arrow

बजेट बारे संसदमा कसले के भने ?

logo
प्रकाशित २०७७ जेठ १८ आइतबार
budget-parliament.jpg


काठमाडौं । सांसद दुर्गा पौडेलले कोभिड–१९ को महामारी नियन्त्रण गर्न सरकारको तयारी अपुग देखिएको हुँदा प्रकोप रोकथाम गर्न विनियोजन बजेट अपुग भएको बताइन् । उनले सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका कामदारलाई तत्काल प्राथमिकताका आधारमा स्वदेश फर्काउन आदेश दिइसकेको अवस्थामा ती नागरिकलाई उद्धार गर्ने विषयमा बजेटले सम्बोधन गर्न सकेको छैन भनिन् ।  

सांसद प्रेम सुवालले बजेटले समाजवादको आधार सिर्जना गर्न नसक्ने बताए । भूकम्पछिको पुनःनिर्माण, विकास निर्माणलाई मूर्तरुप दिन बजेटले कुनै आधार पेश नगरेको, ऋण र अनुदारको भरमा बजेट ल्याएर सरकारले गलत गरेको उनले उल्लेख गरे । 

सांसद पम्फा भुसालले बजेट तथा नीति कार्यक्रममा देखिएका कमजोरी हटाएर सकारात्मक कुरालाई समेट्न सरकारको ध्यानाकर्षण गराइन् । आकारमा गतवर्षको भन्दा केही सानो भए पनि बजेट यथार्थ परक भएको उनले टिप्पणी गरिन् । 

सांसद डा मीनेन्द्र रिजालले कोरोनाले सिथिल बनेको अर्थतन्त्रलाई उकास्ने गरी बजेट आउन नसकेको आरोप लगाए  । स्थानीय तहलाई दिइने सशर्त अनुदानबाहेक अन्य बजेट घटेको हुँदा उनले बजेट घटाएर सङ्घीयता बलियो हुँदैन भने । स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको बजेटले कोरोनाले पारेको स्वास्थ्य सङ्कट टार्न नसक्ने र जनताको स्वास्थ्य सुरक्षा गर्न यथेष्ट बजेट विनियोजन गर्न आग्रह उनले गरे । 

सांसद मातृकाप्रसाद यादवले समयमै पूँजीगत खर्च हुन नसक्दा जनताले लाभ लिन नसकेको हुँदा पूँजीवादमा आधारित उत्पादन सम्बन्धलाई अन्त्य गर्नुपर्छ भने । सत्ता पक्षले बजेटको समर्थन गर्ने र विपक्षीले विरोधमात्र गर्ने प्रवृत्तिले निकास दिन नसक्ने र बजेटका बारेमा स्वतन्त्र ढङ्गले छलफल गर्न उनले आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ