arrow

यसरी बढ्यो दैलेखमा कोरोना संक्रमण, रोकथाममा अन्योल

logo
प्रकाशित २०७७ जेठ २१ बुधबार
Dailekh_District.png

दुल्लु । कोरोना रोकथामका लागि लगाइएको लकडाउनको ५६ औं दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता बित्न लाग्दा दैलेखमा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ । 

मंगलबारसम्म संक्रमितको संख्या ९८ पुगेको छ । एक जना संक्रमितको मृत्यु पनि भएको छ । संक्रमण र संक्रमित दिनहुँ बढिरहँदा पनि रोकथाम गर्न कुनै ठोस कदम चालिएको छैन । 

संक्रमित  फेला नपर्दै तयार गरिएका निश्चित आइसोलेशन र लकडाउनको कार्यतालिकामा फेरबदल गरिएको छैन । सदरमुकाममा समय तालिका निर्धारण गरी बजार खुला गरिएको छ भने गाउँका अधिकांश पसल खुलै  छन् । जिल्लाका प्रत्येक विद्यालयलाई क्वारेन्टिन बनाइए पनि ती न मापदण्ड अनुसारका छन्  न त नियमको पालना नै गरेका छन् ।  

कोरोना संक्रमितको संख्या दिनहुँ थपिँदै जाँदा पनि रोकथामका उपाय अवलम्बन नगरिँदा जिल्ला नै कोरोनाको उर्वरभूमि हुन लागेको नेपाल बार एशोसियशन दैलेखका अध्यक्ष माधव अधिकारीले चिन्ता व्यक्त गरे । 

उनले भने, ‘‘संक्रमितको संख्या दिनहुँ बढेर सयौंँ पुग्दा पनि यसरी लापरबाही गर्नु सबै जिल्लाबासीलाई कोरोना संक्रमित गराउने मेसो हो, पहिलेकै जस्तै लकडाउन खुकुलो गरिनु र उपचारको व्यवस्थापन नगर्नुले झन् जटिल बन्दै गएको छ ।’’

सदरमुकाममा लकडाउन कडाइ नगर्दा क्वारेन्टिनमा आफन्त भेटघाट गर्न घुइँचो लाग्ने गरेको र  मापदण्ड विपरीत सामाजिक दूरी कायम नगरी आवाश्यकभन्दा धेरै जनालाई राख्दा क्वारेन्टिन नै कोरोना फैलिने थलो हुन सक्ने दैलेखका पत्रकार गोविन्द केसी बताउँछन् । 
 
सबैले नियम पालना गरी सावधानी अपनाएमा बढ्दै गएको कोरोना न्यूनीकरण गर्न सकिने जिल्ला अस्पताल दैलेखका प्रमुख डा निराजन पन्तले बताए ।

जिल्लामा जम्मा ३४ आइसोलेशन कक्ष छन् ।  डा पन्तले भने, ‘‘ क्वारेन्टिनलाई नै  आइसोलेशनमा परिणत गरी बिरामीको उपचार गरिने योजना छ, यो नगरी अरु उपाय नभएकाले गलत बुझाइ नगरे सहजै उपचार गर्न सकिने  छ  ।” जिल्लामा कोरोना संक्रमणको संख्या बढेर गएको हुँदा लकडाउन कडा बनाइने र जिल्ला नै बन्द गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

पछिल्लो समय जिल्लामा ५ हजार ४४३  भारतबाट आएका व्यक्ति क्वारेन्टाइनमा छन् । भारतबाट जिल्लामा  ४१ हजारभन्दा बढी फर्किन सक्ने अनुमान गरिएको छ । 

संक्रमितको संख्या सय पुग्न लाग्दा पनि उपचारका लागि जिल्लामा जम्मा ३४ आइसोलेशन मात्र छन् । भारतबाट फर्केका करीब छ हजार क्वारेन्टाइनमा बसेकामध्ये  एक हजार सात सय जनाको मात्र परीक्षण गरिएको छ । 

परीक्षणका लागि पर्याप्त किट नहुँदा कोरोना पोजेटिभ भएका  र अन्य सँगै बस्न बाध्य भएको प्रजिअ कट्टेलको भनाइ छ । तीन दिनसम्म पनि पुष्टि भएकालाई  नारायण क्याम्पसको क्वारेन्टिनबाट अलग नगर्दा अन्य व्यक्ति निकै त्रासमा रहेको क्वारेन्टाइनमा बसेकाहरुको गुनासो छ ।

नारायण क्याम्पसको कोठामा राखिएकामध्ये करीब ५० व्यक्ति ढोका फोडेर  प्राङ्गण बाहिर निस्केका थिए । उनीहरू भागेको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको थप टोली पुगेर नियन्त्रणमा लिएको थियो । 

प्रहरीले भागेकाहरुलाई पुन क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन दिनदेखि कोरोना पुष्टि भएका १७ जनालाई भने सोमबार साँझ आइसोलेशनमा लगिएको  छ । 

रोकथाममा जनप्रतनिधि 
कर्णाली प्रदेशसभामा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने अम्मरबहादुर थापा र सुशील थापाले आइसोलेशन वार्डसहितको अस्पताल निर्माण गर्ने घोषणा गरेका छन् । सदस्य अम्मरबहादुरले क्षेत्र नं१ को दैलेख सदरमुकाम र सुशीलले क्षेत्र नं २ को दुल्लुमा अस्पताल निर्माण गर्ने तयारी गरेका हुन् । 

प्रदेश सांसद विकास कोष (क्षेत्र विकास पूर्वाधार कोष) अन्तर्गत दुवै जनाबाट रु  ७०–७० लाख  विनियोजन गरी अस्पताल निर्माण गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले एक हप्ताभित्र पिसिआर  मेशिन जडान गरिने आश्वासन दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ