arrow

हाउसवाइफ

logo
रश्मि कडरिया, 
प्रकाशित २०७७ जेठ १३ मंगलबार
rashmi-kadariya.jpg

सबैभन्दा पीडा त त्यतिबेला हुने रहेछ जब छोराछोरीले आफ्नो गृहकार्यमा आमाको पेशा हाउसवाइफ लेख्छन् । अनि श्रीमानले श्रीमतीको पेशामा गृहिणी । उसले यति भनिरहँदा उसको आँखा टिलपिलाए । 

आँसु मेरो सामु झर्छनकी भनेर ऊ आँखा माथितिर हेर्न थाली त्यो बिशाल आकाश तिर त्यै आकासमा बादलका धब्बा मडारिए जस्तै उसको मन भित्रका पीडाहरु मडारिए – मलाइ असाध्यै नमिठो अनुभूति भयो । 

आज लगभग चौध बर्षपछि अनामिका र मेरो भेट भयो ऊ मलाइ भेट्न मेरो घर आएकी । उस्ले भक्कानिँदै जिन्दगीका सबै पीडाहरु ओकल्न शुरु गरी आफैलाई सम्हाल्नै नसक्ने गरी । 

ऊ मात्रै होइन सम्हालिन निकै गाह्रो पर्यो मलाइ पनि अचानक अप्रत्याशित जे सुनाइ उस्ले । उस्ले शुरु यसरी गरी साथी, स्कुले जीवनदेखि कलेज पढ्दासम्म खाइ नखाइ अनेक दुःख कष्ट सहेर बाबा आमाले पढाए हामीलाई डिग्री अर्थात् स्नातकोत्तरसम्म ।

स्नातकोत्तर पास गरेको कुनै मुल्य र अर्थ रहेन जीवनमा र अब रहला भन्ने आशा पनि कहाँ नै रह्यो र । स्नातक पढ्दा पढ्दै विवाह गरियो । पढ्न शुरु गरेदेखि नै प्रथम श्रेणीमा उत्तीर्ण । कहिल्यै असफलता बेहोर्नु परेन मैले ।    

सबैले मलाई कति टाठी बाठी छ भन्थे । पढ्नमा चलाख छ भविष्यमा केही गर्छे यस्ले भन्थे । तर आज ती सपनाहरु ती चाहनाहरु घरको चार भित्तामा सिमित भए । जब जन्मघर छोडेर पराइघरमा पाइला टेकियो त्यहि दिन देखी आफ्नै छातीमा ढुङ्गा राखेर हिँडेको अनुभुति भइरहेछ । 

हुनत पढेलेखेका ज्वाइँ हेरेर नै दिएका हुन् बाबा आमाले । घर पनि शिक्षित, खानदानी नै छ तर पनि मान्छेको मन, दिमाग कहाँ शिक्षित हुँदो रहेछ र । किताबी ज्ञानहरु कोरा कागजमै सीमित हुने रहेछ त्यसलाई ब्यवहारमा उतार्न गाह्रो हुँदो रहेछ सायद ।

आज बिहे गरेको लगभग १० बर्ष भयो । जसो तसो डिग्री पास गरेँ । तर अब जागिर खाने बाटो सजिलो देखेकी छैन । दुई सन्तानको जन्मपछि थप जिम्मेवारीले झन् जिन्दगी जटिल बन्दै गएको छ दिनानुदिन । 

निनीहरुको खानपान स्याहारसुसारमै दिनहरु बितेका छन् । घरको काम गरेको त कुन मुल्य छ र ? आजसम्म कुन नारीले घरको काममा जश पाएका छन् र अपवाद बाहेक ?

अब त यस्तो लाग्न थाल्यो कि घरमा गरिने काम कामै होइन काम त जागिर पो ‘त । बिहान ५ बजे उठेदेखि राति ९ बजेसम्म घरको काममै ब्यस्त हुन्छु । तैपनि मेरा श्रीमानले भन्नुहुन्छ ‘तिम्रो के काम छ र दिनभर उही पकाउने खाने बाहेक । पढेलेखेकी जान्ने सुन्ने मान्छेले जागिर खान गए नि हुनी । त्यति धेरै पढेको के काम भयो त नाथे एउटा जागिर खान नसक्नेले ।’

उसले यति भनिरहँदा अनामिकाको आँखाको डिल भासिएर सेतो गालामा तप्प आँसु चुहियो । उस्ले यति भनिरहँदा त्यो पीडा कतै मेरो पनि ! मुखले भने अनुसार ब्यबहारमा पनि भए पो कति बेला जागिर खान जानु ? बिहान सबेरै उठेदेखि राति नसुतेसम्म बडार कुडारबाट शुरु दैनिकी खाना बनाउने, भाँडा माझ्ने, कपडा धुने, बच्चालाई स्कुलको लागि तयार गर्ने,  स्कुल पुर्याउने खाजा बनाउने, स्कुलबाट ल्याउने, होमवर्क गराउने के के ...।

के के काम हो की होइन त्यो त थाहा भएन यसरी बित्छ हरेक दिन मेरो । बेलुका अफिसबाट फर्किएपछि ओछ्यानमा उपरखुट्टी लाएर पल्टँदै उनी मोवाइलमा आँखा पार्दै भन्छन् दिनभर खाली बस्दा लोकसेवाको तयारी गरेनि हुनी नि, हुन त किन दुःख गर्नु र कमाउने अरु नै भएपछि... । 

यसो कम्प्युटर सिक्नु । हुनत कति कर लगाउनु उचालेको कुकुरले मृग समाउँदैन के रे । लामो सुस्केरा हालेर थकित शरीरलाई कपाउँदै चिच्चाउन मन लाग्छ हो मेरो केही काम छैन बस् खाने सुत्ने न हो ।

साथी म यस्तो घरको आगोको भुङ्ग्रोमा पिल्सिएकी छु कि । त्यो न म ब्यक्त गर्नसक्छु न कसैलाई भन्न। पढेलेखेको, शहरिया श्रीमानको हालत त यस्तो छ झन अझै गाउँघर तिरको के घरका अरु सदस्य सासु ससुराको त के कुरा गर्नु र ।

सधै आफ्नै पालाको कुरा यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो आजकलका बुहारी के भाका । के जमाना आयो यस्तो । हरे के देख्नु पर्ने ? बुहारी हुँदासम्म खाएको थाल पनि उठाउन हुँदैन भन्ने मानसिकताले गाँजेको छ ।

त्यही घरको काम सबै मिलेर गर्ने हो भने त घर स्वर्ग जस्तै हुन्थ्यो होला । हुनत हिजोआज समयले कोल्टे फेरेको छ तैपनि म जस्ता कति होलान् भन्ने प्रश्नले यो मन विचलित छ । 

कति सुनाउनु यी दुःख पीडाका कुरा कहिल्यै सकिन्न भो मनका पोका फुकाएर । 

अनि आँशु पुछ्दै उसले सोधी तेरो के छ हालखवर अनि के गर्दै छेस् हिजो आज ? ...मेरो आवाज रोकियो । म निशब्द भएँ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ