arrow

त्रिदेशीय लिंकरोड जोगबनी–किमाथांका १४ किमी बाँकी

logo
रासस,
प्रकाशित २०७७ जेठ २८ बुधबार
road.jpeg

खाँदबारी । प्रदेश नं १ को मुख्य व्यापारिक मार्गको त्रिदेशीय लिंक रोड जोगबनी–किमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी छ । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना किमाथांका–जोगवनी सडकखण्डको काम भइरहेको उत्तर दक्षिण सडक डिभिजन कार्यालय सङखुवासभाका प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । 

किमाथांका– चेपुवा –हटिया, –मकालु गापा– चिचिला गापा– खाँदबारी नपा– धर्मादेवी नपा– धनकुटा महालक्ष्मी नपा– पाख्रीबास नपा– धनकुटा नपा– शहीदभूमि नपा– भेडेटार– सुनसरी धरान– इटहरी विराटनगर हुँदै जोगवनी नाकासम्मको दूरी ३९० किलोमिटर छ । सो सडक चीन र भारत जोडिने छोटो सडक हुने छ ।  त्रिदेशीय लिकंरोड किमाथांका–जोगवनी सडकखण्डको भीर फुुटाउने जिम्मा सेनालाई दिइएको छ  । विसं २०७६  भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले किमाथांका–जोगवनी सडक खण्डको भीर फुुटाउने जिम्मा  सेनालाई दिइएको कोशी सडक आयोजना प्रमुख श्रेष्ठले बताए । 
त्यस क्षेत्रमा ठूल्ठूला चट्टान भएका सडक निर्माणको प्रक्रिया सेनाले अघि बढाएको छ । भीर फुटाउनका लागि आवश्यक विस्फोटक पदार्थ राख्ने बङ्कर बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख श्रेष्ठले बताए । खाँदबारी–किमाथांका १६२ किमी साधारण मार्ग निर्माणको काम सम्पन्न गर्ने जिम्मेवारी  उत्तर–दक्षिण कोशी सडक आयोजनाले पाएको छ ।  

सडक आयोजना प्रमुख श्रेष्ठका अनुसार चेपुवा, छुमसुर, घोङ्गोप्पा खण्ड निर्माणका लागि विस्फोटक पदार्थ आवश्यक पर्ने छ । कडा चट्टान भएको भीरको सो १४ किलोमिटर सडकखण्ड  विस्फोट गरेर मात्रै अघि बढ्न सकिन्ने उनको भनाइ छ । सडकखण्ड निर्माणका क्रममा रु तीन अर्ब खर्च भइसकेको छ । उत्तर दक्षिण (कोशी) सडक आयोजनाले खाँदबारी–किमाथांका सडकको स्तरोन्नतिको कार्य गरिरहेको छ । आयोजनाले भोटखोला गाउँपालिका–४ को वरुण र मकालु गाउँपालिकाका विभिन्न स्थानमा आधा दर्जन पक्की पुलको काम भइरहेको  सडक आयोजना प्रमुख श्रेष्ठले बताए । सडक निर्माण भइसकेका स्थानमा हिउँदका बेला वरुण दोभानसम्म साना सवारीसाधन र ट्रयाक्टर चलिरहेका छन् । पहिले तीन दिन लगाएर खाँदबारी पुग्ने भोटखोलाबासी अहिले गाडीमा १२ घण्टामै पुग्ने गरेका छन् । 

उत्तर–दक्षिण सडकको ट्रयाक खन्न खण्डखण्ड ठेक्का लगाइएको छ । समयमै काम सकिए किमाथांका चीनसँग जोडिने अन्य ६  नाकाभन्दा सहज हुनेछ । अहिले उत्तर–दक्षिण कोशी सडक आयोजनाले किमाथांका–हटिया र खाँदबारी–हटिया गरी दुईतर्फबाट निर्माण गरिरहेको छ । यो खण्डको दूरी १४ किमी छ । खाँदबारीबाट खनिएको सडक पनि चेपुवासम्म पुगेको छ । त्यहाँसम्म ७८ किमी सडक निर्माण भएको हो । 

आयोजनाले हटियाबाट हाङ्दाक खोलासम्म २१ किमीको काम पनि गरिरहेको छ । सो मार्गमा १० किमी निर्माण भइसकेको आयोजनाले जनाएको छ । किमाथांकाबाट छुमसुरतर्फ पनि ढुङ्गे गोप्तासम्म १४ किमी कच्ची सडक निर्माण भइसकेको छ । सो खण्ड पूरा भएपछि किमाथांका–विराटनगर सडक जोडिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ