arrow

कोरोना महामारीमा पर्यटन मन्त्री योगेश भट्टराईको कमाउधन्दा, चार्टर्ड उडानका नाममा करोडौं भ्रष्टाचार

चार्टर्ड नगर्ने भन्ने सूचना निकाल्दै चार्टर्ड गर्दै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २८ बुधबार
yogesh-travel-agent-team.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीले नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । लाखौं मानिसको पेशा ब्यवसाय संकटमा परिसकेको छ । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भने महामारीलाई कमाउने अवसरका रुपमा उपयोग गर्नमै तल्लीन देखिएका छन् ।

लकडाउन गरेको तीन महिनाको अवधिमा विभिन्न देशमा चार्टर्ड फ्लाइट गरी प्रतिफ्लाइट ३५ लाखसम्म कमिसन मन्त्री भट्टराईको नाममा उठाइएको छ । चार्टर्ड उडानमा ट्राभल्स एजेन्सीसँग मिलेर मन्त्री भट्टराईको टीमले करोडौं उठाएको आरोप छ ।

पर्यटन मन्त्रालयभित्रका नेकपा समर्थक कर्मचारी नै मन्त्री भट्टराईले चार्टर्ड उडानमा देखाएको व्यवहारबाट लज्जित हुन थालेका छन् । नेपालमा अड्किएका विदेशी र लकडाउनका कारण जान रोकिएका नेपाली यात्रुसँग मौकाको फाइदा उठाउँदै तीन गुणा बढी मूल्यमा टिकट बिक्री गर्ने कार्य मन्त्री भट्टराईका निकट गोचाली ट्राभल्सका संचालक भगिरथ सापकोटा र उडल्याण्ड होटलका संचालक कुमार थापा(अन्जन)को डिजाइनमा भइरहेको छ । भट्टराईको साथ नपाई यत्रो घोटालमा उनीहरु संलग्न हुनै नसक्ने स्वयं नेकपा निकटकै कर्मचारीहरु बताउँछन्। 

कर्मचारी संगठनसँग आवद्ध एक कर्मचारीका अनुसार विमान चार्टर्डमा मन्त्री भट्टराईको सेटिङमा निगमको कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाल पनि सामेल छन् । निगमका कार्यकारी निर्देशक सुशील घिमिरेलाई मिलाउने काम पनि यिनै दाहालले पाएका छन् ।

चार्टड फ्लाइटका नाममा कानुन विपरीत तीन गुणाभन्दा बढी भाडा असुल्ने काम मन्त्री भट्टराईकै योजनामुताविक सापकोटा र थापाबाट भइरहेको उनको दावी छ । मन्त्री भट्टराईले ३ वटा ट्राभल्सबाट मात्र नेपाल वायुसेवा निगमको विमान चार्टर्ड आन्तरिक रुपमा निर्देशन नै दिएका छन् । ती ३ वटा ट्राभल्सले तीन गुणा महंगोमा टिकट बिक्री गरेका छन् । जापान, हङकङ र अष्ट्रेलियाको चार्टर्ड फ्लाइटमा एक फ्लाइट बराबर ७० लाख रुपैयाँसम्म ट्राभल एजेन्सीले फाइदा लिएका छन् । 

यसरी चार्टड फ्लाइटमा भएको फाइदा मन्त्री भट्टराईलाई ३५ लाख दिनेगरी सेटिङ भएको निगम स्रोत बताउँछ । यो सबै सेटिङ गर्ने काम सापकोटाले दरबारमार्गस्थित उडल्याण्ड होटलमा गर्दै आएका छन् । अमेरिकाको १ लाख पर्ने टिकट ३ लाखमा बिक्री हुँदै आएको छ । जापानको ५० देखि ५८ हजारको टिकट १ लाख ६० हजारमा बिक्री गर्ने कार्यमा मन्त्री भट्टराईको सहमतिमै उनी निकट सापकोटा र थापा नै लागेका छन् ।

जापानको एउटै टिकटमा सुमेघ ट्राभल्सले १ लाखसम्म मुनाफा लिएर बिक्री गरेको छ । ट्राभल्स एजेन्सीसँग सबै पर्यटन मन्त्री भट्टराईले नै सेटिङ गरी उनीहरुलाई मात्र चार्टर्ड उडान गर्नेगरी निगमलाई निर्देशन दिएका छन् ।

ट्राभल एजेन्सीले टिकट बिक्रीमा ब्रम्हलुट गरेको समाचार सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरणले जेठ २४ मा ब्यवसायिक उडानका लागि अनुमति नदिने सूचना जारी गरेको थियो । तर प्राधिकरणले आफ्नै सूचना विपरीत मंगलबार मात्रै सोसाइटी ट्राभल्सले जापानको नारिताका लागि चार्टड उडान अनुमति दिएको थियो ।

प्राधिकरणको सूचनामा सम्बन्धित दूतावासले उद्दार गरी लैजानेबाहेक अन्य यात्रुहरुलाई लैजान नपाउने र व्यवसायिक चार्टर उडान गर्न नपाउने उल्लेख गर्दै कुनै पनि ट्राभल्स एजेन्सीलाई यात्रुको टिकट बुकिङ नगर्न भनिएको थियो । तर त्यसविपरीत जेठ २५ र जेठ २७ मा उड्नु ३ घन्टाअघि जापानका लागि ब्यवसायिक उडानको अनुमति दिइएको तथ्य खुलेको छ ।  

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले चार्टड फ्लाईटका लागि बुकिङ गर्न पाइन्न भनेर भनेपनि विभिन्न देशका राजदुतावासहरुले आग्रह गर्दा फ्लाईट भइरहेको बताए। नेपालस्थित जापानको दुतावासले अनुरोध गरे अनुसार जापानमा फ्लाईट भएको उनले बताए। उनले भने, 'यसैगरि आग्रह आए अनुसार अष्ट्रेलिया पनि पठाइएको थियो। अन्य देशमा पनि पठाइएको हो।' यस्ता फ्लाईटहरुमा बढी भाडा लिएको कुरा आएपछि मन्त्रालयले निश्चित भाडादर तोक्ने काम भएको पोखरेलले बताए। 

नागरिकस्तरदेखि राजनीतिकस्तरसम्म बढी रकम लिएर चार्टर्ड फ्लाईट गरेको बिरोध भएपछि मन्त्रालयले लाज जोगाउन भाडकादर तोक्ने काम भने भएको छ। तर यसबीचमा भएका अनियमितताको बारेमा भने मन्त्रालय मौन छ। 

लकडाउनयता नेपाल वायुसेवा निगमबाट न्यारो र वाइडवडी विमान प्यासेन्जरका लागि १४ पटक र कार्गोका लागि ९ पटक उडाइसकिएको छ । मन्त्रीसँग सेटिङ भएका ट्राभल एजेन्सीले मात्र चार्टर्ड उडानका लागि अनुमति पाएका छन् । 

सुमेघ ट्राभल्स, सेरेन ट्राभल्स, सोसाइटी ट्राभल्सलाई मात्र चार्टर्ड फ्लाइटको टिकट बिक्री गर्न दिइएको छ । सुमेघ मेघ केसी, सेरेन विष्णु बस्नेत र सोसाइटी सुनिल शर्माको हो । सुमेघले जापानका लागि चाार्टर्ड फ्लाइट गर्दा एक यात्रुबराबर १ लाख ६० हजारमा टिकट बिक्री गरेको मीनबहादुर पौडेलले बताएका छन् । उनले भने, नियमित उडानमा ५८ हजारमा पाइने टिकट १ लाख ६० हजार रुपैयाँ किनेर जापान पठाउनुपर्यो । पौडेलको प्रश्न छ–‘२० प्रतिशत भन्दा बढी मुनाफा लिनेलाई कालोबजारी ऐन अनुसार कारबाही हुन्छ । तर ५८ हजारको टिकट १ लाख ६० हजारमा बिक्री गर्नेलाई कारबाही हुँदैन सरकार ?’ कोरोना महामारीमा यस्तो कालोबजारी गर्नेलाई कसले कारबाही गर्ने ? आक्रोसित हुँदै पौडेलले भने ।

लकडाउनको अवधिमा सुमेघ र सोसाइटी ट्राभल्सले जापानको लागि ५ वटा चार्टर्ड उडान गरेको छ । सिरिनले २ उडान गरेको छ । ती सबै उडानमा यात्रुहरुले एकतर्फी भाडा १ लाख ३६ हजार रुपैयाँदेखि १ लाख ६० हजार रुपैयाँसम्म तिरेका छन् । 

सुमेघले मात्रै निगमका ५ वटा विमान चार्टर्ड गरी प्रतिफ्लाइट ७० लाखका दरले उठाएको छ । त्यसको ५० प्रतिशत मन्त्री भट्टराईसम्म पुग्ने गरेको मन्त्रालय स्रोत बताउँछ । गोचालीका संचालक सापकोटाले यी तीन ट्राभल्समध्ये पालैपालो चार्टर्ड गर्न दिने गरेका छन् ।

मेघ केसीले चार्टड फ्लाइट गरेपछि नेकपा निकटका व्यवसायीहरु सल्बलाएका थिए। केसीको फ्लाईट पछि सल्बलाएका नेकपा निकट व्यवसायीहरुमध्ये पर्शु बस्नेतले मन्त्री भट्टराईलाई प्रभावित पारी अन्य फ्लाईट चार्टड गरेका थिए। नेकपा सांसद महेश बस्नेत र मन्त्री भट्टराईसँग निकट बस्नेतको मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले टोकियो र फुकुओकामा १/१ गरि २ वटा चार्टर्ड फ्लाईट गरेका थिए। एनआरएनका पूर्व प्रवक्ता समेत रहेका बस्नेतले भट्टराईलाई जापान जाँदा घुमाउने काम समेत गरेका थिए। 

ट्राभल एजेन्सी र मन्त्रीका लागि सेटिङ सबै उडल्याण्ड होटलमा हुने गरेको स्रोतको दाबी छ । उडल्याण्ड होटलका संचालक कुमार थापालाई योगेश भट्टराईले नै एशोसिएसन अफ ट्रेकिङ एजेन्ट नेपाल(टान)को अध्यक्षमा उम्मेदवार बनाएका थिए । तर आम पर्यटन ब्यवसायीले उनलाई मन नपराएका कारण उनी पराजीत भएका थिए।   

मन्त्री भट्टराई आफैं धामी आफैं....
चार्टर्ड फ्लाइटमा मन्त्रीको सेटिङबारे मिडियामा कुरा आएपछि उनले प्राधिकरणबाट सूचना जारी गर्न लगाए । र, फेरि उडान हुनु ३ घन्टाअघि सुटुक्क अनुमति दिंदै धमाधम चार्टर्ड उडान गर्दै कमाउने अवसर दिएका छन् । मन्त्री भट्टराईले निकालेको सूचना र उड्नु ३ घन्टाअघि प्राधिकरणबाट अनुमति दिने कार्यलाई आफैं धामी आफैं ...को संज्ञा दिइएको छ ।

सुमेघ, सेरेन, सोसाइटी बाहेक हार्भेस्ट मुन ट्राभल्सले हङकङको लागि दुई वटा विमान चार्टर्ड गरेको छ । बोन ट्राभल्सले पनि अष्ट्रेलिया उडान गरेको छ । बोन ट्राभल्सका रमेश पौडेल मन्त्री भट्टराईका भित्रिया नै हुन् । हार्भेष्ट मुनका राम श्रेष्ठले पनि मन्त्री भट्टराईलाई टिकट बिक्रीको आधा दिनेगरी सेटिङ गरेको स्रोतको दाबी छ । हार्भेष्टले हङकङको एकतर्फी भाडा एक लाख रुपैयाँ प्रतिव्यक्ति लिएको थियो । सामान्य अवस्थामा हङकङको नियमित उडानमा एकतर्फी भाडा ३० हजार रुपैयाँमात्र  छ । यी ट्राभल्सले महंगो दरमा टिकट बिक्री गरे पनि त्यसको प्रमाण बिल वा भर्पाई नदिने गरेको यात्रुको गुनासो छ । मंगलबार जापानको नारिता उडान गरेको सोसल ट्राभलले एउटै उडानबाट १ करोड रुपैयाँभन्दा बढी कमाएको छ । 

कांग्रेसद्धारा चार्टर्ड उडानमा भ्रष्टाचार गर्ने मन्त्रीमाथि कारबाहीको माग
चार्टड उडानमा भएको करोडौं भ्रष्टाचारको बिषय सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि अनियमितता गर्नेमाथि कारबाहीको माग गरेको छ । कांग्रेसले चार्टर्ड उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गर्न माग गरेको छ । नेपाली काँग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले सोमबार विज्ञप्ति जारी गरी कोरोनाको महामारीमा महङ्गो शुल्क लिने र अनुमति दिनेमाथि छानविन गरी कारबाहीको माग गरेका हुन् । 

विज्ञप्तिमा उल्लेख छ–चार्टर्ड उडानका नाममा भएका सबै उडानको अनुसन्धान गरी सरकारको मिलेमतोमा तोकिएको भन्दा महंगो शुल्क लिने र अनुमति दिने पर्यटन मन्त्रालय, वायुसेवा निगमका अधिकारी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुमाथि छानविन सुरु गरियोस् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ