arrow

क्वारेन्टाईनका नाममा तरकारी फलाउने ग्रीनहाउसमा भेडा बाख्रा झै

'कोरोनाले भन्दा चीसो र भोकले पो मरिन्छकी'

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ १८ आइतबार
plastic-quarentain-mugu.gif

मुगु। आफना गाँउपालिकाका स्थानियलाई उद्धार गरी घर ल्याउँदा कोरोना भाईरस संक्रमण हुन सक्ने भन्दै बसेकै स्थानमा राहत उपलब्ध गराई उदारणीय काम गरेको खत्याड गाँउपालिकाले पछिल्लो समय भारतबाट आएका नागरिकलाई ग्रीनहाउस तरकारी खेतीमा प्रयोग गर्ने प्लास्टिकको पालको क्वारेन्टाईन बनाई पशु चौपाया राख्ने पाटन क्षेत्रमा राखेपछि भने गाउँपालिका नेतृत्वको आलोचना हुन थालेको छ । 

खत्याड गाँउपालिकाले भारत तथा अन्य स्थानबाट आएका खत्याडबासीलाई क्वारेन्टाईनमा राख्नका लागी गाँउपालिकाले १० स्थानमा क्वारेन्टाईन स्थापना गरेको छ । १० स्थानका क्वारेन्टाईन मध्य सोही गाँउपालिका ५ हलेखाडा र छोटेमा स्थापना गरिएको क्वारेन्टाईन बर्षायाममा भेडा बाख्रा राख्ने पाटन क्षेत्रमा पर्दछन ।क्वारेन्टाईनको नाममा प्लास्टीकको छाप्रोमुनी पाटनमा भेडा बाख्रा झै बस्नु परेको क्वारेन्टाईनमा बसेकाहरुले बताएका हुन।

समुन्द्री सतहबाट अन्दाजी २ हजार ६ सय मिटर उचाईमा रहेको हलेखाडा र छोटेमा स्थापना गरिएका क्वारेन्टाईनहरु तरकारी खेतीका लागी प्रयोग गरिने प्लास्टीकले निमार्ण गरिएका छन्। प्लाष्टीक पालमुनी हलेखाडामा ४८ र छोटेमा १ सय १९ जनालाई राखिएको छ । 

एक प्लास्टीकको पालमुनि २० देखि २५ जना भारतबाट फर्केका खत्याडबासीलाई राखिएको छ । पाटन क्षेत्रको भुभागमा आकासमा बादल देखिने बित्तिकै पानी परिहाल्छ । क्वारेन्टाईनमा बसेकाहरुले आगो ताप्नका लागि जङ्गलबाट दाउरा समेत ल्याउन नदिएको गुनासो गरेका छन्। ति प्लाष्टिकको छाप्रोको क्वारिन्टाईनमा दुधे बालबालिका समेत छन्।

भारतको नैनितलबाट फर्किएका खत्याड गाँउपालिका ३ का रविन बानियाँ भन्छन्, " चिसो भुईमाथी सुत्नु पर्दा कोरोनाको सक्रमण भन्दा चिसोले ज्यान जाने खतरा छ। हेल्प डेक्सको ब्यवस्था छैन। क्वारेन्टाईनमा बसेदेखि कसैको पनि तापक्रम नापिएको छैन । आरडिटी र पीसीआर परिक्षण समेत कहिले हुने हो कुनै जानकारी छैन। शौचालय र खानेपानीको झन समस्या छ । सरसफाईका सामग्री कुनै उपल्बध गराएको छैन। बिहान बेलुका एक छाक भात खान पाईएको छ। पशु चौपाई त गोठमा राखिन्छ पाटन क्षेत्रको चिसो खुल्ला आकासमुनी हामीहरुलाई प्लास्टिकको पालमुनी राखिएको छ। पशु चौपाया भन्दा तल्लो ब्यवहार गरिएको छ। "

क्वारेन्टाईनमा चाहिने आबश्यक सरसफाईका सामग्री केही उपल्बध भएको छैन। सबैभन्दा खानेपानीको समस्या छ। क्वारेन्टाईन ब्यवस्थापनको जिम्मा पाएका युवाहरुलाई समेत मास्क, सेनिटाईजर लगाएत अन्य सामग्री नपाउदा ब्यवस्थापनको जिम्मा लिएका युवाहरु समेत जोखिम मोलेर क्वारेन्टाईनमा बसेकाहरुको ब्यवस्थापन गर्नु परेको हलेखाडा ब्यवस्थापन समितिका संयोजक कल बहादुर रोकाया बताउँछन्।

गाउँपालिकाले हलेखाडा, छोटे झुगला लगाएत अन्य सात स्थान गरी १० स्थानमा क्वारेन्टाईन स्थापना गरेको छ ।  कोरोना रोकथाम तथा नियन्त्रणकालागि जिल्ला बाहिर रहेका कुनैपनि नागरिकलाई गाँउपालिका भित्र नभित्राउन बसेकै स्थानमा राहत उपलब्ध गराई सकेको थियो । अध्ययन, रोजगारी तथा अन्य काममा नेपाल भित्रै रहेकाहरु आ आफनै स्थानमा बसेका छन ।

खत्याड गाँउपालिकाका उपाध्यक्ष जयनन्दा रावल भन्छिन, "पछिल्लो समय भारतबाट घर फर्किनेहरुको संख्या धेरै भएकाले क्वारेन्टाईनमा ब्यस्थापन गर्न गाह्रो भएको छ। सबैभन्दा बढी भारतबाट आउनेहरुका कारण समस्या भएको छ। भारतबाट आउनेहरुका लागी झुगला, हलेखाडा,छोटेमा क्वारेन्टाईनको ब्यवस्थापन गरिएको छ। क्वारेन्टाईनको ब्यवस्थाको बारे बुझ्न आफु सहित केही टोली आईतबारै छोटेतिर जान लागेका छौ।"

प्लाष्टिक क्वारेन्टाईनमा बस्नेहरु भन्छन्, "रोग भन्दा पनि यहाँ चिसोमा सरसफाई नभएर भाकै मरिने होकी भन्ने डरको अवस्था छ। पाल भित्र भेडा बाख्रा राखेजस्तै राखिएको छ। बसेका मध्य कसैमा कोरोना भए हामी सबैमा सरिसक्यो होला ।"

कोरोना भाईरस सम्वन्धि क्वारेन्टाईन संचालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले क्वारेन्टाईनमा बस्नेहरुका लागि न्यूनतम सरसफाईका सामग्री, शौचालय, खानेपानी, सामाजिक दुरी कायम गरि सुत्न, बस्ने व्यवस्था, खाना, नास्ता सहित मनोरन्जन र शारिरिक व्यायाम गर्ने व्यवस्था सहितको मापदण्ड तोकेपनि जिल्लाका चार वटै स्थानिय सरकारले स्थापना गरेका क्वारेन्टाईन सो अनुसारका छैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ