arrow

घरभित्र खुशीले नाचिन् प्रधानमन्त्री, न्यूजील्याण्ड कोरोनामुक्त

logo
एएफपी,
प्रकाशित २०७७ जेठ २६ सोमबार
jesinda.jpg

वेलिङ्टन । न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो ।

प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाचेकी थिइन् ।  प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरु भने यथावत रहने बताइन् । उहाँले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला, समारोहमा रहेका सीमितताहरु हटाइएको पनि घोषणा गरिन् । 

टेलिभिजनबाट प्रशारित एक सम्बोधनमा प्रधानमन्त्री आर्डनले भनिन्, “अहिलेका लागि न्यूजील्याण्डमा कोरोनाभाइरसको प्रसार पूर्णरुपमा रोकिएकामा हामी विश्वस्त छौं । भाइरसलाई नियन्त्रणमा ल्याउन जनताले देखाएको अभूतपूर्व एकताको म प्रशंसा गर्दछु ।”

करिब ५० लाख जनसंख्या रहेको दक्षिणी प्रशान्त महासागरीय राष्ट्र न्यूजील्याण्डमा कोविड–१९ बाट एक हजार १५४ जना संक्रमित हुनुका साथै २२ जनाको ज्यान गएको थियो । 

पछिल्लो १७ दिनदेखि न्यूजील्याण्डमा कुनै नयाँ संक्रमण देखिएको छैन । पछिल्लो एक सातामा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । 

संक्रमित पछिल्लो व्यक्तिका बारेमा विस्तृत रुपमा जानकारी दिइएको छैन, तर स्रोतहरुले ती व्यक्ति अकल्याण्ड निवासी ५० वर्षीया महिला रहेको बताएका छन् । 

न्यूजील्याण्डले कोरोनाभाइरसको प्रसार रोक्न देशव्यापी रुपमा सात हप्तासम्म निकै कडा लकडाउन गरेको थियो । 

न्यूजील्याण्डमा अब सबैजसो खेलमा जति पनि दर्शक सहभागी हुन पाउने छन् । न्यूजील्याण्ड रग्बी संघले यसै साता सुपर रग्बी प्रतियोगिता संचालन गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ