arrow

प्रदेशको बजेटमा केन्द्रीत रहि कांग्रेस विशेष समितिको छलफल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २२ बिहिबार
Binod-chaudhary-inf.jpg

काठमाडौं। नेपाली कांग्रेस, लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना विशेष समितिले कोभिड १९ कारण अर्थतन्त्रमा परेको असर र प्रदेशको आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटका उदेश्य र लिनु पर्ने प्राथमिकताका बारेमा एवं आगामी दिनमा देशको लगानी, पूर्वाधार र रोजगारका क्षेत्रमा लिइनु पर्ने नीतिका बारेमा सवै प्रदेशका सांसदहरु र उद्योगी व्यवसायीहरुसँग छलफल गरेको छ। 

छलफल कार्यक्रममा विशेष समितिका संयोजक तथा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले विशेष समितिले कोभिड १९ का कारण समस्यामा परेको अर्थतन्त्रलाई पुनःउत्थान गर्न संघीय सरकार र प्रदेश सरकारले लिनु पर्ने नीति र आगामी आर्थिक बर्षको बजेटमार्फत् सम्बोधन गरिनुपर्ने बिषयमा प्रकाश पारेका थिए। सोही उदेश्यले प्रदेश सभाका सदस्यहरु र उद्योग व्यवसायसँग सम्वन्धित सबै पक्षसँग निरन्तर छलफल आयोजना गरिएको समेत जानकारी दिए । उनले कोभिड १९ का कारण अबका दिन उद्यमी व्यवसायीका लागि सहज नुहने भन्दै त्यसको असर कम गर्न लागि हामी सबैको सामुहिक प्रयास जरुरी भएको वताए । 

कोभिड १९ ले हाम्रो जीवनशैलीमा आउने परिवर्तन, व्यवसाय सञ्चालनमा हामीले सोच्नुपर्ने नविनतम उपायहरु र प्रमुख विपक्षीको रुपमा प्रदेश सभामा कांग्रेस सांसदले खेल्नुपर्ने भूमिका बारेमा चौधरीले विस्तृत चर्चा गरेका थिए।  

कार्यक्रममा विशेष समितिका सहसंयोजक पूर्व मन्त्री दीपक खड्काले यो समितिले उद्योगी व्यवसायी र राजनैतिक नेताहरुको वीच पुलको काम गर्ने वताए । 

कार्यक्रममा विशेष समितिका सहसंयोजक तथा प्रदेश सांसद इन्द्र वानियाले आवतजावतको कठिनाईले व्यापारमा धेरै घाटा भएको र अब व्यवसायीहरुले घाटा सहन नसक्ने वताए । 

कार्यक्रममा समितिका सदस्यहरु अनिल रुंगटा, छत्र गिरी र खगेश्वर वोहोराले विभिन्न प्रदेशको कार्यक्रम संयोजन गर्दै सबैका विचारहरुमा टिप्पणी गरेका थिए । 

कार्यक्रममा संघीय सरकारको २०७७।०७८ को नीति तथा कार्यक्रम, वजेट र आगामी दिनमा मौद्रिक नीतिमा उद्यमी व्यवसायीका चासोका बारेमा समितिका तर्फवाट सबैलाई जानकारी गराईएको थियो । 

कार्यक्रममा सहभागीहरुले आफ्नो प्रदेशमा कोभिड १९ ले पारेको प्रभाव, प्रदेशको आगामी वर्षको बजेटले समेट्नुपर्ने विषय, प्रदेशको मुहार फेर्ने आयोजनाका बारेमा आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए। 

सवैजसो प्रदेशका सहभागीहरुले लामो लकडाउनका कारण कोभिड १९ का कारणले भन्दा अरु रोगले धेरैको ज्यान गएको, आत्महत्याको दर बढेको, सुत्केरी मृत्युदर भयाभह भएको बताएका थिए । यसैगरी लकडाउन बढ्दै गएमा कोभिड १९ ले भन्दा भोकले धेरैको ज्यान जाने चिन्ता सहभागीहरुको थियो ।

प्रदेश १ का सहभागीहरुले उद्योग धन्दा बन्द रहेको, मेची र विराटनगर नाकाबाट निर्वाध नागरिकहरुको आगमन रहेकोले ठुलो जोखिम रहेको कुरा बताए । विराटनगर कोरोडोरमा मात्रै ५ सय उद्योग बन्द हुँदा ९० हजारको रोजगारी जोखिममा रहेको तथ्यांक प्रस्तुत भएको थियो । अब विदेशबाट आउने युवाहरु श्रमिक नभई नेपालमा श्रम गर्न नचाहेर विदेश गएर मालिक वन्न चाहेका नेपाली भएको उल्लेख गर्दै उनीहरुको व्यवस्थापन निकै चुनौतीपूर्ण रहको सहभागीहरुको विचार थियो । 

प्रदेश १ को कार्यक्रममा उद्यमीहरु महेश जाजु, उदय चापागाईं, नरेन्द्र कुमार खड्का, सुबोध कोइराला, अविनास बोहोरा र वीरेन्द्र साहले भाग लिएका थिए भने प्रदेश सभाका सदस्यहरु विन्दिया कार्की, केदार कार्की, ओम प्रकाश सरावगी, शेखर चन्द्र थापा, नवोदिता चौधरी र राजिव कोइरालाले आफ्ना आफ्ना धारणा राखेका थिए । 

प्रदेश २ का सहभागीहरुले प्रदेशको भौतिक पूर्वाधार अत्यन्त नाजुक रहेकछ, सिमानाबाट हजारौंको संख्यामा नेपालीहरुको दैनिक प्रवेश भइरहेको तर उनीहरुको व्यवस्थापन गर्न नसकिएकोले पुरै प्रदेश आतंकित रहेको विचार राखेका थिए। देशमा सबैभन्दा धेरै उद्योग रहेको यो प्रदेशमा सबैभन्दा धेरै समस्या पनि यहीं रहेको उल्लेख गर्दै सहभागीहरुले अबको बजेटले यी समस्या समाधानका उपायहरुका ध्यान दिने आसा व्यक्त गरे।  

प्रदेश २ को कार्यक्रममा कांग्रेस महासमिति सदस्य डा. सुभाष चन्द्र यादव, व्यवसायी अशोक वैद्यले आफ्नो आफना् धारणा व्यक्त गरेका थिए भने प्रदेश सभाका सदस्यहरु शोभा लामा, वीरेन्द्र सिंह, शंकर चौधरी, सुरेन्द्र चौधरी, गीता यादव र राजेश्वर शाह र रामसरोज यादवले प्रदेश सरकारका वजेटका अब हुनुपर्ने प्राथमिकताका बारेमा प्रकाश पारेका थिए।  

वागमती प्रदेशका सहभागीहरुले काठमाण्डौं हेटौंडा सुरुंग मार्गले यो प्रदेश र पुरै देशको मुहार परिवर्तन गर्ने वताउँदै अहिले कामदार र उद्योगलाई उत्पादन र वितरणसँग मात्रै जोडेर नपुग्ने बताए । साना व्यवसाय डुवे ठुला बन्न नसक्ने हुँदा अबको दिन मागमा केन्द्रित हुने र त्यो कठिन हुने उनीहरुको विचार थियो । यो प्रदेशले आगामी बर्ष पूर्वाधारमा धेरै खर्च गर्नुपर्नेमा सहभागीहरुको एकमत थियो । 

वागमती प्रदेशको कार्यक्रममा व्यवसायीहरु लेखराज पोखरेल, अमिर राणा र निर्मला पण्डितले भाग लिएका थिए भने प्रदेश सभाका माननीय सदस्यहरु विजुला वर्मा, छिरिंग दोर्जे लामा, प्रभात तामांग, निमा लामा र राधा घलेले आफ्ना आफ्ना विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा वागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र वानियाँले यो विशेष समितिले उद्यमी व्यापारी, प्रदेश सरकार र मजदुरका समस्या समाधानका लागि कार्य गर्ने वताएका थिए । 

गण्डकी प्रदेशको कार्यक्रमका सहभागीहरुले कोभिड १९ सत्ताधारी पार्टीहरुका लागि अबसर भएको तर उद्योग धन्दाका लागि अभिषाप भएको वताए । पर्यटन उद्योगको मेरुदण्ड यो प्रदेश कोभिड १९ का कारण त्रसित भएको सहभागिहरुको भनाई थियो । 

गण्डकी प्रदेशको कार्यक्रममा व्यवसायी आनन्द राज मुल्मीले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए भने प्रदेश सभाका सदस्यहरु प्रकाश दवाडी, मेखलाल श्रेष्ठ, ओमकला गौतम, विष्णु लामिछाने, मन कुमारी गुरुंग र कृष्ण चन्द्र नेपालीले आफ्ना आफ्ना विचार मार्फत आगामी बजेट मार्फत सरकारले सम्बोधन गर्नुपर्ने विषयका बारेमा बोलेका थिए । 

कार्यक्रममा समितिका सदस्य सूर्य वहादुर केसीले अवका दिनमा नेपाली श्रम वजारमा दक्ष श्रमिकको अभाव हुनेहुँदा त्यसको प्रभाव उत्पादन र लागतमा पर्ने बताए । 

प्रदेश पाँचको कार्यक्रममा सहभागी हुँदै सहभागीहरुले यो प्रदेश देशको खाद्य भण्डार र वुद्धको जन्मभूमी भएकोले कृषि र पर्यटन यसको विकासका आधार हुन् भन्ने विचार व्यक्त गरे। अहिले कोभिड १९ को सबैभन्दा धेरै असर यही प्रदेशमा परेकोले त्यसको असर कम गर्ने नीति आगामी बजेटले लिनुपर्ने यो प्रदेशका सहभागीहरुको रह्यो । 

यो प्रदेशको कार्यक्रममा व्यवसायीहरु गोपाल अधिकारी, सतिस अग्रवाल र खुबरुद्धिन खाँले भाग लिएका थिए भने प्रदेश सभाका सदस्यहरु अष्टभूजा पाठक, निर्मला क्षेत्री, वीरवहादुर राना, सुरेन्द्र हमाल र वीरेन्द्र कनौडियाले आफ्ना विचारहरु व्यक्त गरेका थिए । 

कर्णाली प्रदेशको कार्यक्रमका सहभागीहरुले यातायातको समस्या नै कर्णालीको विकासको अबरोध भएकोमा एक स्वरले वर्णन गरे। महत्वपूर्ण जडिबुटीदेखि लिएर राराताल सम्मको यो क्षेत्रको वजेटले कनेक्टिभिटीमा ध्यान दिनुपर्ने सहभागीहरुको विचार रह्यो । 

यो प्रदेशको कार्यक्रममा व्यवसायी तथा समितिका सदस्य विष्णु वहादुर खड्का र व्यवसायी हर्ष बहादुर खड्काले आफ्ना विचार प्रस्तुत गरेका थिए भने प्रदेश सभाका सदस्य जीवन शाहीले विस्तृतमा प्रदेश विकासको खाका वर्णन गरेका थिए । 

सुदुर पश्चिम प्रदेशको छलफल कार्यक्रमका सहभागीहरुले नेपाल भारत सीमावाट आएका नेपालीहरुको जाँच राम्रो नहुदा कोरोनाको स्थिति भयावह भएको बताए । पचास प्रतिशत जनसंख्या गरिवीको रेखा मुनी रहेको यो प्रदेशमा कोभिड १९ का कारण यो संख्या अझैं बढ्ने हुनाले अबका दिन रोजगारी केन्द्रित कार्यक्रम ल्याउनुको विकल्प नरहेको विचार व्यक्त गरे। 

सुदुर पश्चिम प्रदेशको कार्यक्रममा व्यवसायीहरु माधव भट्ट र कृष्ण राज पाठकले आफ्ना धारणा राखेका थिए भने प्रदेश सभाका सदस्यहरु अम्विका थापा, गोविन्द बोहोरा, नन्दा वम, भरत खड्का र रण वहादुर रावलले कोभिडका कारण उत्पन्न समस्याका बारेमा आफ्नो धारणा राखेका थिए। कार्यक्रममा पर्शुराम नगरपालिकाका मेयर भीम वहादुर साउदले अहिलेको जटिल स्थितिको स्थलगत विवरण वर्णन गरेका थिए। 

विशेष समितिले कार्यक्रमको छलफलमा उठेका सबै विषयहरु समेटेर विस्तृत प्रतिवेदन तयार गर्ने जनाउँदै संयोजक चौधरीले प्रतिवेदनले प्रदेशहरुले आगामी आर्थिक बर्षका लागि ल्याउन लागिएको बजेटमा सम्वन्धित प्रदेशका जनताका समस्या सम्बोधन गर्न मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ