- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कोरोनाको महामारीले विश्वको शिक्षा क्षेत्रमा ठूलो प्रभाव पारेको छ । महामारीका कारण विद्यालय, महाविद्यालय, विश्वविद्यालयहरु संचालनमा आउन सकेका छैनन् । महामारीका कारण करिव १ सय ७० करोड विद्यार्थीमा प्रभाव परेको अनुमान गरिएको छ । विद्यालय संचालनमा नआउनुको असर विद्यार्थी, शिक्षक र परिवारमा मात्र सिमित नभएर देशको अर्थतन्त्रमा पनि ठूलो वाधा पुर्याएको छ ।
करिव २ सय मुलुक मध्ये दश मुलुकका मात्र विद्यालय संचालनमा आएको अनुसन्धानमा देखिन्छ । नियमित इन्टरनेट मार्फत सामाजीक संजल मार्फत पढ्ने विद्यार्थीहरुको लागि भने कोरोना ठूलो प्रभाव पारेको छैन । विद्यालय संचालनमा ल्याउन नसकिने भएको हुनाले विद्यार्थीहरुको पढाई अनलाईन शिक्षाका रुपमा अघि बढाइएको छ । इन्टरनेटको पहुँच भएको अवस्थामा पढाई तिब्रगतिमा बढेको छ भने पहुँच नभएको अवस्थामा पढाई ठप्प छ ।
अमेरिका जस्तो विकसित मुलुकमा पढाई तिब्र गतिमा बढेको छ भने, नेपाल जस्तो विकास उन्मुख देशमा पढाईको गति मन्द छ । कतिपय विद्यार्थी संगठनले विद्यार्थीका लागि निशुल्क इन्टरनेटको प्रवन्ध गर्न माग पनि गरेका थिए । नेपाल दुरसंचारले सस्तोमा प्याकेज उपलब्ध गराएका छौं भन्ने उत्तर दियो । अमेरिकामा शिक्षालाई हेरिने दृष्टिकोण र हाम्रोमा हेरिने दृष्टिकोणको उदाहरण यो बन्न सक्छ । अतिनै महत्वपूर्ण र भविष्यको लगानी शिक्षा हुँदा हुँदै पनि अहिलेको अवस्थामा सरोकारवाला उदासीन जस्तै बनेको देखिन्छ ।
कोरोनाको महामारीमा सामाजिक संजाल मार्फत पढाई
आजभोलि सामाजिक संजाल मार्फत गणित, विज्ञान, वाणिज्य, दर्शनको पढाई भइरहेको हुन्छ । यसले विद्यार्थीको मस्तिष्कलाई तिक्ष्ण बनाउने काम गरेको छ । वैदिक गणितका सूत्रले गणितको अभ्यासलाई सरल किसिमले सहज बनाउन सक्छ । विज्ञान, वाणिज्यको अध्ययनले विद्यार्थीको सोच र भविष्यको लागि गुणात्मक रुपले मानसिक बृद्धि गर्दछ । दर्शन कठिन र अरुचिको विषय लाग्न सक्छ विद्यार्थीका लागि यसको प्रयोग साधारणतया कठिन संस्कृत शब्दसँग जोड्ने गरिन्छ । तथापि यो विषय त्यस्तो होइन । सामाजिक संजालमा यसलाई सजिलोसँग बुझाउने गरी लेखिएको पाइन्छ ।
हाम्रो शिक्षा कति प्रविधि मैत्री बनाउन सकिन्छ यतिखेर चर्चाको विषय छ । प्रविधिमा आएको प्रगतिले यसलाई सहज बनाए पनि राष्ट्रको सामथ्र्यले यसको संचालनको हैसियत निर्धारण गर्दछ । शहरी क्षेत्रमा यसको व्यापक विस्तार र सहजीकरण भए पनि हाम्रो जस्तो धेरै गाउ भएको देशका लागि यो अझै कठिन र चुनौतीको रुपमा नै छ ।
नेपालको अवस्थामा नीजि विद्यालयहरुले सामाजिक संजाल अनलाईन मार्फत कक्षा संचालन गर्दै आएका छन् । फुर्सदको अवस्थामा रहेर आलस्यता पैदा गर्न भन्दा सामाजिक संजाल मार्फत ज्ञान आर्जन गर्न ठिक हुन्छ । तर सामाजिक संजाल मार्फत आर्जन गरिएको ज्ञान आधिकारीक शिक्षा मान्न मिल्दैन । विकसित शहरको सुविधा सम्पन्न भवनमा रहेर सामाजिक संजालको कक्षामा भाग लिन जसरी सहज हुन्छ, त्यतिनै असहज गाउमा इन्टरनेटको सुविधा प्राप्त गर्न हुन्छ ।
चैत ११ बाट लकडाउन भएका कारण कयौं विद्यार्थी गाउ–घर गएकाले त्यतै परिरहेका छन् । विद्यार्थीहरुसँग इन्टरनेटको उपलब्धता नहुन पनि सक्दछ । विद्यावारिधि(पिएचडी) र स्नातकोत्तर(एमए)का विद्यार्थीसँग इन्टरनेटको सुविधा हुनसक्छ । विद्यावारिधि र स्नातकोत्तरको शिक्षालाई सामाजिक संजाल मार्फत आधिकारीक शिक्षा संचालन गर्न मिल्छ । अतः सामाजिक संजालबाट लिइएको स्नातक(बिए)देखि तलको शिक्षालाई आधिकारीक शिक्षा बनाउन नमिल्ने हुन्छ । यतिखेर सामाजिक संजालबाट संचालन गरिएको शिक्षालाई पुनः विद्यालय संचालनमा आएपछि पढाउनु पर्ने हुन्छ ।
माध्यमिक तहमा कोरोनाको प्रभाव
वर्ष पछिको मिहिनेत र लगनको परिक्षा दिन तयार भएका विद्यार्थी परिक्षा अवधि पछाडि सर्दा केही विद्यार्थीहरुमा निरासा भयो होला । एक–दुई हप्ता तयारी अवधी थपिदा हर्षको अनुभूति थियो । अहिले त्यो अवधि लम्बिएर २ महिना कटेकाले हर्षको भावना निराशामा परिणत हुदै आएको छ । विद्यार्थीहरुको योजना परिक्षा पछि घुमफिर पनि हो । यस घुमफिर सन्दर्भ अहिलेको समयमा सानो देखिन्छ । तर यस योजनाले समयमा पूर्णता नपाएकाले विद्यार्थीमा थप नैरास्यता बढाएको छ । परिक्षाको मिति नपाएकाले विद्यार्थीमा पाढ्यपुस्तक पढ्ने जागर विलाप हुने क्रम जारी छ ।
एसईई र एघार कक्षाको परिक्षा खारेज गर्ने र स्कुलको परिक्षा जस्तै बनाउने हल्ला सामाजिक संजालमा आइरहेको छ । नीति र न्यायको दायराबाट परिक्षा खारेज गर्दा शिक्षा क्षेत्रमा ठूलो असर नपरे पनि विद्यार्थीको मस्तिष्कमा भने ठूलो असर पर्छ । एक वर्षको पूर्ण तयारी पछि अचानक परिक्षा खारेज हुँदा विद्यार्थीको मानसिकतामा ठूलो क्षतीका साथै देशको व्यवस्थापन प्रणालीमा पनि विश्वास टुट्छ ।
लकडाउनको यत्रो लामो समयसम्म परिक्षाको प्रतिक्षा गर्दा परिक्षाको फल नमिठो भयो भने मनमा ठेस लाग्न समय लाग्दैन । नीति र न्यायका कारणले अन्यौलनमा परेका विद्यार्थीलाई आलस्यताका साथै मानसिक तनाव पनि उत्पन्न हुनसक्छ । विद्यार्थी घरमा नै बसे पनि उनीहरु मानसिक दवावमा निरन्तर छन् । परिक्षा कहिले, कसरी हुने हो ! त्यो परिक्षाको परिणाम कस्तो आउने हो ! आफ्नो अध्ययन कस्तो भइरहेको छ ! आफै भित्र थुप्रो प्रश्न लिएर विद्यार्थी घरमा थुनिएका छन् ।
उच्चमाध्यमिक तह उर्तिण गरे पश्चात अन्तराष्ट्रिय शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीको संख्या पर्याप्त मात्रामा छ । बेलायत, फ्रान्स जस्ता मुलुकहरुमा विद्यालय स्वयंमले नतिजा प्रकाशन गर्ने भनेका छन् । ति मुलुकहरुले स्नातक तहको पढाई प्रारम्भ गर्नाले अन्तराष्ट्रिय शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई ठूलो मर्का पर्ने सम्भावना देखिदै छ । लकडाउन खुले लगत्तै अन्तराष्ट्रिय परिक्षा प्रारम्भ हुनसक्छ । परिक्षा प्रारम्भ हुनाले तयारी कक्षाको लागि समय नपाईने अवस्था बन्दैछ ।
संक्रमणको समयमा अभिभावक र विद्यार्थीको दायित्व
नेपाली भाषामा एउटा थेगो छ, नौ दिनमा नौलो, बीस दिनमा बिर्स्यो, तीस दिनमा तर्स्यो, अर्थात नौ दिनसम्म पुस्तक पढेन भने नौलो लाग्ने, बीस दिनसम्म पढेन भने बिर्सने र तीस दिनसम्म पढेन भने तर्सने यस थेगोलाई मनन् गर्दै पढाईबाट पर नसरेर दैनिक रुपमा केही समय पढाईलाई दिन आवश्यक छ । लकडाउनको यत्रो लामो समय पश्चात हुने परिक्षाबाट नतिजा सन्तोषजनक भएन भने मानसिक नैरास्यता पैदा हुन्छ । यस नैरास्यताले व्यक्ति विद्यार्थीलाई मात्र प्रभाव पारेको हुदैन । यसले परिवार, समाज र संख्या बढ्दै जादा देशलाई नै असर पार्ने हुन्छ ।
अभिभावक र मान्यजनहरुको यस संकटमा ठूलो सहयोगको आवश्यकता पर्दछ । आफ्नो सन्ततिको मनोभावना बुझ्ने, अभिभावकले हौसला र प्रेरणा दिएर सृजनात्मक क्रियातर्फ विद्यार्थीलाई अघि बढाउन सक्छन् । घरमा एक्लै नबसेर सामुहिक रुपमा बस्ने, अध्ययनका कुरा गर्ने, सीप अभिवृद्धि हुने किसिमका वार्तालाप गर्ने, रुची बुझेर त्यसतर्फ सामुहिक प्रयत्न गर्ने गर्नुपर्दछ ।
योग र व्यायाम विद्यार्थीलाई अभिभावकले सिकाउनु पर्ने एउटा मूल विषय हो । योगले मस्तिस्कलाई एकत्रित गर्न मद्दत पुर्याउछ भने व्यायामले शारिरीक सुसंगठित बनाउन मद्दत गर्दछ । साथै विद्यार्थीको सोचमा परिवर्तन आउछ । विद्यार्थी जीवनमा ध्यानको पनि महत्व ठूलो छ । नियमित विहान, बेलुका केही समय छुट्याएर ध्यानमा बस्ने गर्नाले विद्यार्थीको पढाई, लेखाइको स्तर बृद्धिको लागि ठूलो अर्थ राख्दछ । ध्यान, योग, व्यायामले हाउभाउमा सकारात्मक परिवर्तन ल्याउछ । यसले पारिवारिक तथा सामाजिक सम्बन्धलाई मजबुत बनाउछ ।
संकटको लामो समयमा आफ्नो लक्ष्यतर्फ एक कदम पनि चालिएन भने जीवनमा आएको ठूलो अवसर गुमाउन पनि सकिन्छ । घरैमा बसेर आध्यात्मीक क्रिया तर्फ अग्रसर हुन पाउनु पनि ठूलो अवसर हो । संगीत, कला, विज्ञान, दर्शन जस्ता विधाहरुमा आफ्नो ज्ञानको भोक जगाउने काम गर्नुपर्दछ । हाम्रो मस्तिकलाई लकडाउनको समयमा बाझो राख्न हुदैन । यो उर्वर समय पनि हो । समयको सदुपयोग गरौं ।
अन्त्यमा, इख विनाको मानिस र बिख विनाको सर्प काम नलाग्ने भने झै ज्ञानको लागि लक्ष्य सहित अग्रसर भइरहनु पर्दछ ।
(शाश्वत “सुन्दर नेपाल” कविता संग्रह र “होस्टल” उपन्यास सार्वजनिक भइसकेका छन् । तक्षशिला एकेडमीमा १२ कक्षामा पढ्छन्।)