arrow

जर्जको घाँटी च्यापेर हत्यासँगै जारी कर्फ्यू हट्यो, हिंसापछि खुल्यो न्यूयोर्क

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
usa-unrest.jpg

न्यूयोर्क। न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् । गत मे २५ मा फ्लोइडको हत्या भएपछि देशभर भएका प्रदर्शनहरू हिंसात्मक बनेका थिए ।

मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो । 

आन्दोलनका क्रममा दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने करोडौँ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ । अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा श्वेत प्रहरीले घाँटी च्यापेर ४६ बर्षीय फ्लोइडको हत्या गरेको आरोप लगाइएको छ ।

घाँटी च्यापेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि आन्दोलन चर्किएको थियो भने सरकारले छानविन प्रक्रिया पनि अगाडि बढाएको छ । प्रहरीले हत्या आरोपित प्रहरीलाई बर्खास्त गरेर नियन्त्रणमा लिई छानविन  गरिरहेको छ  ।

मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका थिए । न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।  

कोरोनाभाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।

अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण ज्यान गएको थियो । 

अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ ।

न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गरेका थिए। तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ