arrow

कतारमा कोरोना जितेका नेपालीको अनुभव, कोरोना भन्दा अतिरन्जित हल्ला गर्नेहरु खतरनाक

थर्मल गनको कामै छैन कोरोनाको लागि चाइनाको व्यापार मात्र हो

logo
सुबास निरौला,
प्रकाशित २०७७ जेठ १७ शनिबार
subash-qatar.jpg

सबैजनामा नमस्कार। आज म १८ दिनको क्वारेन्टिन बसाइ पछि कोरोनालाई पुर्णरुपमा बिदा गरी आफ्नै कम्पनीको रुममा फर्किएको छु । धेरै हल्ला थोरै यथार्थको रुपमा मैले कोरोनालाई लिएको छु। कोरोनाकोबारेमा धेरै हल्ला चले, समाचारले अत्याए पनि सोचेजति गाह्रो र खतरनाक होइन रहेछ भन्ने कुरा मेरो अनुभव अन्य कोरोना संक्रमितहरुसगको कुराकानीबाट थाहा भयो।

मैले पहिलो चोटी कोरोना टेस्ट ५ मेको दिन गरेकोमा ६ मेमा रिपोर्ट नेगेटिभ आयो तर ६ मे कै दिन मलाई डिउटीबाट लिएर आउने ड्राइभरलाई ज्वरो आएर हस्पिटल जाँदा उसलाई पोजिटिभ देखियो । त्यसपछी मलाइ पनि हल्का ज्वरो आयो । पहिलोपटक टेस्ट गरेको ४ दिनपछी फेरि टेस्ट गर्दा त्यसको रिपोर्ट पोजिटिभ आएपछी म लगायत ४२ जनालाई क्वारेन्टिनमा जानुपर्यो ।

मैले पहिल्यदेखि आफुलाई कुनै पनि बेला कोरोना लाग्न सक्ला भन्ने थाहा थियो । यदी लागिहाल्यो भने पनि बाच्छु भन्ने लागेको थियो । कोरोना लाग्दैमा उच्च ज्वरो आउने, स्वासप्रस्वासमा समस्या आउने, न्युमोनिया भइहाल्ने नहुन पनि सक्छ । अरु साधारण रुघाखोकी जस्तो कोरोना होइन भन्ने जति पनि समाचार सुचनाहरु हेर्दै गर्दा र यथार्थमा कोरोना संक्रमितहरुसँगको कुराकानीमा त्यो कुरा मेल नखाएको मैले आफै महशुस गरे । आत्मबिश्वास बढाएको कारण मलाई त्यस्तो समस्या आउँदैन भन्नेमा म ढुक्क थिए । सामान्यतया दैनिक शारीरिक कसरत गरिरहने हुँदा मेरो भित्री मनले मलाई कोरोना लागे पनि त्यसलाई जित्छु भन्ने नै भन्ने बिश्वास थियो । दीर्घरोग लागेकाहरु त जातिभइरहेको खवर आइरहदाँ म कोरोनालाई सजिलै जित्छु भन्ने लागिरहन्थो । मेरो आफन्त र जन्मघर इलाम सम्झिदाँ चाँही अलिअलि डर लाग्थ्यो।

कोरोनाले कसैको पनि ज्यान नजाने तर कोरोना भन्दा खतरनाक चाँही कोरोनाको बारेमा अतिरन्जित हल्ला फिजाउनेहरु हुन्। उनीहरुले समाजमा मानसिक डर फैलाएका छन् । आवश्यक सर्तकता अपनाउनु जरुरी भए पनि यस्ता हल्लाहरुले भने अनावश्यक डर पैदा गराएको छ । सतर्कताको नाममा हुने यस्ता हल्लाहरुले कोरोना लाग्नुभन्दा अगाडि नै आत्मबललाइ कमजोर बनाएर कोरोना लागिसक्दा शारीरिक र मानसिक दुर्बल हुने अवस्था सृजना गर्न सक्छ । यस्ता हल्लाहरुले धेरै नै सताउने गरेको छ । स्वस्थकर खानपान, सन्तुलित जीवनशैली, नियमित ब्यायाम, सकारात्मक सोच नै कोरोनाबाट चाँडै मुक्त हुने अचुक उपायहरु हुन भन्ने लागेको छ । कैयौं उच्च- रक्तचाप, मुटुको रोग, दम, किड्नीमा समस्या भएकाहरु पनि मसँगै कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएको देखे ।

कोरोना संक्रमण सबैलाई हुनसक्छ किनभने हामी कोही पनि कोरोना नलाग्ने गरी गर्भ मै स्क्यान गरेर जन्मिएका होइनौं तर थोरै मात्र आत्मबल बढाउने, आफ्नो दैनिकीमा पसिना निकाल्ने गरि ब्यायामको तालिकालाई समाबेश गराउने, समयमा सुत्ने-उठ्ने, शरीरलाई आवस्यक पर्ने खानेकुरा खाने, रोगप्रतिरोधात्मक क्षमता बढाउने चीजहरु मिलाएर खाने गर्ने हो भने कोरोना लागे पनि चाडै निको हुन सकिन्छ भन्ने मेरो अनुभव छ । उपचारै नगरी निको हुने रोग कोरोना बाहेक अर्को सायदै छैन होला ।

समग्रमा मेरो क्वारेन्टिन बसाइ कतार सरकारको ब्यबस्थापनले गर्दा अत्यन्तै सहज भयो । त्यसको लागि कतार सरकारको जनस्वास्थ्य मन्त्रालयलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । मैले काम गर्ने कम्पनीमा पनि करीब २३५ जना संक्रमित मध्ये ५० जना जति नेपालीहरु संक्रमित भएका र ती मध्ये ७ जना बाहेक सबै जना पूर्ण रुपमा निको भएर फर्किसकेका छन । क्वारेन्टीनमा हुनेहरुको पनि स्वास्थ्य अवस्था सामान्य भएकोले यो हप्ता भित्र सबैलाई डिस्चार्ज हुने बताइएको छ।

मलाई असहज परिस्थितिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने मेरा साथीभाईहरुलाइ धेरै धेरै धन्यवाद टक्रयाउँछु । मैले घरपरिवारमा र कतिपय साथीभाइहरुमा तनाव नहोस भनेर मलाई पोजेटिभ हुँदा पनि नभनेर अलिकति गल्ती पनि गरेको जस्तो लागेको छ, त्यसको लागि क्षमा चाहान्छु।

मेरो अनुभवमा कोरोना भाइरसले मान्छे पिच्छेको फरक व्यवहार गर्ने भएको हुँदा मलाइ जस्तै अनुभव सबैलाई हुन्छ भन्ने त छैन तर पनि यदि तपाईं मध्ये कसैलाई कोरोना लागिहाल्यो भने बुझ्नुहोला कोरोना दवाइ खाँदा दुई हप्तामा र दवाइ नखाँदा १५ दिन भित्रमा निको हुने रोग हो । हल्ला गरे जति खतरनाक हुदै होइन । पहिला पहिलाको रिलवाला क्यामेराको नेगेटिभ धुलाएर निकालेको फोटो जस्तै हो यो भाइरस सुरुमा धुलाएको क्लियर राम्रो हुन्छ तर पछि पछि धुलाएको मधुरो मधुरो हुँदै जान्छ त्यस्तै भैसक्यो अव कोरोना पनि । फोटोकपीबाट फोटोकपी गरे जस्तै पहिलाको जस्तो सामर्थ्य छैन अबको कोरोनामा । त्यसैगरी मानिसहरुमा पनि रोगप्रतिरोधात्मक क्षमता बढेको कारण सजिलै निको हुने देखिन्छ । तर बाहिर हिड्दा भने सर्तकत्ता अपनाउनु सबैसग अनुरोध गर्दछु ।

यद्यपि मास्क लाउन नछोड्नुहोला, साबुनपानीले हात धुन नछोड्नुहोला, सेनिटाइजर साबुनपानी भएन भने मात्र प्रयोग गर्ने चीज हो नभै नहुने चीज होइन । त्यो थर्मल गनको कामै छैन कोरोनाको लागि चाइनाको व्यापार मात्र हो । म पनि कोरोना संक्रमित थिए अनि अहिले मुक्त छु । सर्ताकता अपनाउ तर धेरै नडराउ । मजस्तै सहजै निको हुन सकिन्छ ।

(निरौला माइजोगमाइ गाउापालिका ५, सोयाङ्ग इलामका वासिन्दा हुन । उनी हाल हेमाया सेक्युरिटी कम्पनी दोहा कतारमा कार्यरत छन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ