arrow

अतिक्रमित नेपाली भूमी फिर्ता गराउन मागगर्दै सुदूरपश्चिम प्रदेशसभाद्वारा संकल्प प्रस्ताव पारित

logo
राम धामी,
प्रकाशित २०७७ जेठ २८ बुधबार
sudurpashcim-pradesh-shabha.jpg

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशसभाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी भएको दाबीगर्दै कालापानीबाट भारतीय सेना तत्काल हटाउन सर्वसम्मतरुपमा सङकल्प प्रस्ताव पारित गरेको छ। बुधबार सम्पन्न छैटौ अधिवेशनको १३ औ बैठकले सो प्रस्ताव पारित गरेको हो। प्रदेशसभा सदस्यहरु डडेल्धुराबाट निर्वाचित कर्णबहादुर मल्ल र दार्चुलाबाट निर्वाचित ग्याल्वुसिंह बोहराले जेठ २१ गते संयुक्त रुपमा सङ्कल्प प्रस्ताव दर्ता गरेका थिए।

सो प्रस्तावको प्रदेशसभामा रहेका तीनवटै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका थिए। सङकल्प प्रस्तावबारे प्रदेश सरकारका तर्फबाट धारणा राख्दै आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सो क्षेत्रबाट विदेशी सेना हटाउनु पर्ने बताउदै त्यहाँ नेपाली सुरक्षाकर्मी राख्न संघीय सरकारले पहल गर्नुपर्ने बताए। मन्त्री शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रका बारेमा लिएको अडान साहसिक भएको बताए।

सो अवसरमा बोल्दै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले कालापानी क्षेत्रको सम्वन्धमा प्रधानमन्त्री ओलीले आँट देखाएको बताए। त्यो भूमि बैधानिक तरिकाले फिर्ता ल्याउने गरेर परिणामुखी काम गरे प्रधानमन्त्री ऐतिहासिक पुरुष सावित हुने उनको भनाइ थियो। प्रदेशसभा सदस्य खड्काले अहिलेको दुई तिहाइ सरकारलाई भूमि फिर्ता ल्याउने ठूलो अवसर रहेको बताउदै यस्तो अवसर फेरि प्राप्त नहुने चर्चा गरे।

नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावल, सत्तारुढ दल नेकपाका प्रदेशसभा सदस्य दार्चुलाबाटै निर्वाचित मानबहादुर धामी, बैतडीका लीलाधर भट्टले सङकल्प प्रस्तावको छलफलमा बोल्दै कालापानी क्षेत्र नेपालकै भएको भन्ने ऐतिहासिक तथ्य प्रस्तुत गरेका थिए। यसअघि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका प्रदेशसभा सदस्य कर्णबहादुर मल्लको प्रस्ताव तथा भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थनमा गत माघ २१ गते संकल्प प्रस्ताव दर्ता भएको हो।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुले संयुक्त संकल्प प्रस्ताव दर्ता गर्ने सहमतिपछि जेठ २२ गते डडेल्धुराबाट निर्वाचित सांसद मल्ल र दार्चुलाबाट निर्वाचित सांसद बोहराको प्रस्ताव र प्रदेशसभा सदस्यहरु भरतबहादुर खडका, लालबहादुर खडका र मालमति रानाको समर्थनमा संयुक्त संकल्प प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

संकल्प प्रस्ताव दर्ता भएपछि सांसद मल्लले खुसी ब्यक्तगर्दै सुदूरपश्चिम प्रदेशसभाबाट ऐतिहासिक संकल्प प्रस्ताव पारित हुनु नेपाली राष्ट्रियताको संरक्षणका लागि ऐतिहासिक उपलब्धी भएको जिकिर गरे। उनले संघीय सरकारले कुटनीतिक पहल गरेर अतिक्रमित नेपाली भूमी फिर्ता गराउदै कालापानीक्षेत्रबाट तत्काल भारतीय सेना हटाइनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ