arrow

चन्द्र शमसेरको लिखित आदेशमा भनिएको गर्व्याङ र छाङरु नेपालकै (आदेश सहित) 

गर्व्याङ र छाङरुका स्थानियलाई चन्द्र शमसेरले मिलेर भोगचलन गर्न दिएका थिए लिखित आदेश

logo
हाम्राकुरा बिशेष संवाददाता,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
Chandra_Shamsher_Jang_Bahad.gif

काठमाडौं। हाल भारतले भोगचलन गर्दै आएको कालापानी क्षेत्रका छाङरु र गर्व्याङका गाउँलेबीच भोगचलनको विषयमा विवाद हुँदा चन्द्रशमसेर राणाले विसं १९६६ ताका एउटा निर्देशन जारी गरे। सो निर्देशन अहिले नेपाल सरकारसँग सुरक्षित छ जो भविष्यमा भारतसँग हुने सीमा वार्तामा नेपालले प्रमाणको रुपमा पेश गर्ने छ। 

१९६६जेठ ३ गते जारी निर्देशनमा भनिएको छ,‘मिलेर भोगचलन गर्नु, तिरोभारो नियमित गर्नु, तिमीहरू दुवै मेरा रैती हुन्’ । इतिहासकारका अनुसार त्यतिखेर गर्व्याङ गाँउ नेपाल र भारत दुवैतिर थिए । गर्व्याङ गाउँका बासिन्दा नेपालतिर पनि बस्थे । नेपालतीर बसेका गर्व्याङ र छाङरुवीच विवाद हुँदा चन्द्र शमसेर राणाले उक्त निर्देशन जारी गरेका थिए । निर्देशनबाट प्रष्ट हुन्छ, छाङरु, नाभी, कुटी, गुञ्जी गाँउ नेपालका हुन्।

गर्व्याङ गाँउ अहिले भारतको उत्तराखण्डमा पर्छ । तर २०२४ साल अघिसम्म साविकको दार्चुला जिल्लाको व्यास पञ्चायतअन्तर्गत गर्व्याङ गाउँका मोहनसिंह बुढाले २०२४ सालमा दार्चुला भूमिसुधार कार्यालयमा जग्गाको ७ नम्बर फाँटवारीमा बाली बुझाएका थिए । बाली बुझाएको प्रमाण अहिले सरकासँग सुरक्षित छ । यसैगरी २०३५सालसम्म नाभी,गुञ्जी, तथा कुटी गाँउका बासिन्दाले बाली तिरेको रसिदहरु नेपाल सरकारसँग सुरक्षित छ । ती रसिदहरुमा जग्गाको विवरण समेत राखिएको छ । 

२०३५सालमा रतन बुढा (तिङ्कर),पन्छयौरा बुढा(बुदी), मोहनसिंह बुढा (गर्व्याङ), हरिसिंह बुढा (गुञ्जी) र हरिकृष्ण बुढा (नाभी)ले बाली बुझाएको लगत रसिद सरकारसँग सुरक्षित छ ।

नाभी, कुटी र गञ्जी गाँउबासिन्दाहरुले २०१५सालको निर्वाचनमा मतदान गरेका थिए । सरकारसँग २०१५सालमा नामावलीमा नाभी, कुटी र गुञ्जी गाँउका बासिन्दाहको मतदाता नामावली सुरक्षित रहेको छ ।

यसैगरी २०१८सालमा नाभी, कुटी र गुञ्जी गाँउका बासिन्दाहरुको जनगणनाा गरिएको  थिए । २०१८सालको जनगणनामा भैरव रिसाल उक्त क्षेत्रमा गणना गर्न पुगेका थिए । २०१५सालको मतदाता नामावली र २०१८सालको जनगणनाको प्रमाण नेपाल सरकारसँग सुरक्षित रहेको छ।

यसैगरी सरकारसँग बेलायतबाट ल्याइएको नक्सा पनि सुरक्षित छ । जुन नक्सामा लिम्पियाधुरा नेपालको रहेको प्रष्ट जनाइएको छ । इतिहासकार अनुसार लिम्पियाधुरा सम्मको क्षेत्र नेपालको हुने भन्ने पहिलो र महत्वपूर्ण प्रमाण भनेको सन् १८१६ मार्च ४ को सुगौली सन्धि हो। सो सन्धिमा नेपाल सरकारको प्रतिनिधिका रूपमा राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरेका थिए । सो सन्धि  इस्ट इन्डिया कम्पनीको तर्फबाट लेफ्टिनेन्ट कर्णेल पेरिस ब्राड्सालाई हस्तान्तरण गरिएको थियो । उक्त  सन्धिमा पश्चिममा काली र पूर्वमा मेचीलाई  सिमानाका रूपमा जनाइएको छ । उक्त सन्धि भएको ९ महिना पछि अर्को पुरक सन्धि भयो । पुरक सन्धिलाई सरकारले दोश्रो प्रमाण मानेको छ ।

सन १८१६को सन्धिमा पूर्वको कोशीदेखि पश्चिमका राप्तीसम्मका समथर भूभाग समेटिएका थिएनन । सुगौली सन्धीको ९ महिना पछि १८१६ डिसेम्वर ८मा पुरक सन्धि गरियो । पुरक सन्धिमा नेपालले कोशीदेखि राप्तीसम्म समथर भूभाग फिर्ता लिन चाहेकाले कोशीदेखि राप्तीसम्म समथर भूभाग फिर्ता गरिएको जनाइएको छ । यस्तो व्यहोराको पत्र अंग्रेज सरकारले नेपाल सरकारलाई १८१६ डिसेम्वर ८मा पठाएको थियो । सो सन्धिको आधारमा नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म रहेको नक्सा तयार गरिएको थियो । सो नक्सालाई नेपालले सबैभन्दा ठूलो र बलियो प्रमाण मानेको छ । 

त्यसपछि अंग्रेज सरकारसँग अर्को सन्धि भयो । यो सन्धि सन् १८६० नोभेम्बर १ मा भएको थियो । उक्त सन्धिमा नेपालको तर्फबाट श्री ३ जंगबहादुर राणा र अंग्रेज सरकारका तर्फबाट लेफ्टिनेन्ट जर्नेल जर्ज र्‍याम्सेबीच भएको  थियो । उक्त सन्धिमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरिएको छ । 

इतिहासकार अनुसार सन् १९५५ देखि कालापानी क्षेत्रमा भारतले हस्क्षेतप गर्न सुरु गरेको हो । सन् १९६२मा भारत र चीनवीच युद्धा हुँदा त्यस क्षेत्रमा भारतले आफ्नो फौजी उपस्थितिलाई अझ बलियो बनाएको हो । २०२६सालमा नेपालका उत्तरी सीमा क्षेत्रका १७ ठाउँबाट भारतीय पोष्ट हटेका थिए । तर कालापानीबाट भने भारतीय फौज फिर्ता भएन । भारतले नाभी, कुटी र गुञ्जी गाँउलाई २०३५सालबाट आफ्नो कब्जामा राख्न सुरु गरेको हो। गत जेठ ७ गते नेपाललले सार्वजनिक गरेको नक्सामा नाभी, कुटी र गुञ्जी गाउँलाई नेपालको भूभागमा राखिएको छ ।  



नयाँ