arrow

पोखरामा सरकारको बिरोध गर्दै हजारौं सडकमा, खोजियो १० अर्वको हिसाब, प्रदर्शनमा बल प्रयोग

logo
हरि पन्त,
प्रकाशित २०७७ जेठ २९ बिहिबार
ksaki-pokhara-protest.jpg

पोखरा। कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारले चालेको कदमप्रति नागरिकस्तरमा असन्तुष्टि बढ्दो छ । यहि असन्तुष्टि पोखरामा पनि पोखिएको छ । पोखरामा बिहीबार सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएका स्वतन्त्र पोखरेली युवाहरूको भीडलाई प्रहरीले बल प्रयोग गरि तितरवितर पारेको छ ।

महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब अनुसार काम नभएको, केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको आदि विषयलाई लिएर पोखरामा सर्वसाधारण विरोधमा उत्रिएका छन् ।

लकडाउन सुरु भएयता पोखरामा यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । उनीहरुले सरकारविरुद्ध एक घण्टा माक्स लागएर, सामाजिक दूरी कायम गर्दै मौन प्रदर्शन गरेका थिए । सबै प्रदर्शनकारीको हातमा सरकार विरुद्ध नाराहरू लेखिएको प्लेकार्ड थियो । प्रदर्शनकारीहरु हजारौंका संख्यामा थिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीको गेट, शहीदचोक, गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि, राष्ट्रबैंकचोक, रत्नचोक लगायतका क्षेत्र प्रदर्शनकारीले ढाकिएको थियो ।

सो प्रदर्शन सकिने वित्तिकै प्रदर्शनकारीहरू सरकार विरुद्ध चर्को नारावाजीमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको थियो । सोक्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउपर्नेमा विमल पहारी र प्रेमबहादुर कार्की रहेका छन् ।

प्रदर्शनमा उत्रिएका समाजिक अभियान्ताहरूले महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन गरेको, परीक्षणको दायरा बढाउन नसकेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको, राहत वितरण प्रभावकारी हुन नसकेको बताएका छन् ।

प्रदर्शनका क्रममा एक घण्टा मौन प्रदर्शनमात्र गर्ने भनिएता पनि ११ बजेदेखि १२ बजेसम्म मौन प्रदर्शनपछि सरकार विरुद्ध नारावाजी शुरु भएको थियो । सो क्रममा प्रहरीले बल प्रयोग गरेपछि भने विरोध प्रदर्शनमा राजनीतिक घुसपैठ भएको केही सामाजिक अभियान्ताले आरोप लगाएका छन् ।

स्वतन्त्र पोखरेली युवाहरू नाम दिएर प्रदर्शनमा उत्रिएका युवाहरूको भीडमा राजनीतिककर्मीहरू घुसेर प्रदर्शनलाई विथोल्ने प्रयास भएको अभियान्ताहरूले बताएका छन् ।

यसैबीच मौन तथा शान्तिपूर्ण प्रदर्शन आयोजक समितिले कार्यक्रम पश्चात् विज्ञप्ति जारी गरेको छ । मौन प्रदर्शनको आन्तिम घडिमा राजनीतिक दलसंग आवद्ध केही युवाहरूले अभद्र व्यवहार गरेको भन्दै आयोजकले आपत्ति जनाएको छ । यस्तो व्यवहारप्रति घोर निन्दा भएको विज्ञप्तिमा उल्लेख छ । साथै कार्यक्रमको मापदण्ड विपरित कार्य गर्ने उक्त युवाहरूको आयोजकसंग कुनै सम्बन्ध नरेको विज्ञप्तिमा उल्लेख छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ