arrow

मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन माग

logo
रासस,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
madyapahadimarga.jpg.jpeg

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी(पुष्पलाल) राजमार्गको भौतिक निर्माणको काम केही स्थानमा प्रभावकारी रुपमा अगाडि बढे पनि कतिपय क्षेत्रमा अलपत्र हुनपुगेको भन्दै सांसदले गुनासो गर्नुभएको छ । पाँचथरको च्याङ्थापु भञ्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाटसम्म जोड्ने एक हजार ७७६ किलोमिटर लामो उक्त आयोजनाले मध्य पहाडका झण्डै एक करोड नागरिकलाई सहज रुपमा यातायात सुविधा दिने लक्ष्य राखेको छ । आयोजनाका खोटाङ र धादिङको केही स्थानमा काम नै हुन नसकेकामा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
    
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न मन्त्रालयका  शीर्षकमाथिको छलफलमा भाग लिनेक्रममा सांसद हीरा गुरुङले मध्य पहाडी लोकमार्गको अलपत्र अवस्थामा रहेका कामलाई तीव्रता दिइनुपर्ने बताउनुभयो । उहाँले मध्यपहाडी लोकमार्गको नाम परिवर्तन गरी पुष्पलाल राजमार्ग नामकरण गरिएको भनी असन्तुष्टि व्यक्त गर्नुभयो । 
    
पहाडी जिल्लाको आवागमन सहज गरी त्यहाँको विकासमा तीव्रता ल्याउनका लागि सरकारले मध्यपहाडी राजमार्गको अवधारणा ल्याएको थियो । राजमार्गले अधिकांश पहाडी जिल्ला सदरमुकाम र प्रमुख शहरलाई छुनेछ । सो सडकको केही भागको निर्माण जारी छ । राजमार्गका विभिन्न स्थानमा आधुनिक १० शहरको विकास गर्ने योजनासमेत अघि बढेको छ । 
    
सांसद खेमप्रसाद लोहनीले आगामी आवको बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विशेष प्राथमिकतामा राखिए पनि अलपत्र  आयोजना सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै धादिङमा ट्रयाक खोलिसकिएको मध्य पहाडी लोकमार्गको काम रोकिएको छ । नयाँ साधारण मार्ग खोल्नेतर्फ हालसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । सांसद झपट रावलले सेती लोकमार्गमा अघिल्लो वर्षभन्दा रु ८१ करोड बजेट घटेकामा आपत्ति जनाउनुभयो । उहाँले राजमार्ग अगाडि बढाउन सम्बन्धित मन्त्रालय धाउँदा पनि बजेटमा अपेक्षा गरिएको बजेट नपरेको भनी गुनासो गर्नुभयो ।
    
सांसद मेटमणि चौधरीले सरकारको नीति तथा कार्यक्रमको २६९ नम्बरमा व्यवस्था भएबमोजिम लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत क्षेत्रलाई समेटिएको नेपालको नक्शा जारी गरेकामा सरकारलाई धन्यवाद दिनुभयो । उहाँले सो क्षेत्रमा सडकलगायत भौतिक पूर्वाधार र बस्ती विकासको कामलाई पनि अघि बढाउन आग्रह गर्नुभयो ।
    
सांसद आशाकुमारी विकले  बजेट र नीति तथा कार्यक्रममा भूमिहीन सुकुम्बासीको समस्या समाधानका विषय समेटिनु सकारात्मक भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । सांसद जिपछिरिङ लामाले सरकारले बजेटमा क्षेत्रीय रुपमा विभेद गरेको आरोप लगाउनुभयो । सांसद गौरीशङ्कर चौधरीले पहुँचका आधारमा भौतिक पूर्वाधारका आयोजना विनियोजन गरिएको र आफ्नो निर्वाचन क्षेत्रमा एउटा पनि योजना नपारिएको भनी गुनासो व्यक्त गर्नुभयो । 
    
सांसद देवप्रसाद तिमल्सिनाले बजेटले धेरै क्षेत्र समेट्न खोज्दा महत्वपूर्ण विषयलाई बेवास्ता गरेको टिप्पणी गर्नुभयो । सांसद दुर्गाबहादुर रावतले सिद्धान्त, प्रथामिकता एवं नीति तथा कार्यक्रमलाई ख्याल नगरी बजेट ल्याइएको गुनासो गर्नुभयो । सांसद तेजुलाल चौधरीले बजेटमा विभेदकारी नीति देखिएको बताउँदै भौगोलिक क्षेत्रीयता सन्तुलन कायम गर्न माग गर्नुभयो ।
    
सांसद प्रकाश रसाइली, सन्तकुमार थारु, पद्मनारायण चौधरी, टेकबहादुर बस्नेत, चूडामणि खड्का, प्रेमबहादुर आलेलगायतले बजेटमा व्यवस्था भएका कार्यक्रम र योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ