- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चुनाव आउनु एक महिनाअघि नै नेताहरुलाई भोट माग्न र भोटको आँकलन गर्न भ्याइ नभ्याइ हुन्छ । देशका कुना काप्चामा काम विशेषले बसेकाहरुलाई गाउँ घरसम्म बोलाउँछन् तिनै नेता ज्यू ।
भारतका विभिन्न शहरमा रोजगारीमा गएका थुप्रै आफ्ना मतदाता गाउँलेहरुलाई यसपालि मलाई भोट हालेर जाऊ भनेर कर गरिन्छ । विचरा सोझा परदेशी दाजुभाई र दिदी बिहिनीहरु तिनै नेताको बोली काट्न नसकेर गाउँ आएर भोट हाल्छन् ।
त्यसकै पछिल्लो दिन परदेश हिड्छन् । त्यति बेला ती नेताले कम्ता आशा र लालच देखाउँछन र ? अब सायद मेरा बम्बैवाला दाजुले परदेशको सपना देख्नै छोड्छन । यति सम्म हुन्छ की चुनाव जित्नकै लागि भोट किन्ने सम्मका होडबाजी चल्छन् ।
चुनाव प्रचार प्रसार अनि मतदातालाई रिझाउनकै लागि लाखौ करोडौ रकम खर्चिन तयार हुन्छन् । खुट्टा मुन्टा ढोग्दै कहिल्यै नदेखेका, कहिल्यै नपुगेका गाउँ बस्ती र घर आँगन सम्म पुग्छन् ।
हजुर नमस्कार, लाल सलाम, जय नेपाल अरु यस्तै यस्तै थुपै्र अभिवादनका छर्रा हान्दै म फलानो तपाईको छोरो, नाति, छोरी जे भन्नुहुन्छ यसपालि तपाईको भोट खेर नजाओस है हजुर भन्दै पुकार्छन् ।
नभन्दै तिनै मतदाताको आर्शिवादले चुनाव जित्छन । अब चुनाव पोल्टामा परीहाल्यो, वडा सदस्य, वडा अध्यक्ष, मेयर, उपमेयर, प्रदेश सांसद, संघीय सांसद त बनियो नि यति भइसके पछि अब मतदाता को हुन भनेर चिन्ने हिम्मत विरलै हुन्छ ।
नेताहरु ढुक्क छन आखिर जनता न हुन दुई चार आश्वासन बाडे पुगिहाल्छ । अर्को चुनाव पनि ढुक्कले जितिन्छ । यसरी पाइला पाइलामा सर्वसाधारणको अमूल्य मतले ठूला बडा बनेकाहरुको असली चरित्र कोरोना भाइरसले छर्लङ्ग पारिदिएको छ ।
तर यतिबेला अव्यवस्थित क्वारेन्टाइनमा बसेका नेपालीहरुको लागि एक रुपैया खर्चिन पनि खुट्टा कमाउदै छन । सहयोग गर्नु त परको कुरा तिनै मतदाताको पिडाबारे थाहा भएर पनि बेखबर झै नाटक गरिरहेका छन् ।
वास्तवमा कोरोना भाइरस भन्दा खतनाक भाइरस त मैले भोट हालेर जिताएका तिनै बडेमान नेता भनाउदाहरु पो रहेछन् । जसले कोरोना भाइरसको नाममा भ्रष्टाचार गर्ने मौका पाए । तिनै नेताले कोरोना भाइरसको कारण पीडित बनेका बिरानो मुलुकमा उद्धारको चिचाहट गरीरहेका आफ्नै नेपाली दाजुभाइ र दिदी बहिनीको दुःख बुझ्ने हिम्मत गरेनन् ।
आहाराको खोजीमा उडेको चरी रात परे पछि आफ्नै गुडमा फर्किन्छ झै अनेक दुःख कष्ट झेल्दै आफ्नै जन्मभूमि फर्किएका थुप्रै नेपालीहरु स्वदेश फर्किदा अपराधी झै व्यवहार देखाए । यति सम्म हेपियो की मानौ उनीहरुले गर्नै नहुने काम गरे अनि सजाय दिइयो ।
क्वारेन्टाइनको नाममा भैसि गोठमा सुताइरहेका छौं । खानाको नाममा नुन पानी घोलिएको दालमा न्यून गुणस्तरको चामलको भात खुवाइरहेका छौ । परालको त्यान्द्रोमा ओछ्यानमा सुताएका छौ ।
चुनावताका हरेक पाइलामा तपाईका अनुहार छापिएका चुनावी नारा सहितका पर्चा भेटिन्थे । चुनावकै बेला तपाईको दिमागमा गाउँघरका मतदाताहरुको फोटो बारम्बार घुमिरहन्थ्यो । स्वयं तपाई पनि दुई चार जना झोले कार्यकर्ताको अगाडि अगाडि हिड्दै गाउँ गाउँमा गएर एक एक घर चिन्दै भोटको भिख मागिरहनु हुन्थ्यो ।
कोरोना भाइरसले तपाईका तिनै शुभचिन्तक मतदाता आम सर्वसाधारण छटपटाइरहदा नेता ज्यू कुन दुनियामा हुनुहुन्छ । क्वारेन्टाइनमा कष्टपूर्ण दिन विताइरहेका दाजुभाइ दिदी बहिनीले तपाईलाई खोजी रहेका छन् । कोरोनाको लडाइ लडिरहेका छन् ।
उनीहरु भन्दैछन् नेता ज्यू तपाई हामीले लगाएको गुन कहिले तिर्छौ ? हाम्रा पीडा कहिले सुन्छौ ? बाँकी हिसाब किताब अब आउने चुनावमा गरौँला । कोरोना भाइरस एक दिन समाप्त भएर जानेछ । त्यसैगरी तपाई नेता ज्यूको स्वार्थको राजनीति पनि समाप्त पार्ने साहस यी नै हाम्रा भोटले गर्नेछ ।