arrow

भारतमा कोरोना संक्रमणले फेरि नयाँ रेकर्ड बनायो, लकडाउनमा कडाइ भन्दा खुकुलो पो ? 

संक्रमित १ लाख ८१ हजार ८२७ पुगे, मृतक ५ हजार १८५ पुगे

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
corona-india6.JPG

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार बिहान २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेका छन् । 

संक्रमित ८ हजार ३३२ जना फेला परेका हुन् । यसअघि शनिबार बिहान ८ हजार १०५ जना थपिएका थिए । यो अहिलेसम्मकै बढी हो । 

त्यस्तै मृतक शनिबार सबैभन्दा बढी २६९ जना बढेका थिए । त्यो संख्या पनि अहिलेसम्मकै बढी हो । आइतबार मृतक भने २०५ जना पुगेका छन् । 

संक्रमित अहिलेसम्म १ लाख ८१ हजार ८२७ पुगेका छन् । ८६ हजार ९३६ लाई निको भएको छ । २४ घण्टामा ४ हजार ३०३ लाई निको भएको छ । 

सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ९४० जना संक्रमित बढ्दा ६५ हजार १६८ पुगेका छन् । त्यस्तै मृतक ९९ बढेर २ हजार १९७ पुगेका छन् । 

तमिलनाडुमा २१ हजार १८४ जना संक्रमित हुँदा मृतक १६३, दिल्लीमा १८ हजार ५४९ संक्रमित हुँदा मृतक ४१६, गुजरातमा १६ हजार ३५६ जना संक्रमित हुँदा १ हजार ७ मृतक भएका छन् । 

संक्रमित बढ्दा लकडाउन खुकुलो 
यसैबीच भारतमा सोमबारबाट लकडाउनमा परिवर्तन गरि अनलक शुरु गर्ने भएको छ। भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।

अनलक १ जुन १ देखि ३० सम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।

दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ । 

कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

भारतमा लकडाउन खुलेपनि नेपालमा जेठभर लकडाउन कायमै राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ