arrow

२ हप्ता क्वारेन्टाइनमा राखेर पनि स्वास्थ्य जाँचबिनै घर पठाइयो

logo
गोविन्द बीसी,
प्रकाशित २०७७ जेठ १९ सोमबार
bardagoriya-gaupalika.gif

बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिकाले क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य जाँचबिनै धमाधम घर पठाएको छ । नेपालको पूर्वी जिल्लाका विभिन्न स्थानबाट काम गरि घर फर्किएका उनीहरूलाई दुई सातासम्म क्वारेन्टाइनमा राखेर घर पठाइएको हो ।

कोरोना भाइरसको संक्रमण भए/नभएकोबारे पत्ता लगाउन आवश्यक पर्ने र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किट नभएपछि परीक्षण नगरि पठाइएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाको वडा नम्बर–१ स्थित महुन्याल मावि बाँस्कोटीमा राखिएका १३ जना, बसन्त मुरारी मावि बौनियाबाट १४ जना, वडा नम्बर–३ को जगदम्बिके भगवती मावि क्वारेन्टाइनबाट ११ जना, वडा नम्बर ४ माध्यमिक विद्यालय कोटातुल्सिपुरबाट १२ जना गरि सोमबार मात्रै ५० जनालाई घर पठाइएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले स्थानीय तहमा स्वास्थ्य चेकजाँचका लागि आवश्यक आरडीटी किटको अभाव भएकाले उनीहरूलाई समुदाय, गाउँ/टोलमा नै गएर पछि स्वास्थ्य परीक्षण गर्ने शर्तमा छोडिएको बताए । उनले भने, ‘ उहाँहरु नेपालका विभिन्न जिल्लाबाट आएको हुनुहुन्छ । उहाँहरु आएको ठाँउ त्यति जोखिमपूर्ण नभएकाले भोलि केही परे स्वास्थ्य चेकजाँच गर्ने शर्तमा छोड्यौँ ।’ उनले क्वारेन्टाइनमा राखिएकाको सम्पर्क विवरण राखेर बोलाएका बेला सम्पर्क राख्न आह्वान गरेर घर पठाइएको बताए ।

सरकारले अहिले पालिकामा आवश्यक संख्यामा आरडीटी किट पठाउन नसक्दा समस्या भएको छ। स्वास्थ्य शाखा प्रमुख जोशीले नेपालबाट फर्केकालाई संक्रमणको सम्भावना कम हुने देखिएकाले घर पठाएको बताए । भारतबाट आएकालाई बढी प्राथमिकता दिएर क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ ।

गाउँपालिका अन्तर्गतका सबै ६ वटै वडाका २१ स्थानमा क्वारेन्टाइन बनाइएको छ । पालिकाको स्वास्थ्य शाखाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपाल र भारतबाट घर फर्केका १८९ महिला र ६८१ पुरुष गरि ८७० जना रहेका छन् । गएको दुईहप्ता यता भारतीय सीमा नाका भएर नेपालीहरू भित्रिन सुरु भएसंगै स्थानीय पालिकाहरुमा क्वारेन्टाइन व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ