arrow

सरकारले जोखिमको आधारमा व्यवसाय सञ्चालनको वातावरण मिलाओस् – ध्रुव थापा 

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
100092298_181893423136744_2.jpg

पोखरा । पोखराका युवा व्यवसायी ध्रुव थापाले कोरोनापछि नेपालको आर्थिक अवस्था निकै कमजोर बन्न सक्ने बताएका छन् । थापाले सरकारले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धमा विशेष निर्देशिका जारी गरेर कर्मचारीहरूलाई सुरक्षित तवरले काममा लगाउन सक्ने व्यवस्था गर्नु जरूरी रहेको स्पष्ट पारे । 

लकडाउनको ठूलो असर हाम्रो अर्थतन्त्रममा परेको भन्दै व्यवसायी थापाले भने, ‘अहिले हाम्रो अर्थतन्त्र चौपट बनिसकेको छ । यो अवस्था अझ लम्बिँदै जाँदा कस्तो अवस्था सृजना हुने हो भन्ने कल्पना समेत गर्न सकिँदैन । यस्तो अवस्थालाई विचार गर्दै नेपाल सरकारले कोरोना जोखिमको आधारमा रातो, पहेंलो र हरियो गरी ३ किसिमले भौगोलिक क्षेत्रहरूलाई विभाजन गरी सोही बमोजिम उद्योग एवं व्यवसायहरु सञ्चालन गर्ने वातावरण मिलाउनु जरुरी छ ।’

‘विभिन्न बाह्य मुलुकहरूमा कोरोना संक्रमण पूर्णरूपमा नियन्त्रणमा नआउँदै सुरक्षित तवरले उद्योग एवं व्यवसाय सञ्चालनको वातावरण मिलाइएको छ । नेपालमा पनि कोरोना महामारी कहिलेसम्म रहिरहने हो भन्ने आँकलन गर्न सकिने अवस्था छैन, हिमालय अर्गनाइजेशनका अध्यक्ष समेत रहेका थापाले भने, ‘अझ भयावह स्थिति सृजना हुन सक्ने कुरालाई दृष्टिगत गर्दै त्यसैको आधारमा उद्योग तथा व्यवसाय खोल्नुपर्ने जरूरी देखिएको छ ।’

सरकारले जारी गरेको मापदण्डमा रहेर उत्पादन तथा व्यवस्थापनमा संलग्न कर्मचारीलाई सुरक्षित बनाउने कामको जिम्मेवारी लिन सम्बन्धित उद्योगी एवं तयार रहेको भन्दै उनले यो आवाज हामी व्यवसायीहरूको सामुहिक आवाज भएकाले सरकारले छिट्टै यस किसिमको व्यवस्था गर्नेमा आफूहरू आशावादी रहेको बताए । 

अबको बजेटमार्फत राज्यले धान्न सक्ने गरी अनावश्यक क्षेत्रका खर्च कटौती गरेर व्यवसायीहरूका लागि विशेष आर्थिक प्याकेजसहित स्वास्थ्य, कृषि र रोजगारी सृजना सम्बन्धमा विशेष कार्यक्रमहरू ल्याउनु जरूरी रहेको थापाले बताए । 

‘एकदमै महत्वपूर्ण, ठूला र तत्काल सम्पन्न भइहाल्ने किसिमका आयोजनाहरूलाई मात्र निरन्तरता दिँदै अन्य कामहरू थाती राखेरै भए पनि राज्यको मुख्य ध्यान विपत् व्यवस्थापनमा नै केन्द्रित हुनुपर्छ । जुन हाम्रो समयको माग हो’, उनले भने । 

विश्वका थुप्रै राष्ट्रहरूले त्यहाँ कोरोना जोखिम हुँदाहुँदै पनि सुरक्षित तवरले उद्योग तथा व्यवसाय सञ्चालनको व्यवस्था मिलाएको भन्दै थापाले नेपालमा पनि सोही किसिमले उद्योगधन्दा एवं व्यवसाय सञ्चालनको व्यवस्था मिलाउनु आवश्यक रहेको बताए । अहिले नै त्यस किसिमको व्यवस्था गर्न सकिएन भने अर्थतन्त्र आगामी दिनहरू थप कष्टकर हुने उनले चेतावनी दिए । 

नेपालमा कोरोना संकट भित्रिइसकेपछि राज्यले जुनरूपमा आफ्ना संयन्त्रहरू प्रयोग गरेर कोरोना नियन्त्रण सम्बन्धमा विशेष पहल गर्नुपर्ने थियो, त्यस किसिमको पहल हुन नसकेको कारण अहिले संक्रमितहरू निकै तीव्र रूपमा थपिइरहेका भन्दै थापाले अबका दिनमा परीक्षण दर अझ बढाउनुपर्नेमा जोड दिए । 

नेपाल सरकारले कोरोना जोखिमको आधारमा रातो, पहेंलो र हरियो गरी तीन किसिमले भौगोलिक क्षेत्रहरूलाई विभाजन गरी सोही बमोजिम उद्योग एवं व्यवसायहरु सञ्चालनको वातावरण मिलाउनु आवश्यक रहेको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ