- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
३१ डिसेम्बर २०१९ मा चीनमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिंदा नेपाल भने पर्यटन वर्षको सफलताको तयारीमा जुटेको थियो । संसदमा स्वास्थ तथा जनसंख्या मन्त्रि भानुभक्त ढकालले दिएको जानकारी अनुसार नेपालमा पहिलो संक्रमण ९ जनवरी (पौष २४) मा चीनबाट फर्केर आएका एकजना विद्यार्थीमा भेटिएको थियो । यो आलेख कोरोना भाइरसको जोखिमप्रति सरकार र प्रतिपक्ष कति गम्भीर भए भन्ने कुरामा केन्द्रित छ ।
नेपालको संसदभित्र सबैभन्दा पहिला २०७६ साल माघ १४ गते कोरोनाको विषय प्रवेश गर्यो उक्त दिन प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउबाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा कोरोना संक्रमणलाई नेपाल प्रवेश गर्नबाट रोक्न अन्तर्राष्ट्रिय विमानस्थल लगायत आवश्यक ठाउँमा हेल्थ डेस्क राख्न अनुरोध गर्नुभयो ।
उहांको भनाइ यस्तो थियो ‘यो अहिले नेपालमा कोरोना भाइरस जोखिम पूर्ण न्यूनीकरण गर्नु आवश्यक छ नेपालमा भन्ने सुनिएको छ । केहि छिटपुट कोरोना भाइरसका रोगीहरु यहाँ छिरिसकेका छन् नेपालमा भनेर । त्यसैले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न २४ घन्टे हेल्थ डेस्क राख्नु पर्ने देखेको छु मैंले । एयरपोर्टमा कहाँ कहाँ राख्नु पर्ने हो । खास गरेर चीनमा रहेका नेपालीको अवस्था बुझ्न झन् सिधा उडानले जोखिम बढाएको छ । हाम्रो चीनसंग सिधा उडान छ । त्यसकारण चाहिनी यो एकदमै घातक हो र यसको लागि यो सरकारले सभामुख मार्फत यसमा गरोस् भन्न चाहन्छु ।’
र सोही न राष्ट्रियसभामा सांसद प्रकाश पन्थले पनि कोरोना भाइरसको जोखिमबाट नेपालीहरूको सुरक्षाका लागि गम्भीरतापूर्वक व्यवस्थाहरू मिलाउन, पूर्वतयारीहरू गर्न र चीनमा रहेका आफ्ना नागरिकको उद्धार गर्न, उनीहरूलाई नेपाल फर्काउने कुरामा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय, राजदूतावास लगायतका सम्बन्धित पक्षहरूलाई गम्भीर हुनको लागि ध्यानाकर्षण गराउनु भयो ।
सडकले तात्न सुरु गरेपछि तिम्रा पानीका फोहराले त्यो आगो निभाउने सामर्थ्य राख्दैन बरु उल्टै झन् दन्दनी बल्न मद्दत गर्छ ।
माघ २१ गते नेपाली काँग्रेसका सांसदहरुले कोरोनासंग लड्ने सरकारको योजना, क्वारेन्टिनको व्यबस्था, चीनबाट आउने हवाई उडान रद्द गर्ने जस्ता विषयमा आफ्ना कुरा राख्नु भएको थियो भने समाजवादी पार्टीका सांसद प्रदिप यादबले चीनमा अध्यनरत विद्यार्थी लिन गरेको ढिलाईप्रति आक्रोश व्यक्त गर्दै प्रश्न गर्नु भएको थियो । उक्त दिन सरकारको तयारी माथि प्रश्न गर्ने सांसदलाई जबाफ दिंदै स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यस्तो जबाफ दिनु भएको थियो –चीन सरकार जसरी नाच्छ, त्यही तालमा हामीले खुट्टा उचालिहाल्नु पर्छ भन्ने कुरा नेपाल सरकार विश्वास गर्दैन ...।
अलि पहिले म विद्यार्थी हुँदा एउटा भनाइको मलाई स्मरण आयो । यो प्रश्नले दिल्ली र बेइजिंगमा पानी पर्यो भने काठमाडौंमा हुनेहरु आफ्ना–आफ्ना पक्षधरतामा छाता ओडछन् भनेर भने जस्तै मात्र हो’ ।
यति मात्र होइन प्रतिपक्षका सांसदहरुले लकडाउन सुरु नहुँदासम्म, सरकारले गर्नुपर्ने पूर्व तयारी, स्कुल कलेज बन्द गर्नुपर्ने, संसद्मै पनि भिड हुने हुँदा संसद नै पनि बन्द गर्नु पर्ने जस्ता विषयमा प्रश्न मात्र होइन सुझाबसमेत दिएका थिए भने नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्ताबमाथि फागुन २३ गते छलफल हुँदा सरकारलाई सहयोग पनि गर्ने र सरकारको कामको अनुगमन पनि गर्ने एउटा संसदीय समिति बन्नुपर्छ भन्ने आवाज उठाएका थिए ।
उहाँले ‘संसदबाट एउटा विशेष समिति पनि बनाइनु पर्छ । जसले यसलाई मद्धत पनि गर्छ । आवश्यक परेको बेलामा सुझाब पनि दिन्छ र निरन्तर रुपमा त्यसको अनुगमन पनि गरिराख्छ’ भनेर कोरोना संग लड्न सरकारको साथमा रहेको भावना व्यक्त गर्नु भएको थियो । तर सत्ता पक्षका सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताबमा समर्थन त गरे तर सांसद देब गुरुङ लगायत केहि सांसदहरुले संसदीय समिति बनाउनु आवश्यक छैन भन्ने बिचार व्यक्त गरे ।
यसबीचमा संसदलाई हेर्दा प्रतिपक्ष कोरोना संक्रमण फैलिन्छ भन्ने चिन्तामा थियो र संसद भित्र पटक पटकको बैठकमा कोरोना भाइरसको बारेमा आवाज उठाइरहेको थियो भने सत्ता पक्षका (केहि बाहेक) सांसदहरु नेपालमा कोरोना नभएको जिकिर गरेर कोरोना भाइरस एउटा अफबाह भएको, नेपालमा कोरोना नआउने, नेपालीको रोग प्रतिरोधी क्षमता बढी छ भन्ने तर्क गरिरहेका थिए ।
त्यतिमात्र होइन नेपाल कोरोना फ्री जोन भन्दै पर्यटन वर्ष सफल बनाउने तयारीमा ढुक्कसंग जुटिरहेका थिए । अर्कोतिर डब्लुएचओले नेपाल कोरोना भाइरसको उच्च जोखिमको मुलुकमा परेको भन्दा भन्दै सरकार सामान्य ज्वरो नापेर एसईई को परीक्षा गराउने योजनामा थियो ।
अन्तिम समयमा चैत्र ५ गते मात्रै एसईई परिक्षा रद्द गर्ने निर्णयमा कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति पुग्यो । यसबाट सरकार कोरोनासंग लड्न कति तयारी गरेर बसेको थियो । कति संबेदनशील भएर लागेको थियो भन्ने कुरा प्रस्ट हुन्छ । त्यसैले त संक्रमणको सुरुवाती चरण वाटै परिक्षण गर्ने किटहरु, व्यक्तिगत सुरक्षा सामग्रीको अभाव देखिन थाल्यो ।
कोरोनाको संक्रमण भेटिएपछि माघको १४ गतेदेखि प्रतिपक्षले आवाज उठाएको छ । पटक पटक सुझाबको फेहरिस्त बुझाएको छ सरकारलाई नैतिक बल पुगोस् भनेर सहयोग रकम बुझाएको छ तर सरकार स्वास्थ सामग्री समेत खरिद नगरी बस्यो बस्यो । संसदमा पहिलो पटक आवाज उठेको दुई महिना दुईदिनपछि पहिलो संक्रमण भेटिएको झन्डै ३ महिनापछि मात्र चैत्र १६ गते बल्ल स्वास्थ सामग्री लिन जहाज चीन उड्यो ।
चीनबाट सामग्री त आयो फेरि गुणस्तर र भ्रस्टाचारको विवादमा सरकार फस्यो । सामान खरिद गर्ने जिम्मा सेनालाई दिने निर्णय गर्यो । सरकारले गरेको क्वारेन्टिनको व्यबस्थापनदेखि राहत वितरण सम्ममा सरकार चुकेको छ र आफ्नो व्यबस्थापकीय कमजोरी ढाक्न नागरिकमाथि अनुशासनको प्रश्न उठाउँछ ।
प्रतिपक्षले सहयोग गर्छु भनेको सुन्दैन । सुझाब दिएको लिंदैन र प्रतिपक्ष माथि सरकारलाई असफल बनाउन लागेको आरोप लगाउँछ ।
नेपालीको रोगसंग लड्ने प्रतिरोधी क्षमता मात्रै होइन सत्तासंग लड्ने प्रतिरोधी क्षमता पनि बलियो छ । यो मैंले भनेको होइन, इतिहासले भनेको हो ।
सत्ता पक्षले बुझ्नु पर्ने हो यो बेला सरकार असफल होस् भन्ने चाहना कसैको छैन । किनकि यो सरकार असफल हुनु भनेको आफ्नो जीवन गुमाउनुसम्मको जोखिमलाई निम्त्याउनु हो । यो कुरा प्रतिपक्षले बुझेको छ र सुरुदेखि नै आवाज उठाइरहेको छ नागरिकले बुझेका छन् र लक डाउन पालना गरिरहेका छन् ।
नागरिकको धैर्यताको परिक्षा अब सकिँदैछ । स्पेन, इटाली जस्ता विकसित देशले नसकेको महामारीमा हाम्रो जस्तो अल्प बिकशित देशले कसरी सक्छ ? संसारमै अभाब भएको स्वास्थ सामग्री हाम्रो सरकारले कसरी किन्न सक्छ ?
हाम्रो स्वास्थ प्रणाली नै कमजोर थियो । हाम्रो पुंजी कम थियो भन्ने जस्ता कुराले अब चल्दैन भन्ने कुरा सडकमा देखिइसकेको छ । यो समय राष्ट्रिय संकटको समय हो । महामारीसंग लड्न राष्ट्रिय एकताको खाँचो थियो ।
विपदको बेला नागरिकसंग सहयोगको याचना गर्नु पर्ने थियो । विपक्षीसंग सहयोग माग्नु पर्ने थियो । विपदको सामना सबै मिलेर गरौँ भन्ने आब्हान गर्नु पर्ने थियो ।
आफ्नो कमजोरी स्वीकार गर्नु पर्ने थियो । माफी माग्नु पर्ने थियो । तर यी सबै गर्नबाट पूर्ण रुपमा चुक्यौ । संसदमा आएर थर्काएर अब थर्किने कोहि छैनन् ।
सडकले तात्न सुरु गरेपछि तिम्रा पानीका फोहराले त्यो आगो निभाउने सामर्थ्य राख्दैन बरु उल्टै झन् दन्दनी बल्न मद्दत गर्छ । नेपालीको रोगसंग लड्ने प्रतिरोधी क्षमता मात्रै होइन सत्तासंग लड्ने प्रतिरोधी क्षमता पनि बलियो छ । यो मैंले भनेको होइन, इतिहासले भनेको हो ।