arrow

सोती घटनाको छानबिन गर्न संसदीय समिति, को को परे ?

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा रुकुम पश्चिम घटनाको सत्य तथ्य छानविन गरी संसदमा प्रतिवेदन पेश गर्नका लागि प्रतिनधि सभाको नियमावली २०७५ को नियम १७७ बमोजिम समिति गठन भएको छ । 

संसदले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा चौरजहारी नगरपालिका सोती घटना छानविन विशेष समिति गठन गरेको हो । 

समितिमा ८ जना सदस्यहरु समेत रहेका छन् । तिनीहरुमा पार्वती कुमारी विशुन्के, दुर्गा पौडे, मिन विश्वकर्मा, प्रकाश रसाईली स्नेही, यगवाल मिया, महेश्वर गहतराज, रामसहाय प्रसाद यादव र विमला विक रहेका छन् । 

यसअघि विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका थिए । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गणेश विक, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले बिहीबार सभामुख सापकोटासँग भेट गरी सो माग गरेका थिए । 

गएको जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । 

मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको शव पनि भेरी नदीमा भेटिएको थियो । सोही घटनामा एक बेपत्ता छन् ।

सभामुख सापकोटाले घटनाप्रति आफू संवेदनशील रहेको बताउँदै संसदीय छानबिन समिति गठन गर्न संसदीय दलसँग छलफल गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

यो घटनाबारे नेकपा नेता एवं सांसद जनार्दन शर्माले भने अमानवीय व्यवहार देखाएको आरोप लाग्दै आएको छ । पीडकको पक्षमा बोलेको भन्दै उनको चर्को आलोचनासमेत भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ