arrow

फेरि क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, भारतबाट फर्केका थिए 

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
kailali-quarantine.jpg

बैतडी । भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ ।  जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् । 

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ