arrow

चार हजार बढी नेपाली भित्रिए, कोरोना परीक्षण गरिएन

logo
प्रकाशित २०७७ जेठ १५ बिहिबार
sudur1.jpg

कैलाली । कैलालीको त्रिनगर नाकाबाट बिहिबार पनि ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ । स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। उद्धार गरिएका कसैको पनि कोरोना संक्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

क्वारेन्टाइनमा राखेकालाई योग अभ्यास सिकाइने
धनगढी उपमहानगरपालिकाले क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई सामाजिक दूरी कायम गर्दै योग अभ्यास र स्वास्थ्यसम्बन्धी ज्ञान सिकाउने भएको छ । उपमहानगरपालिकामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

“उपमहानगरपालिकाले आफँै तालिम दिएर यसअघि नै विद्यालयका ३० जना शिक्षकलाई योग प्रशिक्षक तयार गरेको छ”, प्रमुख नृपबहादुर वडले भने, “यसका लागि क्वारेन्टाइनमै योग प्रशिक्षकलाई नै परिचालन गरी योग अभ्यास गराइने छ ।” प्रशिक्षकद्वारा बिहानको समयमा योग अभ्यास गराइने भएपछि क्वारेन्टाइनमा राखिएका व्यक्तिमा स्फूर्ति ल्याउने प्रमुख वडको भनाइ छ ।

त्यसैगरी क्वारेन्टाइनमा रहेकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिनका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिने उपप्रमुख सुशीला मिश्र भट्टले बताए । स्वास्थ्यकर्मीले कोरोनालगायत अन्य रोगसम्बन्धी रोकथामका उपाय, सरसफाइ र क्वारेन्टाइनमा रहेकाको मनोबल उच्च बनाउने किसिमका ज्ञान दिने बताइएको छ । 

उपमहानगरपालिकाका १९ वटा क्वारेन्टाइनमा हालसम्मको तथ्याङ्क अनुसार ३१० जना रहेका छन् र यो सङ्ख्या थपिन सक्ने क्वारेन्टाइन व्यवस्थापन उपसमिति संयोजक नारायणप्रसाद बरालले बताए ।

त्रिनगर भन्सार क्षेत्र सेनिटाइज गरियो
धनगढी उपमहानगरपालिका सरसफाइ शाखाका कर्मचारीसहितको टोलीद्वारा कैलालीको त्रिनगर भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइज गर्ने काम गरिएको छ । उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाइमा भन्सार नाका क्षेत्रमा सरसफाइ तथा सेनिटाइजको काम गरिएको बताइएको छ ।

सीमामा अलपत्र परेकालाई खाना खुवाएका पेपर, प्लेट, पानीका बोतल, चाउचाउ बिस्कुटलगायतका खोस्टाले भन्सार क्षेत्र छेउछाउ फोहर बढेसँगै सरसफाइ र सेनिटाइज गर्ने काम गरिएको नगर प्रमख वडले बताए ।

उपमहानगरपालिकाले बजारका मुख्य सडक र टोल टोलमा समेत यसअघि औषधि छर्किने काम गरिसकेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ