र बचन बाण ले त अघाएकै छौ।अतिक्रमीत भुमी हाम्रो रहेको प्रमाण सबै संकलन भएका होलान।छैनन भने खोजौ,ब्रिटीस लाइब्रेरी र अरु कहाॅ कहाॅ छन पत्ता लगाउॅ।सबै जुटाएर दह्रो संग टेबुलमा बार्ता गर्दा परिणाममुलक होला।आफ्नो रङ्ग महलमा त उत्तरकुमारले पनी कौरब सेना पराजीत गरेकै थिए।बार्ताको टेबुलको युद्धमैदान बाट उत्तरकुमार झै भागेको हामी नेपालीले देख्न सुन्न नपरोस भन्ने आम नेपालीको चाहना बुझी दिनु हुन अनुरोध मात्र गरेको हो।

तपाँइको कुर्सी अहिले हामीले हेरेका छैनौ। त्यो कुर्सी पाँच वर्ष सम्मको लागी तपाँइकै हो। तपाँइको पार्टीले के गर्दछ, त्यस्मा हाम्रो सरोकार छैन।हाम्रो सरोकार निर्वाचित सरकारको काम संग मात्र हो । भारत संगको बिबाद त छदैछ,त्यस संगै अहिलेको महाब्याधी छ,प्रवासका नेपालीको समस्या र स्वदेशका नेपाली को स्वास्थ्य सुरक्षा उपचारको अभाब र भोकको चित्कार छ,क्वारेन्टीनको अब्यबस्था छ,थिलोथिलो भएको अर्थतन्त्र छ।पहुँच बिहिनहरुको आसन्न मृत्युको स्वागतमा मृदङ्ग बजाउदै कमिसन खाने भ्रष्ट राजनीतिक प्रशासनीक संजाल छ,त्यस्लाइ ढाकछोप,संरक्षण गर्ने तपाँइको नेतृत्वछ।हामी नेपालीले यस्को उपचार खोजेको हो।यस्को उपचार गर्ने यस्मा परिवर्तन ल्याउने जिम्मा तपाँइको हो।यो तपाँइ आफै बदलीएर आफैमा परिवर्तन ल्याएर गर्नु हुन्छ की,तपाँइको पार्टीले तपाँइलाइनै बदलेर गर्दछ,यो तपाँइहरुनै जान्नु होस।हाम्रो इच्छा तपाँइनै रहनुहोस भन्ने हो।तर अहिले सम्मको तपाँइको शैली, अब्यबस्था,कुशासन,दम्भ र अहंकार,अती भयो प्रधानमन्त्रीज्यु।'इट इज इनफ'।

( भूसाल नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्।)



नयाँ