arrow

मेरो पुस्ताले यो सबै देख्न पायो

logo
रामकृष्ण पुडासैनी, 
प्रकाशित २०७७ जेठ २२ बिहिबार
ramkrishna-pudasainee.jpg

छयालीस साल ताका सानै थिएँ, 
राति राति आयो आयो भनी कराउँथे, 
बिहान गाउँका बहुदलवादी नेता गायब हुन्थे । 
बहुदल आयो, दुनियाँकै सबैभन्दा राम्रो संविधान आयो,
मदन भण्डारीका भाषणका चक्का बिक्थे,
किशुनजी जस्ता नेताले चुनाव हार्थे,
बाढी पहिरो आउँदा गिरिजालाई दोष दिन्थे, 
मध्यावधि हुँदा कांग्रेसलाई दोष दिन्थे,
जनयुद्ध हुँदा माओवादीलाई दोष दिन्थे, 
बहुदलको सरकार मध्यावधि गराउंथ्यो,
पंचायती हस्ती पटक पटक सत्तामा पुग्थे,
मेरो पुस्ताले यो सबै देख्न पायो । 

असल नेता सबै रोए, चाक्सीबारीमा गणेशमान रोए, 
मनमोहनले टिचिंग अस्पतालबाट राजिनामा दिंदा रोए,
बाँडेगाउँ जानुअघि नै किशुनजी धेरै  रोए, 
राम्रा नेता थिए, राजनीतिबाट आजित भएर रोए, 
मदन भण्डारीको पालामा त देशै रोयो,
नाम नखुलेको कालो पदार्थ खाइ भटटट गोली हानी,
राजा वीरेन्द्रको वंश नाश भयो, आँशु झरिरहे, 
भक्कानो चाहिँ त्यति खेर फुट्यो जतिबेला,
आर्यघाटको भुइँमा झरीको बाछिटाले  श्रुतिको निधार भिज्यो,
श्रुतिले धेरै बेर कुरिन्, मौसुफलाई जलाउने चितामा 
उनका आफन्त जल्दै थिए, भिज्दै भुइँमा उनको लाशले कुर्नु पर्यो 
मेरो पुस्ताले यो सबै देख्न पायो । 

पंचायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र , गणतन्त्र सबै देखियो,
माओवादी, खाओवादी, कांग्रेस, कम्युनिष्ट, सबै देखियो,
अझै आरएनएसी झर्ने छ भन्ने मिनिबसको खलासी दाइ देख्दा खुशी लाग्छ,
वीरेन्द्र, दिपेन्द्र, ज्ञानेन्द्र राजा देखियो, बाले त महेन्द्र पनि देख्नु भयो,
सिंगो नेपाल थियो, केवल एक राजारानी थिए,
अचेल त राजारानी पनि सयौं छन्,
अठ्चालिस सालमा किशुनजीले देखेको मेलम्चीको सपना,
तीस  बर्ष पुग्दा पनि मेलम्चीको पानी आएन, 
तीस वटै जति सरकारी उद्योग बन्द भैसके, 
अठ्चालीस सालताका कै तिनै तीस वटा जति नेताको हालीमुहाली,
कहिले सरकारमा, कहिले प्रतिपक्षमा 
मेरो पुस्ताले यो सबै देख्न पायो । 

पाएन देख्न त केवल नेपालको प्रगति 
मेरो पुस्ताले  यहि नेपालको  प्रगति चाहिँ देख्न पाएन ।  (म्याड्रिड, स्पेन)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ