arrow

नेपालमा अन्तर्राष्ट्रिय बिरुवा  स्वास्थ्य वर्षको सान्दर्भिकता

logo
बन्दना भट्टराई,  
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
bandana-bhattarai-krishi-st.jpg

हरेक कलिला पालुवाको आगमन भएपश्चात् अन्न बनेर भित्रनुसम्ममा एक बिरुवाले जसरी आफ्नो जीवन–चक्र सफल पार्छ  त्यसरी नै एक कृषकले उक्त जीवन सफल पार्नकै लागि भनेर  घाम, पानी, असिना केही नभनेर आफ्नो समय एक बिरुवामाथि खर्च गर्छन् । 

बिरुवाले वा वृक्षले मानिसको मात्र नभई  सजीव प्राणीकै जीवन सुरक्षामा सहयोग गर्दछ सोही अनुरुप एक कृषकले आफ्नो मात्र नभई सबै वर्ग र जातका मानिसलाई बचाउन आफ्नो इलममा निखारता ल्याउँदै जान्छन् । त्यसैले विरुवा र किसान मान्छे बचाउने अभियान सकृय रुपमा रहेको प्रस्टै देखिन्छ ।

विश्वव्यापी रुपमा हेर्ने हो भने संसारभर लगभग एक अर्ब जनसङ्ख्या कृषिमा आवद्ध छ । त्यसैगरी नेपालको सन्दर्भलाई हेर्दा  ६६ प्रतिशत नेपाली जनता नेपाली माटोसँग अथवा कृषिसँग आवद्ध छन् । देशको आर्थिक अवस्थालाई उकास्नको लागि कृषिक्रान्ति आवश्यक छ भन्ने कुरा हामी सर्बबिदितै छ । 
   
 यमन, दक्षिण सुडान, अफगानिस्तान, भेनेजुएला, जिम्बाबे, कम्बोडिया, हाइटी र ब्रुनाईजस्ता देशलाई संयुक्त राष्ट्रसंघले भोकमरी हुनसक्ने देशको सूचीमा राखेको कुरा यतावत् छ । यस्तै भोकमरीको समस्या आउने सम्भावना देखेर विभिन्न देशमा कृषि वैज्ञानिकहरू उत्पादन दर बढाउने कुरामा गम्भीर भएर लागिपरेका छ्न् ।

माटो, पानी, मल, बीउबिजन र मेहेनत भएको जमीनमा नै धेरै उब्जाउ हुनु  सामान्य कुरा हो । किनकि धेरै उब्जनीका लागि उर्वर माटो, उन्नत बीउ, गोडमेल  र उचित स्याहारको आवश्यकता पर्दछ ।
 
मानिसको हुर्काइमा जसरी पौष्टिक आहारको मात्रा चाहिन्छ त्यसरी नै बोट बिरुवाको लागि पनि मलजलको आवश्यकता पर्दछ । बोट बिरुवाको लागि मलजल पनि एक अतिआवश्यक तत्व हो ।
 
 प्राङ्गारिक र रासायनिक गरेर मल दुई किसिमको हुन्छ । यी तत्वले जमीनको उर्वराशक्ति बढाउँदछ ।  भान्साबाट निस्केको तरकारी वा अन्य सड्नसक्ने वस्तुलाई खाल्डोमा कुहाएर बनाइएको मललाई प्राङ्गारिक मल भनिन्छ । 

यस्ता घरेलु मलले विरुवाको स्वास्थ्यमा कम हानी पुर्याउनुका साथै वातावरणमा समेत कम नोक्सान पुर्याउँछन् । त्यसैगरी, रासायनिक मल विभिन्न रसायनको प्रयोग गरेर कारखानाबाट उत्पादन गरिन्छ । बोट बिरुवालाई छिटो खाद्य पदार्थको आवश्यकता भएमा रसायनिक मलको प्रयोग गरिन्छ । 

रासायनिक मल विभिन्न प्रकारका हुन्छन् । ती मध्ये एमोनियम सल्फेट, सुपर फस्पेट, म्युरेट अफ पोटास पर्दछन् । प्राङ्गारिक मलको प्रयोग सजिलै गर्न सकिन्छ भने रसायनिक मलको प्रयोग गर्दा धेरै नै सावधानी अपनाउनु पर्दछ । 

मात्रा मिलाएर यसको प्रयो गरिएन भने जमिन र बोट बिरुवालाई नै यसले प्रत्यक्ष रुपमा असर गर्दछ । रसायनिक मल प्रयोग गर्दा बोट बिरुवाको जरालाई प्रत्यक्ष असर नगरी प्रयोग गर्नुपर्दछ । अन्यथा बिरुवा ओइलाउने ,सुक्ने र मर्नेजस्तो समस्या देखा पर्दछ । 

प्राङ्गारिक मलको प्रयोगबाट माटोको उर्वराशक्तिमा ह्रास नआए पनि रसायनिक मलको अत्याधिक प्रयोगमा भने माटोको उर्वराशक्तिलाई नै असर पुर्याउँछ र बिषादी र मलको प्रयोग गरिएको खाद्यपदार्थले मानव शरीरमा प्रत्यक्ष रुपमा नै असर गर्दछ ।  

रसायनिक मलको प्रयोगमा सुरुमा उत्पादन धेरै देखिने भएता पनि बिस्तारै उत्पादनमा कमी हुन थाल्दछ । साथै रसायनिक मलको प्रयोग हुँदा माटोको अम्लियपन पनि बढ्ने घट्ने क्रमबाट जाने र माटो बिग्रने सम्भावना अत्याधिक रहन्छ । 

यसरी औद्योगिक रसायनको उत्पादनले वायुमण्डलमा ‘क्लोरोफ्लीरो कार्बन’ बढेको कुरा वैज्ञानकिहरूले स्वीकार गरेका छन् । त्यस ग्यासको प्रभावले ओजनको मात्रा घट्दै गएको छ । ओजनको मात्रा घटेर सतहमा प्वाल पर्यो भने सूर्यको परावैजनी किरण सोझै पृथ्वी मा पर्दछ  जसको प्रभाबले  ग्लोबल वार्मिङ निम्ताएको छ । 

यसबाट पृथ्वीमा जीवको अस्तित्व नै सङ्कटमा परेको छ । हिजोआज समयमा नै वर्षा हुँदैन । यदि वर्षा भए पनि अल्पवृष्टि, अतिवृष्टि र अनावृष्टि हुने गर्दछ । तसर्थ मौसम  परिवर्तन नै बदलिएको छ । यसरी मौसम परिवर्तनले गर्दा कृषि क्षेत्रमा सोझै असर परेको देखिन्छ । 

खाद्य गुणस्तर नियन्त्रण विभाग नेपाल ९ १९९५–२००७ ० ले अध्ययन गरे अनुसार १०३४ खानाको नमुना संकलन गर्दा १२.१ प्रतिशत खाना किटनाशक भएकै कारण दूषित भएको देखिएको छ ।

अर्थात् उपभोक्ताले यस्तै खाद्यान्नको उपभोग गर्दै जाने हो भने मानिसको स्वास्थ्यमा नै असर पुग्ने कुरा अनुमान लगाउन सकिन्छ ।  बिरुवाको स्वास्थ्य भनेकै स्वस्थ्य वातावरण हो । कृषि क्षेत्रलाई आधुनिकिरण साथै जमीनमा हालिने बिषादीको पनि ख्याल राख्नुपर्दछ । 

बिषादीलाई न्यनीकरण गर्नु नै आजको आवश्यकता हो । र मलको प्रयोग, यसका फाइदा, दीर्घकालिन नतिजा, न्यून रसायनको प्रयोग र अर्गानिक खेतीको चेतना सबै कृषकमाझ पुर्याउनु अति आवश्यक छ ।आज एकातिर विश्वव्यापी रूपमा मानवहरु  महामारीको शिकार भइरहेका छन् भने बिरूवाहरु पनि हतासिएका छन्  । 

कृषि क्षेत्रमा बढ्दै गइरहेको अनुकूलता, आउँदै गरेको सलहको आतङ्कबाट बोटबिरुवालाई कसरी बचाउने भन्ने कुरा अहिलेको गम्भीर प्रश्न बन्दै गइरहेको हामी माझ यथावत छ ।
 
त्यसो त बिरुवा हाम्रो लागि दाहिने हात नै हो भनेर सम्झे पनि हुन्छ । नेपालको सन्दर्भलाई नै हेर्ने हो भने नेपालसँग धातुजन्य खानी छैन र खनिज खोजको लागि प्रर्याप्त पूर्वाधार पनि छैन । 
तर हामीसँग बिरुवा भने अथाहा मात्रामा छ । त्यसमा गर्व गर्न चाहीँ पर्छ । मान्छेको जीवनमा जतिपनि सामान प्रयोग हुन्छन् त्यसमा लगभग ८० प्रतिशत बिरुवाबाट नै बनेको भेटिन्छ । 

हाम्रो समस्या भनेको हामीले किताबमा संसार पढ्यौँ तर व्यवहारमा हामीले लागु गर्न सकिरहेका छैनौं । यदि हामीले बिरुवाबाट उत्पादन हुने इथानोल र बायो डिजलजस्ता पदार्थलाई व्यवहारमा अँगाल्न सकेको भए इन्धनमा हामी कुनैपनि देशको भरमा बाँच्ने अवस्था आउने थिएन । यी निम्न कुराहरूको प्रमुख कारण नै कृषि माथिको हाम्रो बुझाई , कृषिलाई हेप्ने नीच दृष्टि पनि पर्दछ । 

कृषिले नै गरेर केही देशले केही वर्षमै कायापलट ल्याएको कुरा सर्बबिदितै  छ । तर हामीले कृषकलाई गरिब र कृषिलाई गरिब व्यापार भनेर हेर्न थालेपछि हामी र हाम्रो देश सुस्ताएको हो । तर अहिले यस अवधिमा चाँहि हामी सबैले कृषिको महत्त्वलाई नजिकबाट नियाल्न पायौँ ।

हाम्रो घरको लागि हाम्री आमा देवी हुन् भने धरतीको लागि बिरुवा पनि देवी नै हुन् । जुनकुरा हामीले बुझिरहेका छैनौं । पञ्चतत्वले बिरुवाको जन्म हुदैछ  र त्यही बिरुवाले मान्छे र पशुपंक्षीको जन्ममा सघाउँदछ । बिरुवा र मान्छेको जीवन चक्र एक अर्कामा पूर्ण छन् । यो कुरा हामीले विद्यालयको बन्द कोठा पढ्यौँ र त्यसलाई परिक्षामा लेख्यौँ तर व्यवहारमा भने उतार्न सकेनौँ ।  यो नै हाम्रो मुख्य समस्या हो । 

हामीले बुझ्न जरुरी छ कि सुरक्षा नै हाम्रो दिगोविकाशको सम्भावना हो । त्यसको लागि हामीले कृषि बुझ्न आवश्यक छ र कृषि बुझ्नको लागि सर्वप्रथम प्रकृति चिन्नु आवश्यक छ । र प्रकृति भनेकै बोट बिरुवाको संगम पनि हो । 

हामीलाई दिएको शिक्षाले कुनै उच्चस्तरको कृषक बनाएको छ त ? मुख्य समस्या यहिँनेर छ । हामीलाई प्रकृति चिन्ने र बोट बिरुवासँग नजिकिने शिक्षाको कमी छ ।

हामीलाई दिएको शिक्षाले उच्च स्तरको डाक्टर बनाइरहेको छ , उच्चस्तरको पाइलट बनाइरहेको छ र अरु धेरै तर यी कुराको प्रश्न एउटा मात्र प्रश्न थप्ने हो भने नेपाली शिक्षा प्रणालीलाई जवाफ दिन हम्मेहम्मे पर्ने अवस्था छ । 

जस्तो कि हामीलाई दिएको शिक्षाले कुनै उच्चस्तरको कृषक बनाएको छ त ? मुख्य समस्या यहिँनेर छ । हामीलाई प्रकृति चिन्ने र बोट बिरुवासँग नजिकिने शिक्षाको कमी छ । त्यो पर्खाललाई तोडेर हामीले कृषि चिन्न सक्यौं भने देशको आर्थिक र भौगोलिक विकासका बोटबिरुवा नै विकासको सूत्रधार बनेर आउने छन् ।     
 
संयुक्त राष्ट्रसंघले वर्ष २०२० लाई “अन्तराष्ट्रिय बिरुवा स्वस्थ्य वर्ष” भनेर घोषणा गर्नुको मुख्य कारण नै व्यक्ति, समाज र राष्ट्रलाई बिरुवाको स्वस्थ्य सम्बन्धमा ध्यान आर्कषण गराउनु पनि एक हो । 

हरेक नागरिक सचेत भयो भने भोकमरीजस्ता समस्या भविष्यमा देखा पर्दैनन् । गरिबी न्यूनीकरण, समाजको विकाश र  स्वस्थ्य कृषि प्रयोजनले देशको आर्थिक स्थितीमा नै टेवा पुर्याउँदछ साथै विश्वव्यापी रुपमा उत्पादन फस्टाउँदछ । (लेखिका भट्टराई गौरादह कृषि क्याम्पसमा अध्ययनरत छिन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ