arrow

एउटाको नाममा अर्काको फोटो, कीर्ते नागरिकता बनाउने तीन जना थुनामा

logo
प्रकाशित २०७७ जेठ २९ बिहिबार
prisoner-jail.jpg

पर्वत । एउटा व्यक्तिको नाममा अर्को व्यक्तिको फोटो टाँसी कीर्ते नागरिकता बनाएको अभियोगमा तीन जना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वत जिल्ला अदालतको आदेशले कीर्ते नागरिकता काण्डमा मुछिएका तीन अभियुक्तलाई थप अनुसन्धानका लागि थुनामा राखिएको हो । पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्र्यबहादुर थापाको एकल इजलासले उक्त आदेश दिएको हो ।

पुर्पक्षका लागि थुनामा पर्नेमा मोदी गाउँपालिका–२ का टिमराज गुरुङ, गोरबहादुर पुन र म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ का चप्रसाद गर्बुजा रहेका छन् । 

पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउरालीका चङ्खबहादुर पुन मगरका बाबु रुद्रबहादुर पुनले नोकरी गरेको ब्रिटिस सेनाको रेकर्डमा भएको नाम, थर टङ्कप्रसाद पुनबाट नक्कली नागरिकता बनाई म्याग्दी जिल्ला रघुगङ्गा गाउँपालिका–४ बस्ने चप्रसाद गर्बुजाको फोटो टाँसेर जिल्ला प्रशासन कार्यालयबाट राहदानीको सिफारिस लिने क्रममा उक्त काण्ड बाहिर आएको थियो ।

जिल्ला प्रशासन कार्यालयले शङ्का गरेर चप्रसाद गर्बुजा र पर्वतको मोदी गाउँपालिका वडा नं ३ देउराली बस्ने गोरबहादुर पुन मगरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा मोदी गाउँपालिका–२ देउपुरका टिमराज गुरुङ र गोरबहादुर पुन मगरको मिलेमतोमा विभिन्न व्यक्ति, संस्था र कार्यालयको समेत कीर्ते छाप र लेटरप्याड प्रयोगसमेत गरेको फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

अभियुक्तहरुले जननेत्र माध्यामिक विद्यालयबाट र शिव आधारभूत विद्यालयबाट विभिन्न कागजात बनाएको, चङ्खबहादुर पुन मगरको फोटो टासिएको टंकप्रसाद पुनको नामको नक्कल नागरिकता प्रमाणपत्र, चङ्खबहादुर पुन मगरको फोटो टासिएको टङ्कप्रसाद पुनकै नामको राहदानी, गोरबहादुर पुन मगरको फोटो टाँसिएको खुमप्रसाद पुनको नामको नक्कली नगरिकता प्रमाणपत्र, गोरबहादुर पुन मगरको फोटो टाँसिएको खुमप्रसाद पुनको नामको राहदानी, नेपाल सरकारको लोगो, मोदी गाउँपालिका ३ नं वडा कार्यालय देउराली पर्वत ४, नं, प्रदेश नेपाल २०७३ लेखेको नक्कली छाप, देवेन्द्रबहादुर क्षेत्री वडाध्यक्ष भएको नक्कली छापसमेत बरामद भएको छ ।

उनीहरुलाई लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्पूर्ण अनुसन्धान कार्य सम्पन्न गरी अदालतमा मुद्दा पेश गरिेएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ