arrow

रजस्वला !

logo
बन्दना पोखरेल, 
प्रकाशित २०७७ जेठ १४ बुधबार
bandana-pokharel.jpg

मलाई पर नसार आमा,
म त प्रकृतिको वरदान स्वरूप परिपक्क भएकी हुँ
म त एक सृष्टिकर्ता भएकी हुँ।

मलाई पर सारिरहँदा महिनावारी पाप हो भनिरहँदा,
मलाई त्यो चिसो गोठको सिरेटोमा पठाएर पुण्य
कमाउनु भन्दा तिम्री छोरीलाई मृत्युको शिकार बनाइरहेछ यो समाज ।

आमा ! तिमी बिना म असम्भव थिएँ
अनि हामी बिना यो संसार,
म त बगैंचामा फुलिरहेको सुन्दर फूल हो बाबा !
मैले त आफ्नो जिम्मेवारीलाई अगाडि बढाउने
अवसर पाएकी हुँ
त्यसैले बाबा मलाई पर नसार
म त एक सृष्टिकर्ता भएकी हुँ ।

हजुरआमा मैले कुनै ईश्वरको पाप सराप बोकेकी छैन,
मलाई त केवल रजस्वला भएको हो,
यो सृष्टि धान्नको लागि
तिम्री एक शाहसी नातिनी भएकी हुँ ।
मलाई पर नसार ।

म रजस्वला भएर पल्टिरहँदा खै कता कता दुख्छ
कहिले पेट दुख्छ त कहिले खुट्टा
मलाई तिमीसँगै राखेर सान्त्वना तुल्याऊ,
मेरा हातखुट्टा मिचिदेऊ 
बिन्ती दिदी मलाई पर नसार 
म त एक सृष्टिकर्ता भएकी हुँ । 

मेरो भाइ तिमी त शहर गएर पढेको मान्छे,
शहरमा त शिक्षाका कुरा सिक्यौ होला नि होइन ?
यो अन्धविश्वास र अशिक्षाले गुज्रिएको मेरो समाज
परिवर्तन गरी म र मजस्ता तिम्रा चेलीलाई
यो अँध्यारो कोठा बाट बाहिर निकाल
बिन्ती भाइ मलाई पर नसार ।

म त रजस्वला भएकी हुँ  
म त एक सृष्टिकर्ता भएकी हुँ
प्रकृतिको वरदान स्वरूप परिपक्क भएकी हुँ ।  
(कवयित्री त्रिचन्द्र कलेज काठमाडौंकी युवा रेडक्रस सर्कल अध्यक्ष हुन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ