arrow

राष्ट्रपतिलाई गलैंचा, मन्त्रीहरुलाई जीमखाना, कोरोना पिडितलाई भैंसीगोठ

logo
सुदन कुमार ओली,
प्रकाशित २०७७ जेठ २१ बुधबार
sudan-kumar-oli.gif

यो साता छापामा जबर्जस्त दुई समाचारहरु निस्किए । पहिलो रु १ करोड ८४ लाखमा राष्ट्रपति कार्यालयमा नयाँ कार्पेट र मर्मतस्भार भइरहेको र दोस्रो पुल्चोकस्थित मन्त्री निवासमा आधुनिक सुविधासम्पन्न जिमहलको निर्माणको लागि रु ८२ लाखको सुचना। राष्ट्रको इज्जत जोडिएको राष्ट्रपति भवन र जनताको इज्जत जोडिएको मन्त्रीको इज्जतको सम्मान त गर्नै पर्यो । त्यसका लागि रकम विनियोजन गर्ने सरकारलाई धन्यबाद । 

सानो हुँदा म हजुरबासँग बस्थ्येँ । ६/७ वर्षको हुँदा मेरो हजुर बुवाको स्वर्गवास भयो । त्यो बेला मेरो कोमल मानसपटलमा एउटा छाप बडो गज्जब तरिकाले बसेको थियो । अहिले पनि मेरो हजुरबाले त्यतिबेला भन्नु भएको कुरा याद आइरहन्छ । उहाँ भन्नुहुन्थ्यो हामीले जहिले पनि खाने वेलामा पहिला मालिकलाई खुवाउनु पर्छ अनि मात्र हामीले खानु पर्छ । तर मैले सोध्थे हाम्रो मालिक को हो ? जवाफमा भन्नु हुन्थ्यो । हाम्रो मालिक देवता हुन । हामीले अलिकति भएपनि पहिले देवतालाई चढाएरमात्र खानु पर्छ । त्यसैले सधै मेरो हजुरबाले खानुभन्दा पहिले सानो कचौरामा खाना राखेर छेउमा राख्नु हुन्थ्यो र त्यो खाना घर बाहिर राखेपछि कहिले चराचुरुङगिले खान्थे त कहिले कुकुर, विरालोले खान्थे।

हाम्रा नेताहरुले जनता जनार्दन (देवता) भन्ने गर्छन कहिले काँहि। उनीहरु भन्छन हामी जनताका नोकर हौं। गज्जव हो । उनीहरुको यो सदासयता र जनताप्रतिको इमान्दारीता यो शब्दमा मज्जाको चुट्किला झै लाग्छ । आजभोलि पनि कता कता हाम्रा मन्त्रीहरु र प्रधानमन्त्रीज्यूले पनि यो शब्दको झुक्किएर प्रयोग गर्नु हुन्छ । मलाइ लाग्छ यो शब्दको प्रयोग पछि सायद वेलुका सुत्ने वेलामा सुनपानीले छर्किनु हुन्छ होला । 

अहिले कोरना भाइरसको विश्व महामारीले लाखौं लाखलाई सङ्क्रमण भएको छ भने करिब ४ लाख मान्छेको मृत्यु भइसकेको छ । नेपालमा पनि २ हजार नाघिसके। मृतकको संख्या दर्जन पुग्न थालिसक्यो।

नेपालमा कोरनाको प्रभाव बढि रहेको छ । विश्वभरिमा छरिएर रहेका नेपालीहरुमा आफ्नो घर फर्किन आतुर छन् । उनीहरुको लागि बन्दाबन्दीको पुर्वाधारहरु बनाउने स्रोत छैन । राहतकोषमा करिब ३ अर्व रुपैयाँ त छ तर समयमा खर्च गरिएको छैन। बरु सरकारको बजेटमा लेखेकै छ स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास र विस्तारमा ९० अर्वको विनियोजन । त्यसैबाट बनाउँला । अहिलेलाई विदेशबाट आएका जनतालाई भैसी गोठ, छाउ गोठ, सरकारी विद्यालयमा राखौं । त्यहाँ पनि नअटेमा पहरामा राखौं तर पैसा त खर्च गर्नुहुँदैन भविष्यमा महामारी आउँन सक्छ । 

अहिले राजश्व कम उठेको छ । त्यसैले महलमा नयाँ कार्पेटमात्र फेरौँ । जिमहलमात्र बनाऔँ । पानीजहाज नभएको कार्यालयलाई २ करोडको गाडी मात्र किनौं । सरकारी स्कुललाई बन्दाबन्दिगृह बनाएर निजी स्कुलमात्र खोलौं । नीजि अस्पताललाई अनुदान दिएर सरकारी अस्पतालमात्र चलाऔं। चकलेटमा मात्र कर घटाउँ कृषि र विद्युतीय साधनमा कर थपौं र विद्युतमा आत्मनिर्भर बनौं। 

हामी जनताका शासक होइनौं नोकर हो । जनता हाम्रा देवता हुन । त्यसैले त हामी उनीहरुको जीवनको सुरक्षाको लागि भारतबाट तरकारी मगाउँछौँ र नेपालको लोकल तरकारीमा कोरना हुनसक्छ भनेर खाल्डोमा नष्ट गर्छौं। उनिहरु हाम्रा मालिक हुन त्यसैले पहिले उनिहरुले खानु पर्छ र अनि हामीले । अहिले ठ्याक्क त्यै भएको जुन मेरो हजुर बुवाले गर्नु हुन्थ्यो । थोरै सानो कचौरामा राखेर छुट्याइदिने र आफु चाहि एक थाल खाने । मेरा हजुर बा क्या बाठा है अहिलेका नोकरहरु भन्दा पनि ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ