arrow

यस्तो हुन्छ बर्सेनि सन्तान जन्माउँदा

logo
रासस,
प्रकाशित २०७७ जेठ २५ आइतबार
baby1.jpg

लम्की । कैलालीको टीकापुर–३ शङ्करपुरकी निर्मला भूलको पहिलो सन्तान एक वर्ष नपुग्दै दोस्रो सन्तान गर्भमा रह्यो । पहिलो सन्तान आठ महिनाको हुँदा गर्भ रहेपछि निर्मलालाई समस्या शुरु भयो । बच्चा पेटमा रहेदेखि निर्मलाको दूध आउन छाड्यो । “जसोतसो पहिलो बच्चा हुर्काउँदै दोस्रो जन्मियो । दुवै बच्चाको पालनपोषण र घरधन्दाले च्याप्यो”, निर्मला भन्छिन्, “दुवै सन्तानको राम्रो पालनपोषण भएन, बच्चा हेर्ने कि घरको काम गर्ने ? मेरो स्वास्थ्यमा पनि समस्या शुरु भयो ।” निर्मलाले अहिले ढाड दुख्नेजस्ता समस्या रहेको बताइन् । 

दुई सन्तान सँगसँगै हुर्कँदै गएकाले घरमा श्रीमतीलाई निकै समस्या भएको निर्मलाका श्रीमान् प्रकाश भूल बताउँछन् । “दूध चुसाउँदा दुवैसँगै चुस्न खोज्छन्”, उनले भने । बच्चाकै लागि भए पनि निर्मलासँग एक अर्को व्यक्ति अनिवार्य घरमा बस्नुपर्ने भएकाले आफूले बाहिर काम गर्नसमेत जान नपाएको उनले बताए । “पहिले दुईजना थियौँ, अहिले चार भएका छौँँ”, प्रकाश भन्छन्, “काममा जाउँ, श्रीमती एक्लै छिन्, नजाउँ घर कसरी चलाउनु ? समस्या भएको छ ।” 

टीकापुरकी पद्मा बोहराका श्रीमान् हाल रोजगारीको सिलसिलामा भारतमा छन् । पहिलो सन्तान सात महिनाको हुँदा पद्माको फेरि गर्भ रह्यो । दुवै बच्चा सँगसँगै हुर्कँदै गएकाले पनि घर व्यवहार र बच्चाको पालनपोषणमा समस्या भइरहेको पद्माले बताइन् । “श्रीमान् भारतमा हुनुहुन्छ, मलाई दुई बच्चा हुर्काउन कठिन भएको छ”, पद्माले भनिन् “जन्मान्तरमा ध्यान नदिएर लगातार बच्चा जन्माउँदा सुत्केरी अवस्थामा पनि स्याहार भएन, बच्चाले पनि सोचेजति स्याहार पाएनन् । आफ्नो स्वास्थ्यमा पनि समस्या देखिन थालेको छ ।”

निर्मला र पद्मा मात्र होइनन् कैलालीको जोशीपुर–१ की सीता धामी पनि यही पीडामा छन् । श्रीमान् र सासू भारतमा भएकाले पनि सीतालाई सहयोग गर्ने कोही छैन । करिब एक वर्षको जन्मान्तर रहेका सन्तानको स्याहार गर्ने कि घरको काम गर्ने रु बर्सेनि सन्तान पाउँदा सीताको पाठेघरमा समस्या भएको छ । “चिकित्सकले पाठेघर अलि तल झरेको छ भन्नुभएको छ”, सीताले भन्नुभयो, “पेटको तल्लो भाग दुख्छ, काम गर्न सक्दिनँ, कतै श्रीमान्ले अर्को विवाह गर्छन् कि भन्ने चिन्ताले पिरोलेको छ ।”

गाउँगाउँमा स्वयंसेविकाले परिवार नियोजनका सेवा दिइरहेका छन् । उनीहरूले अस्थायी साधन प्रयोगका लागि महिलालाई स्वास्थ्य संस्थासम्म पठाउने कार्य पनि गर्छन् तर पनि दम्पतीकै लापरवाहीले बर्सेनि बच्चा जन्माउने अभिभावक धेरै छन् । सामान्यतया अनिच्छित गर्भ रोक्न सुत्केरी भएको ४५ दिनभित्र अस्थायी साधन प्रयोग गर्नुपर्ने भए पनि अस्थायी साधनको प्रयोग नगर्दा बर्सेनि बच्चा जन्मिने गरेको महिला स्वास्थ्य स्वयंसेविका तारा सुनारले बताइन् । 

आमा र बच्चाको उचित स्याहारका लागि जन्मान्तर आवश्यक हुन्छ, तर कैलालीमा बर्सेनि सन्तान जन्माएका आमा समस्यामा छन् । टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का अहिले पनि ग्रामीण क्षेत्रमा ३० प्रतिशतसम्म आमाले बर्सेनि सन्तान जन्माउने गरेको बताउँछिन्, “यसरी बर्सेनि बच्चा पाउँदा महिला शारीरिक, मानसिक र आर्थिकरूपमा कमजोर हुन्छन्, त्यसको असरले आमा बच्चा दुवै कुपोषित हुने गरेका छन् ।”

अस्पतालले सुरक्षित गर्भपतन सेवासमेत दिइरहेको छ । स्टाफ नर्स खड्काले यसरी पहिलो बच्चा सानै हुँदा गर्भ रहेकालाई सुरक्षित गर्भपतन सेवाबारे जानकारी दिने गरेको बताइन् । “कतिपयले गर्भपतन सेवा लिन्छन्, कतिपयले सँगै हुर्काउँछु भनेर पाउने गरेको देखिन्छ ।”

सन्तानबीचकोे जन्मान्तर तीनदेखि पाँच वर्षको हुनुपर्ने स्वास्थ्यकर्मी बताउँछन् तर गाउँघरमा बर्सेनि सन्तान जन्माउने आमाहरू धेरै छन् । यसले महिलाको स्वास्थ्यमा विभिन्न समस्या आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । 

बर्सेनि गर्भवती हुँदा महिलाको पाठेघरको राम्रोसँग विकास भएको हुँदैन । यसबाट जन्मने बच्चा सुस्त मनःस्थितिको हुनुका साथै बच्चा खेर जाने सम्भावना बढी रहने स्त्रीरोग विशेषज्ञ डा सञ्जयकुमार दास बताउँछन् । उनी भन्छन्, “जन्मान्तर नहुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ, त्यसकारण दम्पती र उनका परिवार सचेत हुन आवश्यक छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ