arrow

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

logo
रासस,
प्रकाशित २०७७ जेठ २४ शनिबार
nepali-airport-rescue.jpg

गलकोट। बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ। सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा बस्न पाउने भएका छन्।

विदेशबाट आउनेले सुविधा सम्पन्न क्वारेन्टिनमा बस्न चाहेमा रकम तिरेर होटल क्वारेन्टिनमा बस्न सक्नेछन् भने अन्यलाई सरकारी क्वारेन्टिनमा निःशुल्क राखिनेछ। बागलुङ जिल्लाका १० स्थानीय तहले १०० भन्दा बढी स्थानमा क्वारेन्टिन व्यवस्थापन गरी एक हजार ४०० भन्दा बढी भारतबाट आएकालाई क्वारेन्टिनमा राख्दै आएको छ। भारतबाट आउनेलाई मात्रै क्वारेन्टिनमा राख्न मुस्किल भएको स्थानीय तहलाई तेस्रो मुलुकबाट आउने भएपछि झनै चुनौती थपिएपछि होटलमा पैसा तिरेर क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको हो।

बागलुङमा सुविधासम्पन्न क्वारेन्टिनको क्षमता विस्तार गर्नका लागि जिल्ला सदरमुकाममा रहेका होटललाई प्रयोगमा ल्याइने भएको छ। बागलुङ नगरपालिकाले जिल्लाका होटल व्यवसायीको सहकार्यमा रकम खर्च गरेर होटलमा बस्ने व्यवस्था गरेको र अन्यलाई निःशुल्क क्वारेन्टिनमा राखिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए। “हामीले विदेशबाट आउनेलाई इच्छाअनुसारको विकल्प दिएका छौँ”, प्रमुख पौडेलले भने, “खर्च गरेर होटलमा बस्ने वा स्थानीय तहले बनाएको क्वारेन्टिनमा निःशुल्क बस्ने रोज्न पाइनेछ।”

शुरुको चरणमा बागलुङका छ वटा होटलमा १५० श्यया क्षमताको क्वारेन्टिन बनाइने होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए। पहिलो चरणमा होटल पिस प्यालेस, समिट, दिराजन, हिलभ्यू, रेड एप्पल र त्रिवेणी होटललाई क्वारेन्टिन बनाइने छ। थप क्वारेन्टिनमा बस्ने आएमा अन्य होटललाई समेत क्वारेन्टिनमा परिणत गर्न सकिने राजभण्डारीको भनाइ छ।

होटलका कोठामा सेनिटाइज गर्ने, प्याकेजिङ गरेर खान कोठामै पुर्‍याउने, स्वास्थ्य सचेतना प्रदान गर्नेलगायतका सुविधा हुनेछ। होटल क्वारेन्टिमा बस्न प्रतिव्यक्ति रु एक हजार ७५० र डबल श्यया कोठामा प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क तय गरिएको होटल व्यवसायी सङ्घले जनाएको छ। कूल १५० श्यया क्षमताको क्वारेन्टिन शौचालयजडित र स्नान कक्ष भएको हुनेछ। जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि क्वारेन्टिन बनाइएको होटलमा सुरक्षाको व्यवस्थापनमा लाग्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ