arrow

वडाध्यक्षको क्वारेन्टाइनमा बास, आफैँ गाडी लिएर नाकाबाट ओसार्छन् नागरिक

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
car-driving.jpg

बाँके । “म आफू त जोखिममै छु, मेरो कारण परिवारका सदस्य जोखिममा नपरुन् भन्ने हो”, राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले भने, “घरमै पनि अलग बस्न पनि सकिन्थ्यो, तर अहिले मेरो परिवारभन्दाबढी भारतबाट आएर क्वारेन्टाइनमा बस्नेलाई मेरो आवश्यकता छ ।” उनीहरुको सम्पर्कमा बस्नुपर्ने भएकाले कोरोनाको जोखिम हुन सक्ने उनले राम्रोसँग बुझेका छन् । 

जोखिम बढ्नसक्ने भन्दै उनले अहिले क्वारेन्टाइनलाई नै आफ्नो बास बनाएका छन् । भारतबाट आएकाको सिमानामा गएर उद्धार गरी क्वारेन्टाइनमा ल्याउने र क्वारेन्टाइनमा रहेकाको सेवा गर्नमै उनको दिनरात बित्ने गरेको छ । वडाका कुनै नागरिक मध्यरातमा सीमा नाकामा आए उनी उद्धारका लागि गाडी लिएर तत्काल पुग्छन्। 

उनले कोरोनाभन्दा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । “उद्धार, राहत र क्वारेन्टाइन व्यवस्थापनका लागि अहोरात्र खटिएको छु । बन्दाबन्दी भएपछि घर गएको छैन । भारतबाट आएकाको सेवामा लाग्नुपर्ने भएकाले घरमा जाने फुर्सद पनि छैन । उनहरुको उद्धार र व्यवस्थापनमा खटिँदा कोरोना सङ्क्रमणको जोखिम भएकै कारण म पनि क्वारेन्टाइनमै बसिरहेको छु”, उनले भने । 

शुरुको केही समय उनले नरैनापुर गाउँपालिकाको सुइँया–बघौडा नाकामा अलपत्र परेका आफ्ना वडाका नागरिकको उद्धार गरे । “राम्रो समयमा साथ त जसले पनि दिन्छ । अहिले जनताको सेवा गर्ने समय हो”, उनले भने, “दुःखमा साथ दिनु नै सच्चा समाज सेवा हो । जनप्रतिनिधिको दायित्व र कर्तव्य पनि यही हो ।” आधा रातमा फोन आए पनि लिन नाकामा पुग्ने गरेको उनले बताए । 

गाडी चालकले भारतबाट आउनेलाई बोक्न नमानेपछि आफैँ गाडी चलाएर नाकाबाट सर्वसाधारणको उद्धार गरे । नाकाबाट आएका आफ्ना नागरिक ओसार्नका लागि उनले गाडी भाडामा लिएका छन् । तर कोरोना सर्ने डरले चालक आउन नमानेपछि उन आफैँ गाडी चलाउछन् । “गाडी चालक आउन नमानेपछि आफैँ गाडी चलाएर उद्धारमा खटिनुपरेको छ”, उनले भने । नागरिकको उद्धारसँगै व्वस्थापनमा पनि उनको उस्तै सक्रियता छ । 

आफ्नो वडाभित्र कोरोना सङ्क्रमितलाई राख्न आफ्नै वडामा आइसोलेशन र क्वारेन्टाइन व्यवस्थापनमा सक्रिय भएर लागेको बताउँदै उनले भने, “वडामै दुई वटा आइसोलेशन र दुई वटा क्वारेन्टाइन बनाएका छौँ । म पनि क्वारेन्टाइन भएको भवनमा बस्ने गरेको छु । क्वारेन्टाइन र आइसोलेशनमा रहेकाको खानपिनमा कुनै असुविधा नहोस् भनेर प्रत्यक्ष पुगेर सोधपुछ गर्छु ।” सँगै बस्दा रेखदेख र व्यवस्थापनसँगै आफैँले निगरानी गर्दै आएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ